काठमाडौं । विश्वप्रसिद्ध कन्फेक्सनरी कम्पनी पर्फेट्टी भान मेल्ले नेपालका कन्ट्री म्यानेजर मयंक पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गर्दै नेपालमा कम्पनीको लगानी, औद्योगिक विकास र उत्पादन विस्तारबारे छलफल गरेका छन् ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा स्थानीय उत्पादन, लगानीको वातावरण र औद्योगिक विकासका विषयमा सकारात्मक छलफल भएको कम्पनीले जनाएको छ ।
पर्फेट्टी भान मेल्लेले सन् २०२४ देखि नेपालमा आफ्नै उत्पादन केन्द्र सञ्चालन गर्दै सेन्टर फ्रुट र सेन्टर फ्रेश च्युइङगम उत्पादन गरिरहेको छ । कम्पनीका अनुसार नेपालमा उत्पादन सुरु गरेपछि स्थानीय रोजगारी सिर्जना हुनुका साथै नेपालमै उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यातसमेत हुन थालेको छ ।
भेटका क्रममा कन्ट्री म्यानेजर पाण्डेले स्थिर सरकार र उद्योगमैत्री नीतिका कारण नेपालमा लगानीको वातावरण थप सकारात्मक बनेको बताए । उनले हालैको बजेटमार्फत कच्चा पदार्थ तथा उत्पादनमा प्रयोग हुने सामग्रीको भन्सार महसुल संरचनामा गरिएको सुधारप्रति अर्थमन्त्रीलाई धन्यवाद दिँदै त्यसबाट स्वदेशी उत्पादनको लागत घट्न र उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्न सहयोग पुगेको बताए ।