काठमाडौं । भारतको चर्चित टी-२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यावसायिक मूल्य बढेर २० अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।
वित्तीय परामर्श संस्था हुलिहान लोकीले बुधबार सार्वजनिक गरेको आईपीएल मूल्याङ्कन अध्ययन–२०२६ अनुसार आईपीएलको व्यावसायिक मूल्य अघिल्लो वर्षको तुलनामा ११.४ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिवेदनअनुसार आईपीएलको ब्रान्ड मूल्य पनि १०.३ प्रतिशतले बढेर ४ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । लगातार दोस्रो वर्ष आईपीएलको व्यावसायिक मूल्य र ब्रान्ड मूल्य दुवै दोहोरो अंकले वृद्धि भएका हुन् ।
यस वर्ष आईपीएलमा सबैभन्दा ठूलो व्यावसायिक घटना रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्सको स्वामित्व परिवर्तन भएको छ । रोयल च्यालेन्जर्स बेङ्गलुरु मार्चमा १ अर्ब ७८ करोड अमेरिकी डलरमा बिक्री भएको थियो, जुन आईपीएल इतिहासकै सबैभन्दा महँगो टोली बिक्री हो । यस टोलीको स्वामित्व आदित्य बिर्ला समूह, टाइम्स अफ इन्डिया समूह, डेभिड ब्लिट्जरको बोल्ट भेन्चर्स र ब्ल्याकस्टोनको समूहले संयुक्त रूपमा लिएका हुन् । त्यसपछि मे महिनामा राजस्थान रोयल्स १ अर्ब ६५ करोड अमेरिकी डलरमा मित्तल परिवार र सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख अदार पुनावालालाई बिक्री गरिएको थियो । यी दुई टोलीको बिक्रीबाट मात्रै ३ अर्ब ४३ करोड अमेरिकी डलर बराबरको कारोबार भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार आईपीएलको टेलिभिजन र डिजिटल माध्यमबाट कुल पहुँच १ अर्ब ६ करोड स्क्रिन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत बढी हो ।
टेलिभिजन दर्शक घटे पनि डिजिटल माध्यममा उल्लेख्य वृद्धि भएको प्रतिवेदनले जनाएको छ । प्रसारण अधिकार, प्रायोजन र टिकट बिक्रीबाट यस वर्ष आईपीएलको कुल आम्दानी १ अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ ।
यस वर्ष पहिलो पटक रोयल च्यालेन्जर्स बेङ्गलुरु आईपीएलकै सबैभन्दा मूल्यवान टोली बनेको छ । टोलीको ब्रान्ड मूल्य १६ प्रतिशतले बढेर ३१ करोड २० लाख अमेरिकी डलर पुगेको छ ।
यसपछि मुम्बई इन्डियन्स दोस्रो र कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा रहेका छन् । चेन्नई सुपर किङ्स चौथो स्थानमा झरेको छ ।
प्रतिवेदनले आईपीएल विश्वकै निजी लगानीकर्ताका लागि सबैभन्दा आकर्षक खेल प्रतियोगितामध्ये एक बनेको उल्लेख गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले टोलीमा निजी लगानीका लागि अन्य धेरै खेल लिगको तुलनामा कम प्रतिबन्ध लगाएकाले विदेशी लगानीकर्ताको आकर्षण बढेको प्रतिवेदनको निष्कर्ष छ ।
प्रत्येक टोलीले प्रसारण अधिकारबाट मात्रै वार्षिक करिब ५ करोड ५० लाख अमेरिकी डलर प्राप्त गर्ने व्यवस्था पनि आईपीएलको आर्थिक मजबुतीको प्रमुख आधार मानिएको छ ।
हुलिहान लोकीले सन् २०२८ देखि २०३२ सम्मको आईपीएल प्रसारण अधिकारको मूल्य हालको ६ अर्ब २० करोड अमेरिकी डलरबाट ८० देखि १०० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ ।
यद्यपि अर्को अनुसन्धान संस्था मिडिया पार्टनर्स एसियाले भने प्रतियोगिताको खेल संख्या बढेकाले आगामी प्रसारण अधिकारको मूल्य स्थिर रहने र प्रति खेल मूल्य घट्न सक्ने अनुमान सार्वजनिक गरेको छ।