काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार राति एक जनाको ज्यान जाने गरी भएको घटनाले अहिले देशभर तरंग सिर्जना गरेको छ ।
डिजे साउन्ड बजाएको विषयमा सुरु भएको विवाद झडपमा परिणत हुँदा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा तनाव बढेको हो । घटनाको प्रभाव संघीय राजधानी काठमाडौंसहित देशका अन्य जिल्लामा समेत देखिन थालेको छ ।
कप्तानगञ्ज भारतीय सीमाबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको बजार हो । आइतबार साँझ करिब ८ बजेतिर त्यहाँस्थित शिव मन्दिर आसपासबाट विवाद सुरु भएको थियो । भोलिपल्ट सोमबार भएकाले सप्तकोशीबाट जल ल्याएर शिव मन्दिरमा चढाउने तयारीमा रहेको बोलबम समूहले मन्दिरनजिकै डिजे साउन्ड बजाइरहेको थियो ।
गर्मी, विद्युत् अवरुद्ध भएको अवस्था र रातको समयमा ठूलो आवाजमा माइक बजाइएको भन्दै स्थानीय केही युवाले साउन्ड बन्द गर्न आग्रह गरेपछि दुई पक्षबीच भनाभन भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।
बजार क्षेत्रमा पहिल्यै प्रहरी तैनाथ थिए । प्रहरीकै उपस्थितिमा विवाद बढ्दै गएपछि हात हालाहाल भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय देवानगञ्जबाट प्रहरी निरीक्षक राकेश राईको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुगेपछि डिजे साउन्डको विरोधमा आएको समूह फर्किएको थियो । तर, अर्को समूहसँग प्रहरीको विवाद बढेपछि प्रहरी र स्थानीयबीच झडप भएको बताइएको छ ।
झडपमा प्रहरी निरीक्षक राईको टाउकोमा चिर्पट प्रहार हुँदा पाँच टाँका लगाउनुपर्ने गरी चोट लागेको थियो । नेपाल प्रहरीका आठ र सशस्त्र प्रहरीका पाँच जना घाइते भएका थिए । अवस्था नियन्त्रणबाहिर जान थालेपछि थप सुरक्षाकर्मी परिचालन गरियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार प्रदर्शनकारीले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि हवाई फायर गरिएको थियो । नेपाल प्रहरीले तीन राउन्ड र सशस्त्र प्रहरीले २२ राउन्ड गरी २५ राउन्ड गोली चलाएको बताइएको छ ।
तर, गोली लागेर डिजे साउन्ड बजाउने समूहका १० जना घाइते भए । जयप्रकाश मेहता, मिथलेश मेहता, अमलेश मेहता, अमित यादव, रवीन्द्र मेहता, अमितकुमार यादव, सुनीलकुमार मेहता र सुनील मेहतासहितका घाइतेको विराटनगरमा उपचार भइरहेको छ । उनीहरूमध्ये केहीको पेट, ढाड, घाँटी, कम्मर र हातमा गोली लागेको छ । २४ वर्षीय ओमप्रकाश मेहताको भने पेटमा गोली लागेपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भयो । एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।
मृतकका परिवारले भने प्रहरीले नियन्त्रणका अन्य उपाय नअपनाई गोली चलाएको आरोप लगाएका छन् । घाइते मिथलेश मेहताका पिता दिलीप मेहताले दुई पक्षबीच विवाद भएपछि एउटा समूह हटिसकेको अवस्थामा गोली चलेको दाबी गरेका छन् । उनका अनुसार लाठीचार्ज वा अश्रुग्यास प्रयोग नगरी सिधै गोली चलाइएको थियो । घटनाको वास्तविकता र बल प्रयोगको औचित्यबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।
घटनापछि कप्तानगञ्जसहित देवानगञ्ज क्षेत्र रातभर अशान्त रह्यो । सोमबारदेखि विभिन्न स्थानमा प्रदर्शन, सडक अवरोध, तोडफोड र आगजनीका घटना भए । निजी घर तथा सम्पत्तिमा समेत क्षति पुर्याइएको र सडकमा हिँडिरहेका यात्रुमाथि कुटपिटका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रशासनले घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्रमा कफ्र्यु लगायो । तर, प्रदर्शन र सडक अवरोध पूर्ण रूपमा रोकिएन । बुधबार बिहानदेखि नेपाली सेना परिचालन भएपछि अवस्था केही मत्थर बनेको छ । सुनसरीका विभिन्न स्थानीय तहमा समेत प्रशासनले कफ्र्यु जारी राखेको छ ।
घटनापछि प्रशासन र सुरक्षा नेतृत्वमा पनि हेरफेर गरिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको ठाउँमा डीआईजी शेखर खनाललाई जिम्मेवारी दिइएको छ ।
झट्ट हेर्दा घटना डिजे साउन्डलाई लिएर भएको देखिए पनि यसको पृष्ठभूमि लामो समयदेखि रहेको स्थानीय विवादसँग जोडिएको बताइएको छ । देवानगञ्ज र हरिनगर क्षेत्रमा पछिल्ला महिनाहरूमा धार्मिक विषयलाई लिएर पटक–पटक विवाद हुँदै आएको स्थानीयको भनाइ छ । स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र सुरक्षा निकायले तत्काल सहमति गराएर अवस्था सामान्य बनाउँदै आए पनि विवादको मूल कारण भने समाधान हुन सकेको थिएन ।
स्थानीय जनप्रतिनिधिका अनुसार, देवानगञ्ज–३ कप्तानगञ्जमा मुस्लिम समुदायले गत असारमा मोहरम पर्वका अवसरमा राखेका झण्डा तथा ध्वजा पर्व सकिएपछि पनि नहटाइएपछि अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको थियो । वडाध्यक्षको सहमतिमा पर्वपछि झण्डा हटाउने समझदारी भए पनि कार्यान्वयन नभएको भन्दै विवाद बढेको थियो । चोकको सडकछेउमा राखिएका झण्डाबारे करिब एक साताअघि विवाद चर्किएपछि विषय गाउँपालिका अध्यक्ष बेचनकुमार मेहतासम्म पुगेको थियो । तर, स्थानीय तहमा समाधान हुन सक्ने विषय समयमै गम्भीरतापूर्वक सम्बोधन हुन नसक्दा तनाव बढ्दै गएको देखिन्छ ।
अहिले देवानगञ्जको घटनाले छिमेकी पालिका र अन्य जिल्लासमेत प्रभावित भएका छन् । विभिन्न ठाउँमा प्रदर्शन र नाराबाजी भइरहेका छन् भने कतिपय स्थानमा सद्भाव र्यालीसमेत आयोजना भएका छन् । नागरिक अगुवा तथा शान्ति र सद्भाव पक्षधरहरूले संयमता अपनाउन अपिल गरिरहेका छन् ।
घटनाले साम्प्रदायिक रूप लिन थालेपछि बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा सहभागी राजनीतिक दलहरूले घटनालाई राजनीतिकरण नगरी समाधान खोज्न एकताबद्ध हुने प्रतिबद्धता जनाएका छन् । देवानगञ्जको घटना हिन्दू–मुस्लिम समुदायबीचको द्वन्द्वका रूपमा नभई स्थानीय विवाद, प्रशासनिक कमजोरी र सुरक्षा व्यवस्थापनसँग जोडेर निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ । यस्तो संवेदनशील अवस्थामा कुनै पनि स्वार्थ समूहले घटनाबाट फाइदा उठाउने प्रयास गर्न सक्ने भएकाले सरकार, राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र स्थानीयवासी सबै संयमित हुनु आवश्यक छ ।