काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार साउन १५ गते २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले २ महिना (६१ दिन) अवधिका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणाली मार्फत बोलपत्र पेश गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको निष्कासन पनि शुक्रबार नै हुनेछ । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १४ गते हुनेछ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ । बोलकबोल गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदर भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड हुनेछ ।
यसरी संकलन गरिएको निक्षेप रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाइनेछ ।
निक्षेप रकम राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ । संकलित निक्षेपको भुक्तानी अवधि अगावै ‘प्रि–म्याच्योर’ भुक्तानी हुने छैन ।