काठमाडौं। पर्यटन विभागले ब्रड पिकमा सम्पर्कविहीन नेपाली पर्वतारोहीको खोज तथा उद्धारका लागि इस्लामाबादस्थित नेपाली दूतावासलाई पाकिस्तान सरकारसँग समन्वय गर्न निर्देशन दिएको छ।
विभागले छ जना नेपाली पर्वतारोही ‘सम्पर्कविहीन’ रहेको जनाएको छ।
विभागका अनुसार पाकिस्तानका विभिन्न हिमालमा रहेका नेपाली पर्वतारोहण कम्पनीहरूले पनि घटनास्थलतर्फ जाने र स्थानीय अधिकारीहरूसँग मिलेर खोज तथा उद्धार अभियानमा सहभागी हुने तयारी गरिरहेका छन्।
पर्यटन विभागका प्रवक्ता हिमाल गौतमले बीबीसीसँग भनेका छन्, ‘पाकिस्तानमा नेपाली शेर्पा र पर्वतारोहण कम्पनीहरूको उल्लेखनीय उपस्थिति छ, र उनीहरू आपसमा समन्वय गरिरहेका छन्।’
गौतमले यो घटना ‘अभूतपूर्व’ रहेको बताउँदै केही विरोधाभासपूर्ण सूचनाका कारण अझै ‘सानो भए पनि आशा बाँकी रहेको’ बताएका छन्।
ब्रड पिकमा हिमपहिरोपछि नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना आरोही सम्पर्कविहीन भएका थिए। यसैबीच चार जनाको शव फेला परेको छ। उनीहरुको पहिचान हुन बाँकी छ।
उद्धार तथा खोजी अभियानमा पाकिस्तानी सेनाका हेलिकप्टरसहित स्थल टोलीहरू परिचालन गरिएका छन्।