काठमाडौं । नेपालको लोकतान्त्रिक यात्रा संवेदनशील मोडमा पुगेको भन्दै राजनीतिक विश्लेषक प्रकाश रायमाझीले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि राजनीतिक नेतृत्वदेखि नागरिक तहसम्म संयम, सहिष्णुता र जिम्मेवारी आवश्यक रहेको बताएका छन्।
रायमाझीले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक प्रतिस्पर्धा तथा असहमत हुने अधिकार लोकतन्त्रका आधारभूत विशेषता भए पनि ती अधिकारको प्रयोग जिम्मेवारी, संयम र कानुनी सीमाभित्र हुनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार राजनीतिक मतभेदलाई जातीय, धार्मिक वा साम्प्रदायिक विभाजनमा रूपान्तरण गर्ने प्रयासले लोकतन्त्रलाई बलियो बनाउने नभई थप कमजोर बनाउने जोखिम बढाउँछ। राजनीतिक स्वार्थका लागि सामाजिक सद्भावमा असर पर्ने गतिविधि वा अभिव्यक्तिलाई प्रोत्साहन गर्नु दीर्घकालीन रूपमा राष्ट्रहितविपरीत हुने उनको भनाइ छ।
विश्व इतिहासमा घृणा र विभाजनको राजनीतिले निम्त्याएका गम्भीर परिणामबाट नेपालले समयमै शिक्षा लिनुपर्ने रायमाझीले बताएका छन्। सन् १९९४ को रुवाण्डा नरसंहार, पूर्व युगोस्लाभियासँग जोडिएका युद्धहरू, श्रीलङ्काको लामो गृहयुद्ध तथा म्यानमारको रखाइन क्षेत्रमा भएको हिंसालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले राजनीतिक ध्रुवीकरण, घृणायुक्त प्रचार र कमजोर संस्थागत संयन्त्रले समाजमा ठूलो मानवीय तथा राष्ट्रिय क्षति निम्त्याउन सक्ने बताए।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक पहिचान भएको मुलुक भएकाले यही विविधतालाई राष्ट्रिय शक्तिका रूपमा लिनुपर्ने उनको धारणा छ। कुनै पनि राजनीतिक उद्देश्य प्राप्तिका लागि सामाजिक एकता र सद्भाव कमजोर पार्ने गतिविधि स्वीकार्य हुन नसक्ने उनले बताएका छन्।
‘मतभेद स्वाभाविक हुन सक्छ, तर सामाजिक एकता र राष्ट्रिय हितभन्दा माथि कुनै पनि राजनीतिक स्वार्थ हुन सक्दैन,’ रायमाझीले भनेका छन्।
उनले वर्तमान परिस्थितिमा राजनीतिक नेतृत्वले आफ्नो अभिव्यक्ति र व्यवहारमा थप जिम्मेवारी देखाउनुपर्ने आवश्यकता औंल्याएका छन्। सुरक्षा निकायले कानुनको निष्पक्ष कार्यान्वयन गर्दै सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने तथा सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने उनको सुझाव छ।
अफवाह, घृणायुक्त अभिव्यक्ति र उत्तेजनात्मक सामग्रीले सामाजिक तनाव बढाउन सक्ने भएकाले त्यसप्रति सबै सचेत हुनुपर्ने उनले बताएका छन्। नागरिकले समेत सत्यतथ्य पुष्टि नगरी कुनै सूचना फैलाउने वा उक्साहटमा आउने प्रवृत्तिबाट टाढा रहनुपर्ने उनको भनाइ छ।
रायमाझीका अनुसार लोकतन्त्र केवल निर्वाचन जित्ने वा सरकार गठन गर्ने प्रणाली मात्र होइन। नागरिकको विश्वास, संस्थाको विश्वसनीयता, कानुनको शासन र सामाजिक सद्भाव लोकतन्त्रका महत्वपूर्ण आधार हुन्।
त्यसैले वर्तमान समयमा आरोप–प्रत्यारोपभन्दा संवाद, राजनीतिक प्रतिस्पर्धाभन्दा सहिष्णुता र आवेगभन्दा विवेक आवश्यक रहेको उनले बताएका छन्।
नेपालको लोकतन्त्रलाई थप सुदृढ, समावेशी र दिगो बनाउन सबै पक्षले आफ्नो संवैधानिक दायित्व तथा नैतिक जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै रायमाझीले यसबाट मात्रै लोकतन्त्रप्रतिको जनविश्वास अझ बलियो बन्ने बताएका छन्।