काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेदरल्यान्ड्समा भएको सिरिज खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । शुक्रबार साँझ काठमाडौँ फर्किएको नेपाली टिमले आशा गरे अनुसार प्रदर्शन गर्न नसके पछि निराश देखिएका थिए । राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङ र फिल्डिङ सोचे जस्तो नभएको बताएका थिए । उनले भने- ‘हामीले ब्याटिङमा आवश्यक आक्रामकता देखाउन सकेनौँ। फिल्डिङ पनि हाम्रो स्तरअनुसार भएन ।
महत्वपूर्ण क्याच छुटाउँदा त्यसको प्रत्यक्ष असर खेलको नतिजामा पर्यो ।’ कप्तान पौडेलले अब ओमानमा हुने अन्तिम सिरिजमा राम्रो प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु नै टोलीको प्रमुख लक्ष्य रहेको बताए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा हरेक चुनौती स्वीकार गर्नुपर्ने उल्लेख गर्दै मानसिक रूपमा अझ बलियो बनेर कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। नेपालले यस सिरिजका चारै खेलमा हार बेहोरेपछि एक दिवसीय मान्यतानै संकटमा परेको छ । अब नेपालले आगामी अक्टोबरमा ओमानमा लिग-२ को अन्तिम सिरिज खेल्ने तालिका छ ।
२- सभामुख डीपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गरेका छन् । छलफलमा संसदीय समितिहरूको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउने विषयमा विस्तृत छलफल भएको थियो। छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
उनले भने- ‘अनुगमन र अवलोकन गर्दा निश्चित कार्यविवरण बनाएर गर्नुहोस्। कानुन र विधिको पालना गर्दै अनुगमन गर्नुहोस् ।’ सभामुखले सरकारलाई सुझाव तथा सल्लाह दिँदा पनि समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक र कार्यान्वयनयोग्य सुझाव दिन आग्रह गरेका थिए । सभामुख अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्याउन आग्रह गरे ।
साथै, विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरेर आवश्यक परिमार्जनसहित प्रतिनिधिसभामा पेश गर्न पनि उनले सुझाव दिए । छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न तथा थप सक्षम बनाउने विषयमा समेत विचारविमर्श भएको थियो। समितिहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका उपायबारे सभापति तथा सचिवहरूले पनि आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
३- सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा आकस्मिक बैठक गरेको छ । बैठकमा पार्टी सभापति, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, संसदीय दलका नेता तथा सांसद, मधेस प्रदेश र सुनसरी–मोरङलगायत सम्बन्धित जिल्लाका नेता सहभागी भएका थिए। मधेस प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष तथा प्रदेश र स्थानीय तहका नेता भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए । बैठकले कप्तानगञ्ज घटनापछि सरकारको गैरजिम्मेवार, असंवेदनशील व्यवहार तथा नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसले माग गरेको छ । कांग्रेसले घाइतेको निःशुल्क उपचार, उचित व्यवस्थापन तथा तोडफोड र आगजनीबाट क्षति पुगेका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निरन्तर दबाब दिने निर्णय पनि गरेको छ । पार्टीले नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकता दिने जनाएको छ। कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न, घाइते परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ ।
यस्तै, पार्टीका सबै तहका समितिलाई वडा तहसम्म सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा संवाद तथा सहकार्यको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ । प्रदेश, जिल्ला र स्थानीय तहका समितिलाई युवासँग नियमित छलफल तथा संवाद गर्न पनि भनिएको छ । सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेशसभा सदस्य, केन्द्रीय पदाधिकारी तथा नेताहरूलाई सम्भव भएसम्म आफ्ना जिल्लामा पुगेर समुदाय, घाइते र पीडित परिवारसँग भेटघाट गर्दै सामाजिक सद्भाव कायम गर्न पहल गर्न निर्देशन दिइएको छ ।
कांग्रेसले आफ्ना नेता–कार्यकर्तालाई घटनासम्बन्धी संवेदनशील विषयमा तथ्य नबुझी सार्वजनिक प्रतिक्रिया नदिन, अफवाह र भ्रामक सूचनाको पछि नलाग्न तथा हिंसा र उत्तेजना फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ । साथै, पार्टीका कुनै पनि तहका जिम्मेवार व्यक्ति वा सदस्य हिंसात्मक गतिविधिमा संलग्न भएको वा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोल्ने कार्यमा सहभागी भएको पाइए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि कांग्रेसले दिएको छ ।
४- पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरोमा बेपत्ताको आजको खोजीकार्य स्थगित गरिएको छ । पाकिस्तान अल्पाइन क्लबले दिएको अपडेट अनुसार अहिलेसम्म दुई जनाको शव फेला परेको र उनीहरु ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) रहेको जानकारी दिएको छ । पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन पाकिस्तानी सेनाका दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरिएको थियो ।
आज मौसमको खराबी र अध्यारो भएका कारण खोजी कार्य रोकिएको र भोली फेरी शुरु हुने अल्पाइन क्लबले अपडेट दिएको छ । यसअघि आज बिहानसम्म ट्रयाकरको लोकेसन फेला परेको बताइएको थियो । लोकेसन ६ हजार देखि ७ हजार मिटर उचाईमा रहेको उल्लेख गरिएको थियो तर सो क्षेत्रसम्म आज पुग्न नसकिएको बताइएको छ । क्लबका अनुसार उच्च हिमाली क्षेत्रमा भइरहेका उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन हवाई तथा स्थलमार्गबाट समन्वयात्मक रूपमा काम भइरहेको छ । हिमपहिरोमा परेका १० जना आरोहीमध्ये नेपाली कम्पनी एलिट एक्सपेड, सेभेन समिट ट्रेक्स र इम्याजिन नेपाल मार्फत गएका विदेशी र नेपाली आरोही रहेका छन् । हिमपहिरोमा अझै ८ जना बेपत्ता रहेका छन्, जसमा पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।
५- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायत तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा उनीहरूले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार पूर्वराष्ट्रपति डा. यादवले सरकारले यो विषम स्थितिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई साथमा लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताए ।
६- वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत राकेशकुमार दासविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अनुसन्धानका क्रममा दासले प्रतिष्ठानमा कम्प्युटर इन्जिनियर पदमा नियुक्ति लिने क्रममा भारतको बिहार विद्यालय परीक्षा बोर्ड, पटना बाट जारी गरिएको माध्यमिक तहपछिको अध्ययनको तथा श्री वेंकटेश्वर विश्वविद्यालय, तिरुपति बाट जारी गरिएको कम्प्युटर इन्जिनियरिङ स्नातक तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको अख्तियारले जनाएको छ। ती नक्कली प्रमाणपत्रका आधारमा उनले कम्प्युटर इन्जिनियर पदमा नियुक्ति लिई पद, तलबभत्ता तथा अन्य सुविधा समेत लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ । यसरी झुट्टा शैक्षिक प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको पुष्टि भएपछि राकेशकुमार दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा जरिवानाको माग गर्दै शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
७- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् । प्रधानमन्त्री शाहले सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधान र आपसी सद्भाव कायम राख्ने विषयमा संवाद गर्न त्यस क्षेत्रका नेताहरूलाई बोलाएका थिए । प्रधानमन्त्री शाहसँगको छलफल सकारात्मक रहेको उपस्थित नेताहरूले बताएका छन् । छलफलमा प्रधानमन्त्री शाहले मधेशमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा मागेका थिए ।
छलफलमा उपस्थित नेताहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरुले सुझाव दिएको र उक्त समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताए । प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेताहरुले यसप्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । छलफलपछि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्री शाहले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नु धेरै नै सकारात्मक कदम भएको र आफूहरूले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएको बताए ।
यस्तै, राजेन्द्र महतोले विगतका सरकारले मधेशसँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए । उनले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे । सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताए । छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी थिए ।
८- मोरक्कोबाट हजारौं आप्रवासी स्पेनको स्वशासित सहर स्युटामा प्रवेश गरेका छन् । सीमा पार गर्ने क्रममा भएको भागदौडमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनापछि स्थानीय प्रशासनले स्पेन सरकारसँग राष्ट्रिय आपत्काल घोषणा गर्न तथा अवस्था नियन्त्रणका लागि सेना परिचालन गर्न माग गरेको छ । स्पेनको गृह मन्त्रालयले नागरिकको सुरक्षा र देशको सीमा संरक्षणका लागि आवश्यक सबै कदम चालिने जनाएको छ । तर, आप्रवासनसम्बन्धी अवस्थाका आधारमा राष्ट्रिय आपत्काल घोषणा गर्न कानुनी व्यवस्था नभएको मन्त्रालयको भनाइ छ ।
स्युटास्थित स्पेनी सुरक्षा बलले अवस्था पूर्ण रूपमा नियन्त्रणबाहिर पुगेको बताएको छ । अहिलेसम्म हजारौं आप्रवासी सीमा पार गरिरहेका छन् र वास्तविक संख्या यकिन गर्नसमेत कठिन भएको छ । उत्तरी मोरक्कोका मानवअधिकारकर्मीहरुले यस अवस्थालाई असाधारण भन्दै ताराजल सीमा नाकाबाट ठूलो संख्यामा मानिस प्रवेश गरेको बताएका छन् । सार्वजनिक भएका दृश्यमा सयौं मानिस समुद्री तट हुँदै स्युटाका सडकमा प्रवेश गरिरहेको देखिएको छ । उनीहरूमध्ये अधिकांश मोरक्कोका युवा भए पनि महिला र बालबालिकासहितका परिवार पनि रहेका छन् । केही आप्रवासीले स्पेनको समर्थनमा नाराबाजीसमेत गरेका थिए । यति ठूलो संख्यामा मानिसहरू एकैपटक स्युटा प्रवेश गर्नुको कारण भने अझै स्पष्ट हुन सकेको छैन ।
स्पेन र मोरक्कोबीचको सीमा क्षेत्रमा बुधबारदेखि तनाव बढेको थियो । त्यसयता धेरै आप्रवासी समुद्र तरेर स्युटा पुग्ने प्रयास गरिरहेका छन् । स्थानीय अधिकारीका अनुसार बुधबार मात्र समुद्री मार्गबाट प्रवेश गर्ने क्रममा तीन जनाको मृत्यु भएको थियो । स्पेनको गृह मन्त्रालयले मोरक्को सरकारसँग सीमा व्यवस्थापनमा नजिकबाट सहकार्य भइरहेको जनाएको छ । मोरक्कोका सुरक्षाकर्मीले सीमा पार गर्न खोज्ने धेरैलाई रोकिरहेको र अवैध रूपमा स्युटा प्रवेश गरेका व्यक्तिलाई यथाशीघ्र फिर्ता पठाउने विषयमा दुवै देश सहमत भएको मन्त्रालयले जनाएको छ ।
स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे-मार्लास्काले शुक्रबार स्युटा पुगेर अवस्थाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । स्थानीय अधिकारीहरूले आप्रवासीको संख्या बढ्नुमा हालै स्पेनको सर्वोच्च अदालतले गरेको निर्णयलाई पनि एउटा कारण मानेका छन् । उक्त निर्णयअनुसार समुद्री मार्गबाट स्पेन पुगेका आप्रवासीलाई कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता पठाउन नपाइने व्यवस्था गरिएको छ । यद्यपि, केही सामाजिक अभियन्ताले अधिकांश आप्रवासीलाई यस्तो कानुनी व्यवस्थाबारे जानकारी नै नहुने भएकाले आर्थिक अवसरको खोजी र हिंसाबाट बच्न युरोप पुग्ने चाहनालाई मुख्य कारण मानेका छन् । स्युटा उत्तर अफ्रिकाको तटमा रहेको स्पेनको स्वशासित सहर हो। यहाँ पुग्न धेरै आप्रवासीले मोरक्कोको फनिदेक क्षेत्रबाट करिब पाँच किलोमिटर समुद्री दूरी पौडी खेलेर पार गर्ने गरेका छन् ।
९- नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मा कारोबार भएको थियो । आज निर्जीव बीमा र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको लक्ष्मी भ्यालु फण्ड २ को शेयर ८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बोटलर्स नेपालको शेयर ५.३३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको १७ करोड २६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको १५ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
१०- जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पका कारण एक व्यापारिक केन्द्रमा विस्फोट भएको, एउटा कारखानाको चिम्नी ढलेको तथा धेरै घरमा क्षति पुगेको छ । मंगलबार जापानको दक्षिणी मुख्य टापु क्युसुमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। अधिकारीहरूका अनुसार हालसम्म ३४ जनाको मृत्यु पुष्टि भइसकेको छ भने थप एक जनाको मृत्युबारे अनुसन्धान भइरहेको छ । भूकम्पमा ८० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। यस्तै, तीन हजार पाँच सयभन्दा बढी घरमा अझै विद्युत् सेवा अवरुद्ध छ भने नौ हजारभन्दा बढी मानिस अस्थायी आश्रयस्थलमा बसिरहेका छन्।
ती आश्रयस्थलमा विद्युत् आपूर्ति सुनिश्चित गर्न थप व्यवस्था गरिएको छ। भूकम्पपछि अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ । कुमामोटो क्षेत्रमा शुक्रबार पनि उद्धार कार्य जारी रहेको छ। सबैभन्दा बढी क्षति पुगेको काशिमा नगरस्थित व्यापारिक केन्द्रमा उद्धार टोलीले खोजी कार्य गरिरहेको छ। भूकम्प आएको बेला उक्त व्यापारिक केन्द्रमा हजारौं मानिस उपस्थित थिए । सञ्चालक कम्पनीका अनुसार व्यापारिक केन्द्रको अर्को भागमा विस्फोट हुनुअघि करिब तीन हजार ग्राहकलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
विस्फोटपछि भवनको दोस्रो तला भत्किँदा केही व्यक्ति भित्रै फसेका थिए । जापान सरकारका मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले घटनास्थलमा सात जनाको मृत्यु पुष्टि भएको र ११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका छन्। यद्यपि, अझै कति व्यक्ति बेपत्ता छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन । यसैबीच, यात्सुशिरो क्षेत्रमा रहेको कागज उद्योगको कारखानामा भूकम्पका कारण चिम्नी ढलेपछि सञ्चालन गरिएको उद्धार अभियान सम्पन्न भएको छ । त्यहाँबाट ११ जनाको सकुशल उद्धार गरिएको छ भने नौ जनाको मृत्यु पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।
११- नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बेलुका ललितपुरबाट भण्डारीलाई पक्राउ गरेको हो। सीआईबीका अनुसार स्मार्ट सेल घोटाला प्रकरणमा भण्डारी पक्राउ गरेका हुन् । तत्कालीन सञ्चारमन्त्री रेखा शर्माको समयमा भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
१२- कुवेतको उत्तरी क्षेत्रमा ड्रोन आक्रमणमा परी मृत्यु हुने तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ भएको खुलेको छ । नेपाली दुताबास, कुवेतका अनुसार तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेका थिए । दूतावासले स्वर्गीय तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने बताएको छ । यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ ।
१३- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको एक हजारले बढेर २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४३६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४३१० मा कारोबार भएको थियो ।
१४- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०२७ को एकदिवसीय विश्वकपका लागि १२ वटा खेलस्थलको घोषणा गरेको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगिताका खेल दक्षिण अफ्रिकाका आठ, जिम्बाब्वेका तीन र नामिबियाको एक खेलस्थलमा सञ्चालन हुनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बिहीबार जोहानिसबर्गमा आयोजित विशेष समारोहमा प्रतियोगिताका खेलस्थल सार्वजनिक गरेको हो । २४ वर्षपछि दक्षिण अफ्रिकामा एकदिवसीय विश्वकप फर्किन लागेको हो । यसअघि सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । खेलस्थल घोषणा कार्यक्रममा दक्षिण अफ्रिकाका ग्रेम स्मिथ, मखाया एन्टिनी, हासिम अमला, टेम्बा बावुमा र कागिसो रबाडासहित जिम्बाब्वेका ह्यामिल्टन मासाकाड्जा तथा नामिबियाका रुडोल्फ जान्सेन भान भुरेनको उपस्थिति रहेको थियो । दक्षिण अफ्रिकामा जोहानिसबर्गस्थित वान्डरर्स मैदान, सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्क, केप टाउनको न्युल्यान्ड्स, डरबनको किङ्समिड, ग्केबेर्हास्थित सेन्ट जर्ज पार्क, ब्लोमफोन्टेनको माङगाउङ ओभल, पार्लको बोल्यान्ड पार्क र बफेलो पार्कमा खेल हुनेछ ।
जिम्बाब्वेतर्फ हरारे स्पोर्ट्स क्लब, बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब तथा भिक्टोरिया फल्सस्थित फाले मोसी-ओआ-टुन्या अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल आयोजना गर्ने स्थलका रूपमा चयन भएका छन् । नामिबियाको राजधानी विन्डहोकस्थित नामिबिया क्रिकेट मैदानमा पनि विश्वकपका खेल सञ्चालन हुनेछन् । सन् २०२७ को विश्वकपमा कुल ५७ खेल हुनेछन् । प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाउन तीन चरणको नयाँ ढाँचा अपनाइएको छ । प्रारम्भिक चरणमा वरीयताको १२औँदेखि १४औँ स्थानमा रहेका तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ र विजेता टोली मुख्य चरणमा प्रवेश गर्नेछ । त्यसपछि १२ टोलीलाई दुई समूहमा विभाजन गरी प्रत्येक समूहमा छ-छ टोलीबीच राउन्ड रोबिन आधारमा खेल हुनेछ । दुवै समूहका शीर्ष तीन टोली तथा चौथो स्थानमा रहेका दुई टोलीमध्ये उत्कृष्ट एक टोली ‘सुपर–७’ चरणमा पुग्नेछन्। यस चरणमा २१ खेल खेलाइनेछ । ‘सुपर–७’ चरणपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो स्थानको टोलीले चौथो स्थानको टोलीसँग तथा दोस्रो र तेस्रो स्थानका टोलीबीच अर्को सेमिफाइनल खेल हुनेछ । त्यसपछि विजेता टोलीबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।
१५- धनुषाको सबैला नगरपालिका- १२ रघुनाथपुरमा एक व्यक्तिको गएराति हत्या भएको छ । हंसपुर नगरपालिका-३ मलहनिया घर भई रघुनाथपुरको फूपुको घरमा बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो । स्थानीयका अनुसार खाना फूपुको घरमा खाएर राति हनुमान मन्दिरमा सुतिरहेको बेला हत्या भएको छ । उनी हरेक दिन सुत्न मन्दिरमा जाने गरेको स्थानीयले बताएका छन् । प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको र शव मन्दिरमा नै रहेको प्रहरीले जनाएको छ ।
१६- विश्व फुटबलको सर्वोच्च निकायले विश्वकपलगायत आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि बढाए युरोपका ५५ सदस्य राष्ट्रले सबै विश्वकप प्रतियोगिताको बहिष्कार गर्ने चेतावनी दिएका छन् । युरोपेली फुटबल महासङ्घका ५५ सदस्य राष्ट्रहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । विश्व फुटबलको सर्वोच्च निकायले केही दिनअघि विश्वकपलगायतका प्रतियोगिताको व्यवस्थापन गर्न छुट्टै व्यावसायिक संस्था स्थापना गरी त्यसमा निजी लगानीकर्तालाई हिस्सेदारी दिने प्रस्ताव सार्वजनिक गरेको थियो । उत्तर तथा मध्य अमेरिकाको फुटबल सञ्चालन गर्ने महासङ्घका ४१ सदस्य राष्ट्रहरूले पनि उक्त प्रस्ताव अस्वीकार गरेका छन् । युरोपेली फुटबल महासङ्घले जारी गरेको वक्तव्यमा विश्वकप कुनै लगानीको वस्तु नभई विश्व फुटबलको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गरेको छ । महासङ्घले खेलाडी, राष्ट्रिय टोली र समर्थकहरूको दशकौँको योगदानबाट बनेको प्रतियोगितालाई निजी लगानीकर्ताको हातमा सुम्पन नहुने स्पष्ट पारेको छ ।
महासङ्घका अनुसार यदि सदस्य राष्ट्रहरूको मतदानबाट प्रस्ताव पारित भए पुरुष तथा महिला विश्वकपसँगै क्लब विश्वकपसहित विश्व फुटबलको सर्वोच्च निकायले आयोजना गर्ने सबै प्रतियोगिताको बहिष्कार गरिनेछ । प्रस्तावअनुसार विश्व फुटबलको सर्वोच्च निकायले आफ्ना प्रमुख प्रतियोगिता सञ्चालनका लागि नयाँ व्यावसायिक संस्था स्थापना गर्नेछ । त्यस संस्थामा बाह्य लगानीकर्ताले अल्पमत हिस्सेदारी खरिद गर्न सक्ने व्यवस्था रहनेछ । यो प्रस्ताव पारित हुन २११ सदस्य राष्ट्रमध्ये कम्तीमा १०६ राष्ट्रको समर्थन आवश्यक पर्नेछ । युरोपेली र उत्तर तथा मध्य अमेरिकी महासङ्घका सदस्य राष्ट्रहरू मिलाएर ९६ मत पुग्ने भएकाले प्रस्तावविरुद्ध बलियो मोर्चा बनेको छ । यद्यपि प्रस्ताव पारित गराउन अझै अन्य सदस्य राष्ट्रहरूको मत निर्णायक रहनेछ । विश्व फुटबल नेतृत्वले प्रस्तावको पक्षमा मतदान गर्ने सदस्य राष्ट्रलाई चार करोड अमेरिकी डलरसम्म आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेको छ ।
प्रारम्भिक किस्ताबापत दुई करोड अमेरिकी डलर प्राप्त गर्न आगामी सेप्टेम्बर १९ भित्र सहमति जनाउनुपर्ने समयसीमा तोकिएको छ । युरोपेली फुटबल महासङ्घले यस्तो महत्वपूर्ण प्रस्ताव गोप्य रूपमा तयार पारिएको र सम्बन्धित पक्षसँग कुनै अर्थपूर्ण परामर्श नगरी अघि बढाइएको भन्दै कडा आपत्ति जनाएको छ । महासङ्घले यसलाई विश्व फुटबलको संरक्षण गर्ने जिम्मेवारीबाट नेतृत्व पन्छिएको उदाहरणसमेत भनेको छ । महासङ्घले सदस्य राष्ट्रहरूलाई ‘स्वीकार नगरे परिणाम भोग्न तयार रहनू’ भन्ने शैलीमा दबाब दिइएको आरोप पनि लगाएको छ । यस्तो प्रक्रिया लोकतान्त्रिक निर्णय नभई दबाब र धम्कीमार्फत शासन चलाउने प्रयास भएको उसको निष्कर्ष छ । युरोप विश्व फुटबलको सबैभन्दा बलियो क्षेत्र मानिन्छ । हालसम्म भएका २३ विश्वकपमध्ये १३ पटक युरोपेली राष्ट्रले उपाधि जितेका छन् भने बाँकी १० पटक दक्षिण अमेरिकी राष्ट्रहरू विजेता बनेका छन् । युरोपेली फुटबल महासङ्घकी उपाध्यक्ष लौरा म्याकएलिस्टरले प्रस्तावले विश्व फुटबलको अस्तित्वमै गम्भीर खतरा उत्पन्न गर्ने बताएकी छन् । उनले बहिष्कारको अवस्था नआओस् भन्ने आफूहरूको चाहना भए पनि फुटबलको भविष्य जोगाउन आवश्यक परे कडा कदम चाल्न तयार रहेको स्पष्ट पारेकी छन् ।
१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमाससहितका सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि ‘शान्ति बोर्ड’ले सहमति जुटाएको घोषणा गरेका छन् । हमासका एक वरिष्ठ अधिकारीले पनि उक्त योजनाअनुसार पूर्ण रूपमा हतियार त्याग्न आफूहरू सहमत भएको बताएका छन् । हमासले यससम्बन्धी औपचारिक वक्तव्य छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ । यद्यपि, यस विषयमा इजरायलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत गाजामा निशस्त्रीकरणको प्रक्रिया पूरा भएपछि इजरायली सेना त्यहाँबाट फिर्ता हुने बताएका छन् । उनले यसलाई गाजामा नयाँ प्यालेस्टिनी सरकारमार्फत शासन सञ्चालन गर्ने दिशामा ‘महत्त्वपूर्ण कदम’ को संज्ञा दिएका छन् ।
अमेरिकी मध्यस्थतामा अघि बढाइएको गाजा युद्धविराम योजनाको दोस्रो चरणअन्तर्गत हमासको निशस्त्रीकरण र गाजाको पुनर्निर्माण समावेश गरिएको छ । ट्रम्पले यो सम्झौतालाई आफ्नो २० बुँदे योजनाको कार्यान्वयनमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै चरणबद्ध रूपमा लागू गरिने बताएका छन् । उनका अनुसार निशस्त्रीकरण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय स्थायित्व बलले नयाँ प्यालेस्टिनी प्रहरीसँग मिलेर गाजाको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हाल्नेछ । ट्रम्पले मध्यस्थकर्ताको भूमिका खेलेका इजिप्ट, कतार र टर्कीलाई धन्यवाद पनि दिएका छन् । इजिप्टको राजधानी कायरोमा युद्धविराम योजनाको दोस्रो चरण कार्यान्वयनबारे मध्यस्थकर्ताहरूको बैठक बस्ने तयारी रहेको बताइएको छ ।
यसअघि कायरोमा हमास र मध्यस्थकर्ताबीच भएको वार्तामा उल्लेखनीय प्रगति भएको समाचार सार्वजनिक भए पनि एक इजरायली अधिकारीले प्रस्तावित सर्तहरू आफ्नो देशका लागि स्वीकार्य नभएको बताएका थिए । ट्रम्पको घोषणापछि इजरायली सञ्चारमाध्यमहरूले हमास, शान्ति बोर्ड र मध्यस्थकर्ता राष्ट्रहरूबीच सम्झौतामा हस्ताक्षर भएको दाबी गरेका छन् । तर इजरायली पक्षले भने प्रस्तावित निशस्त्रीकरण योजना यरुशलेमको मागअनुसार नभएको भन्दै असन्तुष्टि जनाएको छ । यसअघि पनि इजरायली सञ्चारमाध्यमहरूले हमाससँग भइरहेको सम्भावित सम्झौताप्रति इजरायल सकारात्मक नरहेको समाचार सार्वजनिक गरेका थिए ।
१८- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गएराति ७ बुँदे सम्झौता भएको छ । गृहमन्त्रालयका अनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र परिवारलाई १०-१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । गृहमन्त्रीले हस्ताक्षर गरेको सहमति पत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ । प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा गठित छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्ने दुवै पक्ष सहमति भएको छ ।
त्यसैगरी, मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने उल्लेख सम्झौतामा गरिएको छ । सहमतिका बुँदा: १- मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रकृया तत्काल अगाडि बढाउने । साथै मृतकका परिवारलाई रु.१०,००,०००।- (अक्षरेपि दश लाख मात्र) नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने । २- २०८३ साल श्रावण १० गते राति देवानगञ्ज-३, कप्तानगञ्जमा भएको घटनाको निश्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कार्वाही प्रकृया तत्काल अगाडि बढाउने ।
३- देवानगञ्ज गाउँपालिका-३, स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरुबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने । ४- प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने । ५- उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरु प्रचलित कानून बमोजिम यथाशिघ्र कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउने । ६- मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने । ७ मिति २०८३/०४/१५ गते दिनको २ बजे मृतकको अन्तिम संस्कार गर्ने ।
१९- नेपाल सरकारले उत्तरी कुवेतमा भएको आक्रमणमा एक निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको यस्तो अन्धाधुन्ध आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको हो । मन्त्रालयले सम्बन्धित सबै पक्षलाई संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न, उच्चतम संयमता अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, मन्त्रालयले सबै परिस्थितिमा जेनेभा महासन्धि तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रचलित व्यवस्थाको पूर्ण सम्मान र कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ । मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, मृतकको शव यथाशीघ्र स्वदेश फिर्ता गराउने व्यवस्था सहित आवश्यक सबै सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ ।
२०- अमेरिकाको अर्थतन्त्रले अप्रिलदेखि जुनसम्मको तीन महिनामा अपेक्षाभन्दा सुस्त वृद्धि गरेको सरकारी तथ्यांकले देखाएको छ । अमेरिकी वाणिज्य विभागका अनुसार दोस्रो त्रैमासिकमा अर्थतन्त्र वार्षिक आधारमा १.५ प्रतिशतले मात्र विस्तार भएको छ । यो वर्षको पहिलो तीन महिनामा रहेको २.१ प्रतिशत वृद्धिदरभन्दा कम हो । विश्लेषकहरूले भने यो अवधिमा करिब २ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेका थिए । विश्वकै ठूलो अर्थतन्त्र मानिने अमेरिकाले इरानसँगको युद्धबाट उत्पन्न आर्थिक प्रभाव र आयातमा लगाइएका अतिरिक्त महसुलको दबाब सामना गरिरहेका बेला यो तथ्यांक सार्वजनिक भएको हो ।
सरकारी खर्च, लगानी र निर्यातमा आएको कमीका कारण उपभोक्ता खर्च बढे पनि समग्र आर्थिक वृद्धिमा सुस्ती देखिएको जनाइएको छ । अमेरिकी अर्थतन्त्रको दुई तिहाइभन्दा बढी हिस्सा ओगट्ने उपभोक्ता खर्च भने उल्लेख्य रूपमा बढेको छ । दोस्रो त्रैमासिकमा उपभोक्ता खर्च ३.२ प्रतिशतले बढेको छ, जबकि वर्षको सुरुआती तीन महिनामा यसको वृद्धि केवल ०.५ प्रतिशत थियो। मूल्यवृद्धि वार्षिक ३.५ प्रतिशत पुगे पनि अमेरिकी उपभोक्ताले साना मालवाहक सवारीसाधन, फर्निचर र चिकित्सकको सिफारिसमा पाइने औषधिमा खर्च बढाइरहेका सर्वेक्षणहरूले देखाएका छन् । अक्सफोर्ड अर्थशास्त्रका प्रमुख अमेरिकी अर्थशास्त्री माइकल पियर्सले आर्थिक वृद्धिमा आएको सुस्तीले अमेरिकी अर्थतन्त्रको वास्तविक अवस्था पूर्ण रूपमा नदेखाएको बताएका छन् । उनका अनुसार कृत्रिम बुद्धिमत्तासँग प्रत्यक्ष सम्बन्ध नभएका क्षेत्रमा पनि लगानी पुनः बढ्न थालेको संकेत देखिएको छ । यद्यपि कृत्रिम बुद्धिमत्तासम्बन्धी लगानी अझै पनि मुख्य प्रेरक शक्ति रहे पनि त्यसका लागि आवश्यक सूक्ष्म विद्युतीय चिपको आयात बढेकाले समग्र आर्थिक वृद्धिमा यसको योगदान भने सीमित रहेको उनले बताए ।
यसैबीच, अमेरिकी केन्द्रीय बैंकले लगातार पाँचौँ पटक पनि ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । बैंकका अध्यक्ष केभिन वार्शले मूल्यवृद्धि नियन्त्रण गर्न कुनै चमत्कारी उपाय नभएको बताएका छन् । अमेरिकामा मूल्यवृद्धि दर केन्द्रीय बैंकले तय गरेको २ प्रतिशतको लक्ष्यभन्दा माथि पाँच वर्षभन्दा लामो समयदेखि कायम छ । केन्द्रीय बैंकले मध्यपूर्वको द्वन्द्वबाट उत्पन्न अनिश्चितताका बाबजुद अमेरिकी अर्थतन्त्र सुदृढ गतिमा विस्तार भइरहेको जनाएको छ । द्वन्द्वका कारण कच्चा तेलको मूल्य फेरि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ९० अमेरिकी डलर पुगेको छ। यसको असर अमेरिकामा पेट्रोलको मूल्यमा पनि परेको छ र औसत पेट्रोल मूल्य प्रतिग्यालन ४ अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
क्यापिटल अर्थशास्त्रका उत्तर अमेरिकी अर्थशास्त्री ब्राड्ली सान्डर्सले पछिल्ला महिनामा आर्थिक वृद्धि केही सुस्त भए पनि समग्र अमेरिकी अर्थतन्त्र अझै स्वस्थ अवस्थामा रहेको बताए। उनका अनुसार इन्धनको मूल्यवृद्धिले पारिवारिक बजेटमा दबाब बढाए पनि अमेरिकी उपभोक्ताले त्यसको प्रभाव धेरै हदसम्म सामना गरेका छन् । यसैबीच सार्वजनिक गरिएको अर्को तथ्यांकअनुसार व्यक्तिगत उपभोग व्यय मूल्य सूचकाङ्क, जसलाई अमेरिकी केन्द्रीय बैंकले मूल्यवृद्धिको प्रमुख मापदण्डका रूपमा हेर्ने गर्छ, ३.७ प्रतिशत पुगेको छ ।