काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जनाएको हो ।
मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमितिहरू पनि बनाइएको नेता कोइरालाले जानकारी दिएका छन् । भेलामा पार्टीभित्रको वर्तमान अवस्था, मुलुकमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएका विविध गम्भीर सवालहरूमा गहन छलफल हुने नेता कोइरालाले बताएका छन् ।
पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदिय जिम्मेवारीमा रहेका नेताहरूबाट सार्थक भूमिका नदेखिएपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको कोइरालाले उल्लेख गरेका थिए ।
संस्थापन इतर समूहले राजनीतिक स्थिरता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न हरेक पार्टीभित्रको बलियो एकतासहित राष्ट्रिय राजनीतिक शक्तिहरूबीच आपसी सहमति र सहकार्यको टड्कारो आवश्यकता देखिएको जनाएको छ ।
कांग्रेस संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरू लगायत सबैलाई सहभागी हुन समेत इतर समूहले आग्रह गरेको छ ।