काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेका आरोहीहरूको शवसम्म उद्धार टोली अझै पुग्न नसकेको अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) ले जनाएको छ ।
अल्पाइन क्लबले आइतबार बिहानैदेखि १० जनाको उद्धार टोली परिचालन गरिएको बताएको छ । ड्रोनबाट देखिएका भनिएका शव रहेको स्थान हिमपहिरोको उच्च जोखिम भएको क्षेत्र रहेकाले उद्धारकर्मीहरू अझै त्यहाँसम्म पुग्न सकेका छैनन् । अहिलेसम्म तीन शव मात्र ल्याइएको छ ।
हिमपहिरोमा परेका आरोहीहरुमा ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए ।