अन्जनराज न्यौपाने,
तनहुँ, भदौ २१ – जिल्लाको भीमाद नगरपालिका स्थित भिमाद बजार आसपासका दुई दर्जन बढी घरपरिवार सेती नदीको कटानका कारण विस्थापित भएका छन् ।सेतीनदीमा वर्षेनी आउने बाढीले कटान गरेपछि दुई दर्जन बढी घर परिवार विस्थापित भएका हुन्।उनीहरू के खाने ?कता बस्ने ? कसले संरक्षण गर्ला ? भनेर चिन्तित भएका छन्।
‘ऋण ,धन गरेर घर जग्गा किनियो तर सेती नदीले भसक्कै बगाएर लग्यो, अब, हामी के खाने कहाँ गुहार माग्न जाने ? कसैले हाम्रो कथा ब्यथा सुनीदिएन’ लालाबाला च्यापेर रुदै रुमालले मुख पुच्दै स्थानीय कान्छीमाया ज्वारचन भनिन् । उनी भन्छिन ‘हामी सबैको ब्यथा एउटै छ, तर सरोकारवाला निकाय भने हालसम्म मौन छ’ ।
‘विगतको ०६१सालदेखि ०७७ साल सम्ममा पनि पहिरोबाट विस्थापित हुदै आएका छौ’ उनले दुखेसो पोखिन । ‘सुन्ने निकायले कानमा तेल हालेर बसेको छ, बोलीदिने हाम्रो कोही छैन’ उनले भनिन् । ‘हाम्रो आयश्रोत केही छैन अब कसो गर्ने’उनले रुदै भनिन ।
उनी लगायत पीडित छिमेकीको विषयमा कसैको ध्यान पुग्न नसकेको उनले बताईन । ‘हामी विस्थापितहरु कोही आफन्तकोमा, कोही ज्याला मंजदुरी गरेर कोठा भाडामा बस्दै आएका छौ’ उनले भनिन्। पहिरो र नदीका कटान रोक्न वर्षेनी अक्षता छरे झैं बजेट आउने गर्छ, त्यति सानो रकमले केही पनि काम हुँदैन । वि.स. २०६१ साल देखि हालसम्म तटबन्धनका नाममा ४० वटा जाली भर्ने मात्र काम भएको छ’ उनले थपिन्।
यसैगरी सोही स्थानमा पहिरोका कारण लाहुरे टोलका दर्जनौं बढी घर विस्थापित भइसकेका छन् । कुमारचोकदेखि रत्नचोकको सेतीनदी किनारतर्फ करिब २ सय १५घर पहिरोको जखिममा परिसकेका छन्।
भिमाद ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बजारको कुमारचोक मुनी २०४८ सालदेखि सेतीनदीले कटान गर्न सुरु गरेको बताए । २०५३ सालतिर बढी मात्रामा नदीले कटान गर्यो । झन् २०६१ सालमा सेतीनदीमा आएको बाढीले लाहुरे र कुमारचोकमा रहेका घर पहिरोमा परेको उनले सुनाए । ‘पहिरो नियन्त्रण र नदी कटान रोक्न पटक–पटक सरकारसँग बजेट माग गरे सँगै अहिले भने प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘यसले नदीको कटान रोक्न केही सहयोग पुग्ने उनले धारणा राखेका छन्।रिटनिङवाल पहिरो र नदी कटान रोक्न करिब १० करोड रुपैय लाग्ने अनुमान गरिएको वडाध्यक्ष जोशीले बताए ।
FACEBOOK COMMENTS