काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएसँगै हवाई भाडा पनि वृद्धि भएको छ। नयाँ भाडादर आजदेखि लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो।
निगमले १७ साउनदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २९० रुपैयाँ पुर्याएको थियो। त्यसअनुसार वायुसेवा कम्पनीले टिकटमा जोड्ने फ्यूल सरचार्ज समायोजन गरेका हुन्।
प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको भाडा ८८० रुपैयाँले बढेको छ। सबैभन्दा धेरै विराटनगर–धनगढी रुटमा १ हजार २९० रुपैयाँ, नेपालगन्ज–भद्रपुरमा १ हजार १७० रुपैयाँ र जनकपुर–धनगढीमा १ हजार १०० रुपैयाँले वृद्धि भएको छ।
यस्तै काठमाडौं–नेपालगन्जको भाडा ६५५, काठमाडौं–भैरहवा ४१०, काठमाडौं–पोखरा ३१५ र काठमाडौं–विराटनगर ४८० रुपैयाँले बढेको छ। प्राधिकरणले इन्धन मूल्यअनुसार अन्य रुटको फ्यूल सरचार्जसमेत समायोजन गरेको जनाएको छ।