काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट गर्दै नेपाली काङ्ग्रेसका बाजुराका सांसद जनकराज गिरी र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जिल्लाको दुर्गम भेगमा वर्षेनि हुने खाद्यान्न अभावको गम्भीर समस्याबारे ध्यान ध्यानाकर्षण गराएका छन् ।
भेटका क्रममा प्रतिनिधिमण्डलले स्वामीकार्तिक खापर गाउँपालिकामा मात्रै करिब ६ हजार दलित परिवारको बसोबास रहेको र खाद्यान्न अभावकै कारण बालबालिका तथा सर्वसाधारण कुपोषणको सिकार भइरहेको दर्दनाक अवस्था प्रस्तुत गरे । उनीहरूले यो सङ्कटलाई तत्काल रोक्न मन्त्रालयबाट विशेष पहल र आपूर्ति व्यवस्थापन गरिदिन अनुरोध गरे ।
सांसद र अध्यक्षको गुनासोपछि मन्त्री यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धकलाई तत्काल मन्त्रालयमै बोलाएर आवश्यक कदम चाल्न कडा निर्देशन दिएकी छिन् ।
मन्त्रीले बाजुराका दुर्गम क्षेत्रमा १२ नै महिना खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्न, कर्मचारी खटाएरै भए पनि प्रभावकारी काम गर्न र खाद्य डिपो राखेर बिक्री वितरण गर्न निर्देशन दिइन् । उक्त स्थानमा बर्षमा दुई पटक मात्र कर्मचारी जाने गरेको गुनासो मन्त्रीलाई राखे । दुर्गमका बासिन्दालाई खाद्यान्नको कमी हुन नदिन मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको र व्यवस्थापनका सबै प्रक्रिया तुरुन्त अघि बढाउने उनले स्पष्ट पारे । उक्त ब्यबस्थापन भएको खण्डमा बाजुरा र कालिकोट दुबै जिल्लालाई सहज हुने जानकारी भएको छ ।