काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस)मार्फत बोलकबोल हुनेछ ।
निक्षेप संक्लनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ ।
निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ । न्यूनतम रु १० करोड र अधिकतम रु पाँच करोड गुणांकमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ ।
केन्द्रीय बैंकले निक्षेप संक्लनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ । रासस