काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
को हुन् याङ्की उक्या ?
नवनियुक्त सीईओ याङ्की उक्या विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छिन् ।
याङ्कीले बेलायतको अक्सपोर्ट विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक पोलिसी (एमपीपी) गरेकी छन् ।
उनको विकास अर्थशास्त्र, सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, जलवायु तथा हरित अर्थतन्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास र डिजिटल रूपान्तरणमा खास कार्यानुभव छ ।
सिफारिस समितिले उक्याबसँगै मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो। सर्टलिस्टमा परेका आठ योग्य उम्मेदवारहरूमध्येबाट सरकारले उक्याबको अन्तर्राष्ट्रिय अनुभव र शैक्षिक पृष्ठभूमि हेरेर उनलाई छनोट गरेको हो ।
काठमाडौंकी स्थायी बासिन्दा उक्याबको शैक्षिक र व्यावसायिक यात्रा निकै प्रभावशाली छ । उनले विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छन् । यसका साथै उनले अमेरिकाको युनिभर्सिटी अफ मिसौरी-कोलम्बियाबाट अर्थशास्त्रमा स्नातकोत्तर र ट्रुमन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमै स्नातक गरेकी छन् । उनले भारतको आईआईएम बैंगलोरबाट पूर्वाधार वित्तमा कार्यकारी कार्यक्रमसमेत पुरा गरेकी छन् ।
उक्याबसँग विकास वित्त, रणनीतिक साझेदारी र आर्थिक नीतिमा १५ वर्षभन्दा बढीको कार्य अनुभव छ । उनको कार्य अनुभव नेपालदेखि संयुक्त राज्य अमेरिका र प्रशान्त महासागरीय क्षेत्रका विभिन्न मुलुकहरूसम्ममा छ ।
उक्याव हाल क्याम्बोडियामा संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘साझेदारी र विकास वित्त विशेषज्ञ’को रूपमा कार्यरत थिइन् । यसअघि उनले फिजीमा संयुक्त राष्ट्रसंघको आवासीय संयोजकको कार्यालयमा अर्थशास्त्री र युएनडीपीको प्रशान्त क्षेत्रीय कार्यालयमा ‘वरिष्ठ नीति सल्लाहकार’ को रूपमा १० वटा टापु राष्ट्रहरूको हरित वृद्धि र जलवायु वित्तमा नेतृत्व प्रदान गरेकी थिइन् ।
उनले युएनडीपी नेपालमा विकास अर्थशास्त्री र द नीति फाउन्डेसनमा पूर्वाधार नीति सल्लाहकारको रूपमा काम गरेकी छन् । विशेषगरी सन् २०१२ देखि २०१६ सम्म उनले लगानी बोर्ड नेपालमै ‘आर्थिक विश्लेषण इकाइ’ को प्रमुख भई माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता ठूला जलविद्युत आयोजनाहरूको व्यावसायिक वार्ता र लगानी संरचनामा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । करियरको सुरुवाती चरणमा उक्याबले अमेरिकाको द एईएस कर्पोरेसनमा वरिष्ठ विश्लेषक र स्प्रिन्टमा विश्लेषकको रूपमा कार्य गरेकी थिइन् ।
यो समाचार पनि पढ्नस्–