काठमाडौं । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको शिक्षा समितिले हर्कपुर माविको शिक्षक दिलीप पहाडीलाई जबरजस्ती नियम विपरीत काज सरुवा गर्ने निर्णय गरेको छ ।
शिक्षक सरुवा गर्दा अगाडि नै शिक्षकलाई सूचना दिएर शिक्षकको मञ्जुरी भएपछि मात्र सरुवाको प्रक्रिया अगाडि बढाउनुपर्ने हो तर समितिले शिक्षक दिलीप पहाडी र हिमाला सुवेदीलाई पूर्व जानकारी बिना नै काज सरुवाको पत्र थमाएको हो ।
अन्यायपूर्ण तरीकाले शिक्षक पहारीलाई सरुवा गर्न लागेपछि विद्यार्थी र अभिभावकहरू सक्षम र क्षमतावान शिक्षक दिलीप सरलाई सरुवा गर्न नहुने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
दिलीप सरको पक्षमा विद्यार्थी र अभिभावक
विद्यालय व्यवस्थापन समितिको मापदण्ड विपरीतको निर्णयले विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् । पहाडी एक सक्षम शिक्षकका रूपमा चिनिन्छन् । त्यसैले उनि जस्तो क्षमतावान शिक्षकलाई विद्यालयबाट मापदण्ड विपरीत हटाउन नहुने भन्दै शिक्षक र अभिभावकहरू शिक्षकको पक्षमा उभिएका छन् ।
विद्यार्थीहरूले यो गलत निर्णयलाई तुरुन्त सच्याउन माग गरेका छन् । उनीहरूले शिक्षकमाथिको अन्याय बन्द गर्न र विद्यार्थीको अधिकार सुनिश्चित गर्न अनुरोध गरेका छन् ।
निर्देशिका विपरीत र बालबालिकाको अधिकार हनन हुने गरी गरिएको सरुवा निर्णय फिर्ता लिन माग गर्दै उनीहरूले सम्बन्धित गाउँपालिका, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई २४ घण्टे अल्टिमेटमसहितको संयुक्त विज्ञप्ति बुझाउँदै विद्यालयमा तालाबन्दी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा विद्यार्थी हिरा राईले विद्यार्थीको भविष्यमाथि खेलबाड बन्द गर्न र हर्कपुर माविलाई गुटबन्दीको अखडा नबनाउन आग्रह गरेकी छन् ।
उनले लेखेकी छन्, ‘जुन स्थानलाई हामीले ज्ञानको मन्दिर मान्दै आएका थियौँ, आज त्यही हर्कपुर मावि आन्तरिक राजनीति, आपसी खिचातानी र गुटबन्दीको शिकार बनेको छ।’ विगतलाई सम्झदै उनले भनेकी छन्, ‘हामीलाई उत्कृष्ट अङ्ग्रेजी पढाउने, विद्यार्थीका प्रिय राजु सरलाई त्यसैगरी अन्यायपूर्ण तरिकाले हटाइयो। आज फेरि त्यही इतिहास दोहोर्याउँदै, नेपाली विषयलाई सरल र रोचक ढङ्गले पढाउने, हामीलाई संस्कार र न्यायको बाटो देखाउने आदरणीय दिलीप पहाडी सरलाई निकाल्ने षड्यन्त्र हुँदैछ।’
प्रतिशोध साधियो !
शिक्षक दिलीप पहाडीले आफूमाथि प्रतिशोध साधेर अन्यायपूर्ण तरीकाले गल्ती गरेर सजाय दिए जस्तो गरी शैक्षिक सत्रको बीचमा सरुवा गर्न लागेको बताए ।
अचम्म त के भने, उनलाई कुनै जानकारी बिना नै सरुवा गर्ने निर्णय गरिएको छ । शिक्षक सरुवा शिक्षकलाई पनि सहज हुने गरी गर्नुपर्छ तर यहाँ शिक्षकको पायक पर्ने हुनुपर्छ । तर यस केसमा यस्तो देखिँदैन ।
उनलाई श्री कालिका माध्यमिक विद्यालय मोली, मानेभञ्ज्याङ–१, ओखलढुंगामा सरुवा गर्न लागिएको छ । जुन विद्यालय पुग्न उनलाई अहिले आफू कार्यरत विद्यालयको गाडीमै ५ घण्टा जति लाग्छ । ओखलढुङ्गाको सदरमुकाम पुगेर मात्र उक्त विद्यालयमा पुग्नुपर्ने हुन्छ ।
हर्कपुर माविमा शिक्षक दिलीपले आफ्नो चार वर्ष खर्चेका छन् । यस अवधिमा विद्यार्थीहरू उनले अपनाएको शिक्षण विधिप्रति अभ्यस्त भइसकेका छन् । त्यसैले पनि यसरी बीचमै शिक्षक सरुवा गर्ने निर्णय विद्यार्थीमाथि पनि अन्याय हुन जान्छ ।
शिक्षक सरुवा भनेको विद्यालयको आवश्यकता अनुसार पनि गरिन्छ तर उनलाई सरुवा गर्न लागिएको विद्यालयमा पनि शिक्षकको कुनै आवश्यकता नरहेको र हर्कपुर माविमा पनि त्यस्तो आवश्यकता नरहेको बुझिएको छ ।
उनी अतिरिक्त क्रियाकलाप, खेलकुद लगायत हरेक गतिविधिमा सक्रियतापूर्ण भूमिका र नेतृत्व गरेको र विद्यालयलाई सफल बनाएको हुनाले विद्यार्थीको रोजाइमा मात्र नभई अभिभावकको रोजाइमा समेत परेका शिक्षक हुन् ।
७ कक्षादेखि कक्षा १२ सम्म सबैभन्दा बढी ६ वटा क्लास लिने शिक्षक पनि उनै हुन् ।
‘सबै निम्न माध्यमिक तहका शिक्षकलाई चलाएको पनि होइन, छानीछानी शिक्षकलाई सरुवा गर्न लागिएको’ र अन्य शिक्षकलाई पनि असाध्यै मार्कामा पार्ने गरी सरुवा गर्न लागिएको शिक्षक दिलीप पहाडीले बताए ।
उनले भनेका छन्, ‘यस निर्णय प्रति मेरो व्यक्तिगत विमति छ, मेरो इच्छा विपरीत हो, यो निर्णयले एउटा शिक्षकको मनोबल खस्काएको छ ।’
आफू एक शिक्षक भएको, राज्यले तोकेको काम कर्तव्य निभाउँदै आएको र आफूमाथि भएको अन्यायको बारेमा सम्बन्धी निकायमा कुरा राख्ने शिक्षक दिलीप पहाडीले बताएका छन् ।
के भन्छन् त वडा अध्यक्ष ?
मानेभन्ज्याङ गाउँपालिकाका वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद गौतमले भने आवश्यकता अनुसार नै शिक्षक सरुवा गर्ने निर्णय गरेको बताएका छन् ।
शिक्षकको काज सरुवाको विषयलाई लिएर विद्यार्थी र अभिभावक आन्दोलन गरिरहेको र विद्यालय व्यवस्थापन समिति विद्यालय बन्द गर्ने पक्षमा नरहेको उनले बताए ।
यस विषयमा मिटिङ बसेर विद्यालय सञ्चालन गर्ने विषय टुङ्गो लगाउने भए पनि विद्यार्थी र अभिभावकको दबाबमा नआउने पनि वडा अध्यक्ष गौतमले प्रष्ट पारे ।
साथै उनले शिक्षक सरुवाको निर्णय मापदण्ड विपरीत नभई स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा गरिएको दाबी गरेका छन् ।
वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
मानेभन्ज्याङ गाउँपालिकाका वडा अध्यक्ष विष्णुप्रसाद गौतमले सर्वोच्च अदालतको फैसलाको नै धज्जी उडाएका छन् । २०८१ मा सर्वोच्च अदालतले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा वडाध्यक्ष रहने प्रावधान कानून विपरीत भएको ठहर गरेको थियो ।
तर हर्कपुर मावि को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष उनै वडा अध्यक्ष विष्णुप्रसाद गौतम हुन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सम्बन्धित विद्यालयमा पढ्ने विद्यार्थीको अभिभावक हुनुपर्ने व्यवस्था रहेको छ ।
व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने त नियम विपरीत हो भनेर हामीले सोधेको प्रश्नमा वडा अध्यक्ष गौतमले ‘अभिभावकले नै तपाईंले प्रतिनिधित्व गर्दा सहज हुन्छ’ भनेपछि आफू समितिको अध्यक्षमा बसेको हल्का जवाफ दिए ।
यसरी एउटै व्यक्ति दुई वटा पदमा बसेर जनप्रतिनिधिको अधिकार पनि आफैँ प्रयोग गर्ने, व्यवस्थापन समितिमा अभिभावकको अधिकार पनि आफैँ प्रयोग गर्दा विद्यालय व्यवस्थापन समितिको स्वायत्तता नरहेको अभिभावकले बताएका छन् ।
कस्तो अवस्थामा शिक्षक सरुवा गर्न मिल्छ ?
शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ अनुसार सामान्यतया विद्यालयले शैक्षिक सत्रको सुरुवातमै शिक्षक सरुवा सम्बन्धी प्रक्रियाहरू अगाडि बढाउनुपर्ने नियम छ ।
स्थायी नियुक्ति भई कुनै पनि सामुदायिक विद्यालयमा कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गरेका शिक्षकले एक विद्यालयबाट अर्को विद्यालयमा सरुवाका लागि आवेदन दिन र सरुवा हुन पाउँछन् ।
तह, श्रेणी र विषय मिलेका दुईजना शिक्षकले आपसी सहमतिमा एक–अर्को विद्यालयमा सरुवाका लागि निवेदन दिएमा र सम्बन्धित विद्यालय तथा स्थानीय तहले सहमति दिएमा सरुवा हुन सक्छ ।
घातक रोग लागेका, गम्भीर अपाङ्गता भएका, वा मातृ (शिशु स्वास्थ्य तथा तीन वर्षभन्दा सानो उमेरका बच्चा भएका) महिला शिक्षकको हकमा विशेष व्यवस्था अन्तर्गत दरबन्दी रिक्त रहेको ठाउँमा जुनसुकै बखत पनि सरुवा भई जान सक्ने कानूनी प्रावधान छ ।
आधारभूत तहको कक्षागत शिक्षक भए समान तहको रिक्त पदमा र विषयगत वा माध्यमिक तहको शिक्षकको हकमा सम्बन्धित विषयको रिक्त दरबन्दी भएमा मात्र सरुवाको प्रक्रिया अगाडि बढाइन्छ ।
माथि उल्लेखित मापदण्डलाई हर्कपुर मावि को विद्यालय व्यवस्थापन समितिले भने मापदण्डकै धज्जी उडाएको छ ।
विद्यार्थीको भविष्य कुन शिक्षकले उज्ज्वल बनाउन सक्छ भन्ने विषय विद्यार्थीलाई नै बढी थाहा हुन्छ। विद्यालयमा शिक्षक छान्न पाउने अधिकार विद्यार्थी र अभिभावकको पनि हो। विद्यार्थी र अभिभावकको आवाजको सुनुवाइ व्यवस्थापन समितिले गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी छ।
यसरी शक्तिको आडमा वडा अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिको नेतृत्वकर्ताको निर्णयले शिक्षकको मनोबल त खसेको छ नै, विद्यार्थीको मनोविज्ञानमा पनि नकारात्मक असर पर्न जान्छ।