काठमाडौं । नेपालमै विकसित बहु–सेवा डिजिटल प्लेटफर्म ‘फिरिरी’ सञ्चालनमा आएको छ ।
कम्पनीले विभिन्न दैनिक सेवालाई एउटै डिजिटल प्लेटफर्ममा समेट्दै सुपर एपका रूपमा सेवा सुरु गरेको जनाएको छ ।
कम्पनीका अनुसार एपमार्फत राइड–सेयरिङ, खाना डेलिभरी, किराना तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा यात्रा बुकिङ, डिजिटल भुक्तानी, घरजग्गा सेवा, घरायसी मर्मत तथा प्राविधिक सेवा, रोजगारी तथा करिअर, अन–डिमाण्ड भिडियो स्ट्रिमिङ (ओटीटी) र डिजिटल सिकाइसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।
कम्पनीले यी सबै सेवालाई एउटै प्लेटफर्ममा समेटेर प्रयोगकर्तालाई सहज र एकीकृत डिजिटल अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।
फिरिरीले स्थानीय व्यवसाय, घरजग्गा व्यवसायी, सेवा प्रदायक, स्वतन्त्र रूपमा काम गर्ने (फ्रिलान्सर) व्यक्ति, शिक्षक तथा रोजगारी खोज्ने व्यक्तिलाई एउटै डिजिटल माध्यमबाट जोड्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ । यसबाट रोजगारी सिर्जना, सेवाको पहुँच विस्तार तथा डिजिटल अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फिरिरी नेपालीद्वारा विकसित स्वदेशी डिजिटल प्लेटफर्म हो, जसले यातायात, व्यापार, सेवा, मनोरञ्जन र अवसरलाई एउटै इकोसिस्टममा आबद्ध गर्ने लक्ष्य लिएको छ ।
विदेशी डिजिटल प्लेटफर्मको प्रयोग बढिरहेका बेला फिरिरीले स्वदेशी विकल्पका रूपमा सेवा विस्तार गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फिरिरी एप हाल डाउनलोडका लागि उपलब्ध छ र यसको सेवा देशका प्रमुख सहरहरूमा सञ्चालनमा आएको छ ।