काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा आफूबाट भएको त्रुटिप्रति माफी मागेका छन् । यद्यपि, मोरक्कोमा बसेको फिफाको वरिष्ठ कार्यकारी बैठकले उनलाई अध्यक्षका रूपमा निरन्तर समर्थन गर्ने निर्णय गरेको छ ।
इन्फान्टिनोले बढ्दो आलोचनापछि बुधबार मोरक्कोको राजधानी रबाटस्थित फिफाको अफ्रिका कार्यालयमा व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए । बैठक सकिएको करिब चार घण्टापछि फिफाले विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई व्यवस्थापन बोर्डको पूर्ण समर्थन रहेको जनाएको हो ।
यसअघि युरोपेली फुटबल महासंघले इन्फान्टिनोप्रति आफ्नो विश्वास गुमाएको जनाएको थियो । महासंघले फिफा फरवार्ड इन्टरप्राइज नामक प्रस्तावलाई अस्पष्ट, बन्द कोठामा तयार गरिएको र पारदर्शिताविहीन सम्झौता भन्दै कडा आलोचना गरेको थियो ।
इन्फान्टिनोको योजनाको आलोचना फिफाभित्रैबाट पनि भएको थियो । फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले मंगलबार कर्मचारीहरूलाई पठाएको आन्तरिक पत्रमा यस घटनाक्रमलाई दुःखद र निन्दनीय भनेका थिए। उनी पनि बुधबारको बैठकमा सहभागी थिए ।
तर बैठकपछि जारी संयुक्त विज्ञप्तिमा ग्राफस्ट्रोमसहित व्यवस्थापन बोर्डले इन्फान्टिनोप्रति आफ्नो पूर्ण समर्थन पुनः पुष्टि गरेको जनाएको छ ।
यसैबीच, इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, परिषद्का सदस्य तथा २११ सदस्य राष्ट्र फुटबल संघलाई संयुक्त रूपमा हस्ताक्षर गरिएको पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति हार्दिक क्षमायाचना गरेका छन् । उनीहरूले यस्ता गल्ती भविष्यमा दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
बैठकपछि दुवै जना रबाटमा आयोजित अफ्रिकी महिला राष्ट्रकप फुटबल प्रतियोगिताको खेल हेर्न सँगै पुगेका तस्वीरहरू पनि सार्वजनिक भएका छन् ।
इन्फान्टिनोले फिफाका सबै सदस्य संघलाई नयाँ सहायक संस्था फिफा फरवार्ड इन्टरप्राइज मार्फत पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत चार करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।
फिफाले बुधबारको बैठकमा उक्त योजनासम्बन्धी त्रुटिहरू स्वीकार गरिएको जनाएको छ। विज्ञप्तिमा परिषद् र सदस्य संघहरूले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राखिएको महसुस गर्नु फिफाको उद्देश्य नभएको र प्रक्रिया फरक ढंगले अघि बढाइनुपर्ने स्वीकार गरिएको उल्लेख छ ।
साथै, प्रस्ताव सार्वजनिक भएपछि त्यसको व्यवस्थापनमा पनि गल्ती भएको फिफाले स्वीकार गरेको छ। इन्फान्टिनोको योजना गत साउन १२ गते एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि विवाद चर्किएको थियो ।
यद्यपि, फिफाले आफ्नो संस्थाको विश्वसनीयता, सुशासन र विधिसम्मत प्रक्रियामाथि हुने कुनै पनि आक्रमण अब सहन नसकिने स्पष्ट पारेको छ। संस्थाको नाम र प्रतिष्ठा जोगाउन आवश्यक सबै कदम चालिने पनि फिफाले जनाएको छ ।
यसअघि अर्को समाचारमा इन्फान्टिनोले मोरक्कोलाई आफ्नो योजनाको समर्थन गरेबापत सन् २०३० को विश्वकप फुटबलको फाइनल खेल आयोजना गर्ने आश्वासन दिएको भन्ने दाबी पनि गरिएको थियो। तर फिफाले उक्त समाचारलाई भ्रामक र असत्य भन्दै खण्डन गरेको छ ।
फिफाले सन् २०३० को विश्वकपको फाइनल खेल कहाँ हुने भन्ने निर्णय मोरक्को, स्पेन र पोर्चुगल संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगिताको तयारीका क्रममा उचित समयमा गरिने जनाएको छ ।