काठमाडौं । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि छनोट प्रक्रिया अघि बढाएको छ। खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदपूर्ति गर्न आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिको निर्णयअनुसार शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा उम्मेदवार छनोट गरिएको हो।
छनोटमा परेका उम्मेदवारहरूमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्।
मन्त्रालयका अनुसार छनोट भएका उम्मेदवारहरूले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। प्रस्तुतीकरण र अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौँमा सञ्चालन हुनेछ।
सूचनाअनुसार गौतमको प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८३ साल साउन २५ गते बिहान ७ बजे, घिमिरेको बिहान ८ बजे, कार्कीको साँझ ५ बजे, न्यौपानेको साँझ ६ बजे र समता पन्त भट्टको २६ गते बिहान ८ बजे तय गरिएको छ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले यसअघि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत आवेदन आह्वान गरेको थियो। अब प्रस्तुतीकरण र अन्तर्वार्ताबाट प्राप्त मूल्यांकनका आधारमा छनोट समितिले अन्तिम सिफारिस गर्नेछ।