काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएको तीनसम्म पनि उनको पत्तो लागेको छैन ।
सिंह शुक्रबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कबिहीन भएको पाइएको छ । उनले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइक गोरुसिंगे जंगलभित्र फेला परे पनि उनको अवस्था भने पत्ता लागेको छैन ।
प्रहरीले उनको खोजीका लागि मोटरसाइकल भेटिएको क्षेत्रमा तालिमप्राप्त कुकुर, ड्रोन र ठूलो मात्रामा प्रहरी टोली परिचालन गरेको छ । तर, हालसम्म उनको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
भट्टले पूर्वमेयर सिंहको घटनाबारे एक भिडियो सन्देश जारी गर्दै हालसम्म सिंहबारे नयाँ तथ्य फेला नपरे पनि प्रहरीको टोली परिचालन गरिएको बताए ।
एसपी भट्टले भनेका छन्, “मेयर सिंहले आफू समस्या परेको जानकारी आफ्ना आफन्तलाई पनि गरेका देखिन्छ । शुक्रबार नै आफन्तले समेत उनको खोजी गरे । तर, नभेटाएपछि करिब ६ बजेतिर हामीलाई पनि हराएको जानकारी आएको थियो । हामीले पनि रातिको २ बजेसम्म खोज्दा भेट्टाउन सकेनौँ ।“
सिंह शुक्रबार दिउँसोको २ बजे गोरुसिंगे जंगलभित्र निर्माणाधिन आफ्नै रिसोर्ट जाने भनेर निस्किएको खुलेको छ । कपिलवस्तुका एसपी भट्टसहितको टोली आइतबार बिहानदेखि नै सिंहको खोजीका लागि गोरुसिंगेको जंगलभित्र खटिएका छन् ।