काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार भएसँगै कम्पनी नाफामा फर्किएको छ।
गत असार मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ३७ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ करोड ९० लाख रुपैयाँमा सीमित थियो।
बाढीका कारण आयोजनामा क्षति पुगेपछि विद्युत उत्पादन प्रभावित हुँदा कम्पनीको आम्दानी घटेको थियो। २०८० असारमा आएको बाढीले आयोजना क्षतिग्रस्त भएको थियो। त्यसपछि २०८१ असोज १२ गते आएको अर्को बाढीले आयोजनाको सिभिल संरचना, पावर हाउस तथा इलेक्ट्रो मेकानिकल उपकरणमा समेत क्षति पुर्याएको थियो।
यसका कारण अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट कुनै आम्दानी गर्न सकेको थिएन। मर्मतसम्भारको काम सम्पन्न भएपछि २०८१ चैत १६ गतेदेखि पुन: विद्युत उत्पादन सुचारु भएको कम्पनीले जनाएको छ। त्यसपछि विद्युत बिक्री आम्दानीमा सुधार आएको हो।
विद्युत बिक्री बढेसँगै कम्पनीको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ५१ लाख रुपैयाँ खुद नाफामा पुगेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको कुल नाफा ३७ करोड ७८ लाख रुपैयाँ रहेको छ। सो अवधिमा कम्पनीको वित्तीय खर्च १३ करोड ६४ लाख रुपैयाँ रहेको उल्लेख छ। कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ६५ पैसा रहेको छ।
त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ३७.३० गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको जगेडा कोष भने १ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।