काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले आगामी अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि भदौ ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो नाइमा मोबिलिटी एक्सपो आयोजना गर्दै छ ।
एक्सपोमा ५५ वटा अटोमोबाइल ब्रान्ड सहभागी हुने भएका छन् भने ४४ वटा नयाँ गाडी तथा नयाँ मोडल सार्वजनिक गरिने तयारी छ ।
नेपालको अटोमोबाइल क्षेत्र सवारीसाधनको कारोबारमा मात्र सीमित नभई सरकारको राजस्व, रोजगारी र पूर्वाधार विकाससँग समेत जोडिएको क्षेत्र भएकाले एक्सपोले व्यवसायसँगै समग्र अटोमोबाइल क्षेत्रका विषयमा छलफल गर्ने उद्देश्य लिएको छ ।
नाइमाका अनुसार गत वर्षको पहिलो एक्सपोमा ४२ वटा ब्रान्ड सहभागी थिए । यस वर्ष सहभागी ब्रान्डको संख्या बढेर ५५ पुगेको छ । एक्सपोमा यात्रुवाहक सवारी साधनका विभिन्न सेग्मेन्टका गाडी प्रदर्शनीमा राखिनेछन् ।
ए, बी र सी सेग्मेन्ट देखि प्रिमियम कार सम्मका सवारी साधन एउटै स्थानमा अवलोकन गर्न सकिनेछ । यस वर्षको एक्सपोमा ४४ वटा नयाँ लन्च हुनेछन् । नयाँ ब्रान्ड तथा मोडलका साथै नेपाली बजारमा यस अघि उपलब्ध सवारी साधनका नयाँ संस्करणसमेत प्रदर्शनीमा राखिनेछन् ।
एक्सपोको तयारी अन्तिम चरणमा पुगेको नाइमाले जनाएको छ । भृकुटीमण्डपमा स्टल निर्माण तथा ह्याङ्गर राख्ने काम भइरहेको छ भने सहभागी सबै ब्रान्ड तयारी अवस्थामा छन् । एक्सपोका लागि पार्किङ, टिकट तथा अन्य व्यवस्थापनसमेत अन्तिम चरणमा पुगेको छ ।
एक्सपोमा अटोमोबाइलसँग सम्बन्धित विभिन्न विषयमा लर्निङ सेसन समेत आयोजना गरिनेछ । अगस्ट ११ देखि १६ सम्म हरेक दिन दिउँसो २ बजेदेखि ४ बजे सम्म विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया हुनेछन् ।
लर्निङ सेसनमा वैदेशिक प्रत्यक्ष लगानी, इथानोल ब्लेन्डिङ, रिसाइक्लिङ, अटोमोबाइल फाइनान्सिङ तथा युवा उद्यमशीलता र विकासजस्ता विषय समेटिनेछन् । नेपाल प्रहरीसँगको सहकार्यमा सडक दुर्घटना पछिको सुरक्षा, उद्धार तथा व्यवस्थापनसम्बन्धी तालिम पनि सञ्चालन गरिनेछ । ग्रान्डी अस्पतालको सहकार्यमा दुर्घटनापछिको स्वास्थ्य तथा आपत्कालीन प्रतिक्रियासम्बन्धी प्रशिक्षण दिने तयारी छ ।
एक्सपोमा चार्जिङ फ्यासिलिटीसँग सम्बन्धित दुई कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेस्टुरेन्टलगायतका क्षेत्रसमेत सहभागी हुनेछन् । ट्राफिक प्रहरीसँग सम्बन्धित प्रविधि तथा सेवासमेत प्रदर्शनीमा राखिनेछ ।
यद्यपि एक्सपोको तयारी भइरहँदा चीनतर्फका नाकाबाट सवारी साधन ल्याउने क्रममा समस्या देखिएको छ । विशेष गरी तातोपानी र चीनतर्फका सीमा क्षेत्रमा सडकको अवस्था बिग्रिँदा आयात गरिएका केही सवारीसाधन बाटोमै रोकिएका छन् ।
केही सवारीसाधन तातोपानी नाकासम्म आइपुगे पनि सडकको अवस्थाका कारण ढुवानी प्रभावित भएको छ । तातोपानीबाट ल्याउने सवारीसाधनलाई रसुवा नाकातर्फ डाइभर्ट गर्ने विषयसमेत उठेको छ । यसका कारण एक्सपोमा सहभागी हुने केही ब्रान्डका गाडी समयमै काठमाडौं ल्याउन चुनौती देखिएको छ ।
नाइमाले सीमा नाका तथा भन्सार बिन्दुमा देखिएका समस्याको तत्काल समाधानका लागि सम्बन्धित निकायमा जानकारी गराइसकेको जनाएको छ । वर्षायाम सुरु हुनेबित्तिकै हरेक वर्ष चीनतर्फका सडक र नाकामा समस्या दोहोरिने भएकाले दीर्घकालीन समाधान आवश्यक देखिएको छ ।
अटोमोबाइल व्यवसायीले सरकारले पूर्वाधार र भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । निजी क्षेत्रले आफ्नो स्तरबाट तयारी गरे पनि सडक तथा सीमा पूर्वाधार कमजोर हुँदा आयात र आपूर्ति प्रणाली प्रभावित हुने अवस्था रहेको छ ।
यसैबीच नयाँ बजेटमार्फत गरिएको कर नीतिले पनि अटोमोबाइल व्यवसायमा प्रभाव पारेको छ । नयाँ कर संरचनाअनुसार महँगा सवारीसाधनमा करको प्रभाव बढी परेको छ भने २० देखि ३० लाख रुपैयाँभन्दा कम मूल्यका सवारीसाधनमा तुलनात्मक रूपमा कम प्रभाव परेको छ ।
करका नयाँ प्रावधान कार्यान्वयनमा आएसँगै केही सवारीसाधनको मूल्य बढेको छ । व्यवसायीले कर नीतिमा स्थिरता आवश्यक रहेको भन्दै नयाँ कर तथा मापदण्डलाई कम्तीमा पाँच वर्ष स्थिर राख्नुपर्ने माग गरेका छन् ।
कर नीति पटक–पटक परिवर्तन हुँदा आयातकर्ताको अर्डरिङ साइकल, सवारीसाधनको डेलिभरी, आपूर्ति प्रणाली र ग्राहकको खरिद क्षमतामा प्रत्यक्ष असर पर्ने उनीहरूको भनाइ छ ।
डलरको विनिमय दरमा हुने सामान्य उतारचढावले समेत सवारीसाधनलाई अर्को कर स्ल्याबमा पुर्याउने समस्या देखिएको छ । उदाहरणका लागि करिब २९ लाख ८० हजार रुपैयाँ मूल्यको सवारीसाधन विनिमय दरका कारण केही महँगो हुँदा अर्को कर तहमा पुग्न सक्ने अवस्था छ । यसले आयातकर्ता र ग्राहक दुवैलाई मूल्य निर्धारणमा समस्या पार्ने देखिएको छ ।
एक्सपोमा नीति निर्माण तथा नियामक निकायका प्रतिनिधिहरूको सहभागिता पनि रहनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल राष्ट्र बैंक, ट्राफिक प्रहरीलगायतका सम्बन्धित निकायका प्रतिनिधिहरू विभिन्न छलफलमा सहभागी हुने तयारी छ ।
नाइमाका अनुसार एक्सपोको मुख्य उद्देश्य केवल सवारीसाधन बिक्री तथा प्रदर्शन गर्नु मात्र होइन । एउटै स्थानमा विभिन्न ब्रान्डका सवारीसाधन अवलोकन गर्ने अवसर उपलब्ध गराउनुका साथै अटोमोबाइल क्षेत्रसँग जोडिएका नीति, प्रविधि, लगानी, वित्तीय पहुँच, वातावरण, रिसाइक्लिङ र सडक सुरक्षाका विषयमा ज्ञान तथा छलफलको वातावरण तयार गर्नु एक्सपोको प्रमुख उद्देश्य हो ।
एक्सपोमा सहभागी हुन चाहने दर्शकका लागि अनलाइन टिकटको व्यवस्था गरिएको छ । यातायात सहज बनाउन पठाओसँग सहकार्य गरिएको छ भने परिवार तथा साथीभाइसँग एक्सपो अवलोकन गर्न सकिने गरी विभिन्न सुविधा र व्यवस्थापन गरिएको नाइमाले जनाएको छ ।
भृकुटीमण्डपमा आयोजना हुने दोस्रो नाइमा मोबिलिटी एक्सपोले नयाँ सवारीसाधन, विद्युतीय सवारी, अटोमोबाइल प्रविधि तथा यससँग जोडिएका व्यवसाय र सेवाबारे एउटै स्थानबाट जानकारी दिने अपेक्षा गरिएको छ ।