काठमाडौं । मकर जितमाया सुरी हाइड्रोपावर लिमिटेडको खुद नाफामा वृद्धि भएको छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ६७.५७ प्रतिशतको नाफा बढाएर ७ करोड ८२ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा हाइड्रोपावर कम्पनीले ४ करोड ६६ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानीबाट कम्पनीले गत आर्थिक वर्षमा ३९ करोड २० लाख रूपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा ३८ करोड ८६ लाख रूपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो। गत आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ०.८९ प्रतिशत मात्र बढेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा भने ०.३९ प्रतिशत घटेको छ।
कम्पनीको वित्तीय खर्चरऋणको ब्याज अघिल्लो आर्थिक वर्षको १८ करोड ३१ लाख रूपैयाँबाट घटेर १५ करोड ८५ हजार रूपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा मद्दत पुर्याएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पुँजी ७६ करोड रूपैयाँ कायम रहेको छ। अघिल्लो वर्ष ३ करोड २८ लाख रूपैयाँ रहेको सञ्चित नाफा बढेर ११ करोड ११ लाख रूपैयाँ लाख पुगेको छ।
कम्पनीको दीर्घकालीन ऋण अघिल्लो आर्थिक वर्षको १ अर्ब ९३ करोड ६६ लाख रूपैयाँबाट घटेर १७ करोड ८० लाख ४७ हजार रूपैयाँमा झरेको छ। कम्पनीको कुल सम्पत्तिको आकार २ अर्ब ६७ करोड १३ लाख रूपैयाँ रहेको छ।