काठमाडौं । एपिएफका क्षितिज खनाल र एपिएफकै प्रिन्स दाहाल लिनिङ्ग १४ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याड्मिन्टन प्रतियोगिता २०८३ को शिर्ष ८ बरियता पुरुष एकलको फाईनलमा प्रवेश गरेका छन् ।
आज सम्पन्न सेमिफाईनलमा क्षितिजले पिस फिटनेश क्लबका बिष्णु कटुवाललाई १८–२१, २१–७, २२–२० ले पराजित गर्दै उपाधी नजिक पुगेका हुन् ।
अर्को प्रतिस्पर्धामा नम्बर एक खेलाडी एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन विच भएको प्रतिस्पर्धामा प्रिन्सले २२–२४, २१–१४, २१–१२ को जित हात पार्दै उपाधीका लागि क्षिजित संगको भेट पक्का गरेका हुन् । क्षितिजले लिगको पहिलो खेलमा प्रिन्सलाई पराजित गरेका थिए । प्रिन्सलाई फाईनलमा त्यसको बदला लिने अवसर जुरेको छ ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला शिर्ष ८ एकल प्रतिस्पर्धामा नेपाल नम्बर एक आर्मीकी रसिला महर्जन फाईनल प्रवेश गरिन् । फाईनल प्रवेश गर्ने क्रममा रसिलाले नेपाल पुलिसकी निता लम्साल माथि २१–१३ , २१–१३ को जित निकालिन् । अर्को खेलाम पुलिसकी शेस्ना श्रीपालीले एपिएफकी रिहाना सेरचनलाई पराजित गर्दै उपाधीका लागि रसिला संगको भेट पक्का गरिन् । शेस्नाले रिहाना माथि २१–१६, २१–१८ को जित निकालेकी हुन् ।