काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ भ्रमणको क्रममा आइतबार काठमाडौँ आइपुगेका छन् ।
पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी श्रीमती कल्याण संघकी अध्यक्ष श्रीमती कोमल सेठ पनि सहभागी छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसी. र उनकी धर्मपत्नीले स्वागत गरेका थिए ।
भ्रमणको क्रममा जनरल सेठलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
औपचारिक भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ । नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मनार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए । भारत सरकारले ३१औं सेना प्रमुखखको रूपमा सेठलाई ३० जुन २०२६ मा नियुक्त गरेको थियो ।