काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूह हिन्दुराष्ट्रका पक्षमा उभिएका छन् । यो सहित देउवा समूह परोक्ष रुपमा राजसंस्थाको पक्षमा देखिएका छन् ।
देउवा र कोइराला (शंशाक कोइराला) समूहले काठमाडौंमा दुई दिनसम्म चलेको राष्ट्रिय भेलाबाट हिन्दुराष्ट्रका पक्षमा देखिएको छ ।
आइतबार सम्पन्न भेलाले बिपीको मेलमिलाप नीतिअनुसार पार्टी अगाडि बढ्ने निर्णय गरेको छ। निर्णय नम्बर २ मा उक्त नीतिअनुसार राष्ट्रिय र लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्र सुदृढीकरणका लागि क्रियाशील हुने निर्णय गरेको छ।
भेलाले सनातनदेखि चलिआएको धर्म राष्ट्रिय पहिचानका रुपमा स्वीकार गरेको छ। देउवा समूहले सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा अगाडि बढाउने बताएको छ।
निर्णयमा भनेको छ– ‘नेपालको सनातनदेखि चली आएको धर्म सँस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, वौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ।’
निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले तयार पारेको निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य समावेश गरिएको थियो। निधिले भने उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्रै उल्लेख गर्नुपर्ने अडान राखेका थिए।