काठमाडौं । सेयर बजार ओरालो झर्दा कारोबार रकम सवा ३ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.२६ अंकले घटेर २६२२.२२ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि बैंकिङ, हाइड्रो, निर्जीवन बीमा, अन्य र ट्रेडिङ समूहमा हरियाली छाएको छ भने बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३४६ कम्पनीका ९५ लाख ८ हजार ८ सय ८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५ सय ७१.२९ रुपियाँ बराबरको कारोबार भएको छ ।
माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताहरुले क्रमश: १४.९९ र १४.९८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मनकामना इन्जिनियरिङका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.४५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज साहस उर्जाको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ५२ लाख ८२ हजार १ सय ६०.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन सोमबार २.२५ अंकले बजार घट्दा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८ सय ७२.७५ रुपियाँ र हिजो मंगलबार १९.३४ अंकले बजार घट्दा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६ सय ६२.९० रुपियाँ बराबरको कारोबार भएको थियो ।