काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन् ।
थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा आफू निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने र थारू समुदायका जायज माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताइन् ।