काठमाडौं, भदौ २४ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे थप छलफल गर्न अहिले तीनै जिल्लाका सिडिओहरू भर्चुअल बैठकमा छन् । निषेधाज्ञा अहिले पूर्ण रूपमा नहटे पनि खुकुलो बनाइने भएको छ ।
भदौ ३ गतेदेखि सुरु निषेधाज्ञा तेस्रो पटक गरी आज मध्यरातिदेखि सकिँदैछ । निषेधाज्ञाको २१ औं दिनसम्ममा खासै संक्रमण नरोकिएकाले निषेधाज्ञा खुकुलो बनाउँदै लैजान मंगलबार विभिन्न क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा समेत स्थानीय प्रशासनलाई सुझाव आएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप चौथो चरणमा केही परिमार्जन गर्ने सम्भावना रहेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
तर, पुनः सात दिन निषेधाज्ञा थपिने उनले जानकारी दिए । स्रोतका अनुसार सवारी साधनलाई जोर बिजोरका आधारमा सञ्चालन गर्ने, विभिन्न व्यवसायलाई बारका आधारमा खोल्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइँदै छ ।
उनका अनुसार अहिले केके विषयमा सहज गर्ने भन्नेबारेमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठकमार्फत समन्वय भइरहेको छ । साँझसम्म त्यो सबै विवरण आउने उनले जनाए ।
उपत्यकाका तीनवटै सिडिओले गृह मन्त्रालयसँग समन्वय गरी यसको निर्णय गर्नेछन् ।
FACEBOOK COMMENTS