काठमाडौं । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजा १ किलो ९१० ग्रामसहित चार जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय हुँदै इटहरी पठाइएको पार्सल जाँच गर्दा ९१० ग्राम थाई गाँजा बरामद गरेको थियो ।
त्यसपछि पार्सल बुझ्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले नियन्त्रणमा राखेर पार्सल बुझाउने योजना बनाएको थियो । भदौ १६ गते पार्सल बुझेर लैजाँदै गरेका सुनसरीका १९ वर्षीया जेसिका तामाङ र धनकुटाकी २५ वर्षीया तारा मगर पक्राउ परेका थिए ।
उनीहरू बस्दै आएको धरान उपमहानगरपालिका–१५ स्थित कोठामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा लिन आएका भारतका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई पनि भदौ १९ गते धरान उपमहानगरपालिका–८ बाट पक्राउ गरिएको छ ।

प्रहरीले चारै जनाको साथबाट थाई गाँजा १ किलो ९१० ग्राम र चार थान मोबाइल बरामद गरेको जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय धरान र लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।