काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट उद्धार गरिएका तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे जानकारी लिएका छन् ।
शुक्रबार दिउँसो अस्पताल पुगेका मन्त्री तिमिल्सिनाले उपचाररत घाइते तथा प्रभावितसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्था, उपचारका क्रममा देखिएका समस्या तथा अस्पतालबाट प्राप्त स्वास्थ्य सेवाबारे जानकारी लिएका थिए । उनले अस्पतालको उपचार व्यवस्था र समग्र व्यवस्थापनबारे पनि अधिकारीसँग जानकारी लिएका थिए ।
अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहानसम्म २९ जना उपचाररत छन् । स्वास्थ्यमा सुधार आएका अन्यलाई उपचारपछि अस्पतालबाट घर पठाइएको थियो ।
अस्पतालका अधिकारीहरूले बाढीपीडितको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिहरूले सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी मन्त्री तिमिल्सिनालाई दिएका थिए ।
मन्त्री तिमिल्सिनाले विपद्का समयमा घाइते तथा प्रभावित नागरिकको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गरेका थिए । थप उपचार, स्वास्थ्य सामग्री वा अन्य सहयोग आवश्यक परे सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
