काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा नेपाल–भारत सम्बन्ध तथा आर्थिक, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री वाग्लेसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
उनले हालै नेपालमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
जयशंकरले नेपालसँगको समग्र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन् । विशेषगरी आर्थिक, ऊर्जा तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको उनले उल्लेख गरेका छन् ।
अर्थमन्त्री वाग्ले भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा छन् । भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग पनि भेटवार्ता गरी बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा सम्पर्क सञ्जालका विषयमा छलफल गरेका थिए ।
