काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका छन् । टोलीका प्रशिक्षक जर्ज जेसुसले रोनाल्डोसँग कुनै विवाद नरहेको बताएपछि उनले आफूले शिविर छाड्नुको कारण समय आएपछि सार्वजनिक गर्ने बताएका छन् ।
यसअघि पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । तर जेसुसले रोनाल्डो र आफूबीच कुनै विवाद नभएको स्पष्ट पारेका थिए ।
रोनाल्डोले यसै वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे सोच बनाएको भए पनि आफ्नो खेलजीवनमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण निरन्तरता दिने निर्णय गरेका थिए । उनी यसपटकको अन्तर्राष्ट्रिय विश्रामका लागि जेसुसले घोषणा गरेको २५ सदस्यीय टोलीमा परेका थिए र वेल्सविरुद्धको पहिलो राष्ट्रसंघीय खेलमा सुरुवाती टोलीमै खेलेका थिए ।
तर आइतबार ओस्लोमा नर्वेविरुद्ध पोर्चुगल २–१ ले विजयी हुँदा रोनाल्डो मैदानमा उत्रिएनन् । खेल सकिएपछि उनी आफ्ना सहकर्मीसँग दर्शकतर्फ जानुको सट्टा सिधै खेलाडी परिवर्तन गर्ने कक्षतर्फ गएका थिए । त्यसपछि उनी प्रशिक्षकसँग असन्तुष्ट रहेको समाचारहरू आएका थिए । डेनमार्कविरुद्ध आजराती हुने नेसन्स लिगको खेलअघि सञ्चारकर्मीसँग कुरा गर्दै जेसुसले रोनाल्डोसँग कुनै घटना नभएको बताए । उनले लामो समयसम्म खेलमा प्रवेश गर्ने तयारी गरेर पनि मैदानमा खेल्न नपाउँदा कुनै पनि खेलाडी खुसी नहुने बताएका थिए ।

जेसुसका अनुसार नर्वेविरुद्धको खेलअघि नै उनले रोनाल्डोलाई सुरुवाती टोलीमा नराख्ने र आवश्यक परेपछि खेलाउने जानकारी दिएका थिए । तर पछि आफूले उनलाई मैदानमा नउतार्ने निर्णय गरेको जेसुसले बताए ।

रोनाल्डोले मंगलबार प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको भन्ने समाचार पनि जेसुसले खारेज गरेका थिए । उनका अनुसार रोनाल्डोले शारीरिक चलायमानता र बलियो बनाउने अभ्यास गर्नुपर्ने भएकाले छुट्टै अभ्यास गरेका थिए र बुधबार नियमित रूपमा टोलीसँग प्रशिक्षण गर्ने योजना थियो ।

तर डेनमार्कमा पोर्चुगलको टोली मैदानमा अभ्यास गरिरहेका बेला रोनाल्डो सहकर्मीसँग देखिएनन् । पोर्चुगलका सञ्चारमाध्यमले उनलाई पार्केन रंगशालाबाट टोलीका दुई कर्मचारीसँगै बाहिरिँदै गरेको भिडिओ सार्वजनिक गरेका थिए । त्यसपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेको घोषणा गरेका थिए । उनले पोर्चुगल फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि टोली छाड्ने निर्णय गरेको र आफूले छाड्नुको कारणबारे समय आएपछि पोर्चुगलका नागरिकलाई सत्य बताउने उल्लेख गरेका छन् ।
उनले आगामी खेलका लागि आफ्ना सहकर्मीलाई शुभकामना पनि दिएका छन् । नर्वेविरुद्ध पोर्चुगलको जितमा गोन्कालो रामोसले निर्णायक गोल गरेका थिए । जेसुसले डेनमार्कविरुद्ध पनि रामोसलाई रोनाल्डोभन्दा प्राथमिकता दिने संकेत गरेका थिए । उनले आवश्यक परे रोनाल्डोलाई मैदानमा उतार्ने, आवश्यकता नपरे नउतार्ने बताएका थिए । पोर्चुगल फुटबल महासंघले पनि रोनाल्डोले प्रशिक्षण शिविर छाडेको पुष्टि गरेको छ । महासंघका अनुसार डेनमार्क र नर्वेविरुद्ध हुने दुई खेलका लागि बाँकी २४ खेलाडीले पूर्वनिर्धारित योजनाअनुसार तयारी जारी राख्नेछन् । टोलीको सम्पूर्ण ध्यान आगामी खेल र निर्धारित लक्ष्य हासिल गर्नमा केन्द्रित रहेको महासंघले जनाएको छ ।
यसैबीच रोनाल्डोकी बहिनी एल्मा एभेइरोले सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै रोनाल्डोले अझ बढी सम्मान पाउनुपर्ने बताएकी छन् । उनले सन्देशमा भनकी छन्- ‘क्रिस्टियानो रोनाल्डोले अझ बढी सम्मान पाउनुपर्ने थियो । राष्ट्रिय टोलीले अझ व्यवस्थित संरचना पाउनुपर्ने थियो ।’ त्यस्तै, पोर्चुगलका सञ्चारमाध्यमले पनि बढी जिम्मेवार र सक्षम पत्रकारिता गर्नुपर्ने र अनुमानमा आधारित समाचारलाई कम प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।
सन्देशमा पोर्चुगलका नागरिकप्रति भने कडा टिप्पणी गरिएको छ । ‘पोर्चुगलका मानिसहरू कुनै पनि क्षेत्रमा उत्कृष्ट व्यक्तिलाई स्वीकार गर्न योग्य छैनन् । हामी ईर्ष्यालु, तिरस्कारपूर्ण र अज्ञानी छौँ,’ सन्देशमा भनिएको छ । त्यसमा रोनाल्डोको आगमनअघि पोर्चुगलको फुटबलमा रहेको औसत अवस्थामै देश फर्किनुपर्ने अवस्था आउन सक्ने टिप्पणीसमेत गरिएको छ । अन्त्यमा रोनाल्डोलाई धन्यवाद दिँदै ‘तिमीले अझ धेरै सम्मान पाउनुपर्ने थियो’ भनिएको छ । एल्माले यही सन्देशलाई आफ्नो सामाजिक सञ्जालमा साझा गर्दै ‘यहाँ सबै कुरा भनिएको छ’ भन्दै समर्थन गरेकी हुन् ।