काठमाडौं । आगामी विजयादशमीको अवसरमा काठमाडौं उपत्यकाबाट १० देखि १५ लाखसम्म यात्रुहरू बाहिरिने प्रक्षेपण गरिएको छ ।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा गठित अध्ययन समितिले सार्वजनिक गरेको ‘सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन’ मा उक्त प्रक्षेपणगरिएको हो ।
प्रतिवेदन अनुसार दशैंको उच्च चापका बेला यात्रु लाइ गन्तव्यसम्म पुर्याउन न्युनतम ४३ हजार ५ सय ७४ देखि ६५ हजार ३ सय ६१ वटा सम्म सार्वजनिक सवारी आवश्यक पर्ने देखिएको छ ।
यात्राको मुख्य चाप असोज ३१ (फूलपाती) देखि कात्तिक २ गते (अष्टमी) सम्म रहनेछ । जहाँ ३ दिनमै २ देखि ३ लाखभन्दा बढी बाहिरिने छन् । यस क्रममा काठमाडौ उपत्यकाबाट बाहिरिनका लागि ठूला बस ३१ हजार ३ सय ७३, माइक्रोबस २८ हजार १ सय ५ र मिनी बस ५ हजार ८ सय ५२ मुख्य माध्यम हुनेछन् ।
यात्रुको यात्रालाई सहज बनाउन पूर्वाधार विकास समितिले गुनासो दर्ताका लागि क्युआर कोडसहितको अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । साथै, चापका बेला काठमाडौं उपत्यकाभित्रका सार्वजनिक बस, कलेज बस र सुरक्षा निकायका गाडीलाई जगेडा (रिर्जभ) सवारी साधनका रूपमा प्रयोग गर्ने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले अनलाइन र काउन्टर मार्फत अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै तोकिएको भाडादर भन्दा बढी नलिन कडा अनुगमन गर्ने निर्णय गरेको छ । लामो दूरीका गाडीमा कम्तीमा २ जना चालक अनिवार्य गर्ने, रुट परमिट खुला गर्ने र सवारीको मेकानिकल फिटनेस जाँच अनिवार्य गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १,३०० भन्दा बढी ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु, नागढुङ्गा लगायत १० मुख्य नाका र प्रस्थान बिन्दुहरूमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइनेछ ।

यात्रुको सहजताका लागि सडक विभागले पनि वर्षा र बाढी पहिरोले क्षति पुर्याएका राजमार्गहरूको मर्मत तीव्र पारेको छ । आपत्कालीन उद्धारका लागि ५३ वटा ठूला डोजर, एक्सकाभेटर लगायतका उपकरणहरू बीपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ लगायतका मुख्य सडक खण्डहरूमा तयारी अवस्थामा राखिएको छ ।