काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अक्टोबर ३ मा फिजी प्रस्थान गर्ने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अक्टोबर ५ र ६ मा फिजी र टुभालुमा आयोजना हुने प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुनेछन् ।
मन्त्री खनालले अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग हुने सञ्चारमाध्यमसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउने मन्त्रालयले जानकारी दिएको छ ।
प्रि–कोप कार्यक्रमपछि मन्त्री खनाल अस्ट्रेलिया जानेछन् । उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी समकक्षी पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावास र सिड्नीस्थित नेपाली समुदायले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । परराष्ट्रमन्त्री खनाल अक्टोबर १२ मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ।