काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जनाको शव फेला परेको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार खोजी तथा उद्धारका क्रममा अहिलेसम्म आठ जनाको शव फेला परेको हो । उद्धार गरिएका शव नेपाली सेनाको हेलिकप्टरबाट आज २ वटा शव चामे र ६ वटा फूगाउँसम्म ल्याईएको नेपाली सेनाले जानकारी दिएको छ ।
एनएनएमजीए खोज तथा उद्धार टोलीले हिमालयन होलिडेज, सेभेन समिट ट्रेक्स र स्थानीय पथप्रदर्शकहरूसँगको समन्वयमा अत्यन्त कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ । आधार शिविर क्षेत्रमा करिब १४ फिटसम्म हिउँ जमेकाले हरेक स्थान हातैले खोतलेर खोजी गर्न कठिन र जोखिमपूर्ण भएको एसोसिएसनले जनाएको छ । अत्यधिक चिसो र अस्थिर हिउँका कारण उद्धार टोलीको काम थप चुनौतीपूर्ण बनेको बताइएको छ ।
हालको अवस्था सुरक्षित नभएकाले खोजी तथा उद्धार अभियान जारी रहेको एसोसिएसनले जनाएको छ । हिउँ र हिमालको अवस्थालाई निरन्तर निगरानी गर्दै सुरक्षित रहेर बेपत्ताको खोजी तथा शव निकाल्ने प्रयास गरिने जनाइएको छ । मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा असोज ११ गते गएको हिमपहिरोमा १२ जना भान्साका कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।
२- सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधि उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना बनाउन कार्यदल गठन गरिने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलपछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसहितको कार्यदल गठन गर्ने निर्णय भएको हो ।

कार्यदलले तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजना र वैद्यखानाको विकासको खाका तयार गर्नेछ । तत्काल उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी औषधिको उत्पादन बढाउने तथा भविष्यमा विदेशमा समेत निर्यात गर्ने गरी काम अघि बढाउने निर्णय भएको छ । छलफलमा जडीबुटी संकलनमा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान, सम्बन्धित निकायबीच समन्वय र किसानसँग सहकार्य गरी जडीबुटी उत्पादन बढाउने विषयमा समेत जोड दिइएको थियो ।

३- दुग्ध विकास संस्थानले किसानको भुक्तानी, दूधको गुणस्तर, बजारीकरण र वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादन प्रभावकारी बनाएको जनाएको छ । संस्थानका अनुसार गत वर्ष करिब ६ महिना रहेको किसान भुक्तानी अवधि अहिले एक महिनाभित्र झारिएको छ । आगामी असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य राखिएको छ । दूधको गुणस्तर सुधारका लागि फ्याट र एसएनएफको मापदण्ड परिमार्जन गरिएको छ । ७.८ प्रतिशतभन्दा कम एसएनएफ भएको दूधमा सहकारी सञ्चालनबापत दिइने टीएस रकम रोकिएको संस्थानले जनाएको छ ।

बजारीकरणतर्फ अघिल्लो आर्थिक वर्षको श्रावणको तुलनामा मोही बिक्री १३३ प्रतिशत, याक चिज ५० प्रतिशत र ताजा दूध २१ प्रतिशतले बढेको छ । दैनिक बिक्री राजस्व करिब ९० लाख रुपैयाँ पुगेको छ भने काठमाडौं उपत्यकामा २२ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । संस्थानले दैनिक बिक्री राजस्व १ करोड २० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । त्यस्तै, खाडी मुलुकमा वार्षिक कम्तीमा ५० मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार श्रावणको अन्तिममा ४२० किलो घिउ निर्यात गरिएको संस्थानले जनाएको छ । खर्च नियन्त्रणका लागि कम दूध संकलन हुने चिस्यान केन्द्रलाई नजिकका केन्द्रमा गाभ्ने, सहकारी संघबाट सिधै दूध खरिद गर्ने तथा वित्तीय र प्रशासनिक सुशासनलाई प्राथमिकता दिने नीति संस्थानले अघि बढाएको छ ।
४- परराष्ट्रमन्त्री शिशिर खनाल अक्टोबर ३ मा फिजी प्रस्थान गर्ने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अक्टोबर ५ र ६ मा फिजी र टुभालुमा आयोजना हुने प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुनेछन् । मन्त्री खनालले अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग हुने सञ्चारमाध्यमसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउने मन्त्रालयले जानकारी दिएको छ । प्रि–कोप कार्यक्रमपछि मन्त्री खनाल अस्ट्रेलिया जानेछन् । उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी समकक्षी पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावास र सिड्नीस्थित नेपाली समुदायले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । परराष्ट्रमन्त्री खनाल अक्टोबर १२ मा काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
५- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल गगन थापाको पक्षमा खुलेका छन्। विशेष महाधिवेशनदेखि नै सक्रिय राजनीतिमा कम देखिएका रिजाल मोरङ–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि रिजालले आफ्नो क्षेत्रको पार्टी अधिवेशनमा आफैं उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन् । उनले संघीय आमनिर्वाचनपछि आफू क्षेत्रमा धेरै बस्न नसकेको उल्लेख गर्दै छिट्टै क्षेत्रका साथीहरूसँग भेट्न आउने बताएका छन् । रिजालले आफ्नो अनुपस्थितिका बाबजुद आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गरेकोमा मोरङ–२ का कांग्रेस नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मेरो अनुपस्थितिमा पनि महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नु भई मप्रति प्रकट गर्नुभएको विश्वास र सहयोगका लागि क्षेत्रका सम्पूर्ण साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछु।’रिजाल गत फागुन २१ मा भएको निर्वाचनमा भने काँग्रेसको मोरङ- २ मा उम्मेदवार बनेका थिए ।
६- अमेरिकाले इराकबाट आफ्ना सबै सैनिक फिर्ता गरेको छ । यससँगै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआइएस) विरुद्ध १२ वर्षदेखि जारी अमेरिकी नेतृत्वको सैन्य अभियान अन्त्य भएको छ । इराक र अमेरिकाबीच भएको सहमतिअनुसार सेप्टेम्बर ३० को समयसीमाभित्र अमेरिकी सेनाको अन्तिम टोली उत्तरी इराकको विमानस्थलबाट बाहिरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिर्तीलाई व्यवस्थित भन्दै अभियानलाई महँगो र कठिन भएको बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अब अमेरिकी सेनाले आवश्यकताअनुसार इराकी सुरक्षा निकायलाई तालिम र गुप्तचर सहयोग भने जारी राख्नेछ । इराकी प्रधानमन्त्री अली अल–जैदीले अमेरिकी सेना फिर्तालाई इराकका लागि नयाँ चरणको सुरुवात भएको बताएका छन् । तर कुर्द क्षेत्रमा अमेरिकी सेना हटेपछि इस्लामिक स्टेट पुनः बलियो हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । अमेरिकी सेना यसअघि २०११ मा इराकबाट बाहिरिएको थियो । तर २०१४ मा इस्लामिक स्टेटले इराकको ठूलो भूभाग कब्जा गरेपछि अमेरिकी नेतृत्वको सैन्य अभियान पुनः सुरु भएको थियो । अमेरिका र इराकले २०२४ मा उक्त अभियान क्रमशः अन्त्य गर्ने सहमति गरेका थिए ।
७- भोटेकोसी बाढीको अध्ययनका लागि राष्ट्रियसभाले पनि विशेष समिति गठन गरेको छ । विहिबार बसेको राष्ट्रिय सभाको बैठकले नौ सदस्यीय विशेष समिति गठन गरेको हो । यसअघि संयुक्त विशेष समिति गठन हुनुपर्ने माग विपक्षी दलहरुले गरेपनि रास्वपा सहमत नभएपछि प्रतिनिधि सभामा मात्र विशेष समिति बनाइएको थियो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि विशेष संसदीय समिति गठनको मागअनुसार राष्ट्रिय सभा नियमावली २०७५ को नियम १६७ अनुसार नौ सदस्यीय समिति गठन भएको सभामा बताएका थिए । नौ सदस्यीय समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मा छन् भने समितिमा एक सदस्य पछि थप हुने बताइएको छ । समितिलाई पुस मसान्तसम्मको समय दिइएको छ भने प्रतिनिधिसभाले बनाएको विशेष समितिसँग आवश्यक समन्वयन गर्न सक्ने भनिएको छ । समितिलाई विपद्मा जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको अध्ययन, समीक्षा गर्ने कार्यादेश तोकिएको छ ।
८- सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । मन्त्रालय मातहतको विद्युत नियमन आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिन प्रसारण दस्तुर (ह्वीलिङ चार्ज) निर्धारण सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष रामप्रसाद धितालकाअनुसार राष्ट्रिय विद्युत प्रसारण ग्रीड (नेशनल ट्रान्समिसन ग्रीड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्डबमोजिम शुल्क निर्धारण गरिएको छ ।
९- नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)बाट लगाएको प्रतिबन्ध नहटेपछि बंगलादेशमा हुने १५औं साफ च्याम्पियनसिप नेपालले भाग लिन नपाउने भएको हो । फिफाले अखिल नेपाल फुटबल संघ(एन्फा) माथि लगाएको निलम्ब कायमै रहेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले विहिबार खेलको तालिका प्रकाशित गरेको छ । साफले सेप्टेम्बर ३० सम्म निलम्बन फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउने बताएको थियो तर, उक्त समयसीमाभित्र निलम्बन फुकुवा नभएपछि नेपालले प्रतियोगिता खेल्न नपाउने निश्चित भएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत असार ११ गते एन्फालाई निलम्बन गरेको थियो । गत अगस्ट १ मा भुटानको थिम्पुमा भएको समूह विभाजनमा नेपाललाई आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’मा राखिएको थियो । त्यस्तै समूह ‘बी’मा साविक विजेता भारत, माल्दिभ्स र पाकिस्तान छन् । सन् १९९३ मा सुरु भएको दक्षिण एसियाको फुटबल महोत्सवका यसअघिका सबै संस्करणमा नेपाल सहभागी हुँदै आएको थियो । साफ च्याम्पियनसिपको १५औं संस्करण नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुँदैछ ।
१०- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रो बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १०.११ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर ९.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ९.६६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको २२ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
११- नेपालमा सेप्टेम्बर २०२६ मा विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो । सेप्टेम्बर २०२५ मा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए । क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाली मुलुकबाट आएका छन् । सेप्टेम्बरमा दक्षिण एसियाबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको ३४.१ प्रतिशत हो । अघिल्लो वर्षको सोही महिनामा दक्षिण एसियाबाट २४ हजार २८५ पर्यटक आएका थिए । यस क्षेत्रमा पर्यटक आगमन २३.९ प्रतिशतले बढेको छ । दक्षिण एसियामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट १७ हजार ४२५ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको १५ हजार ५५६ को तुलनामा १२ प्रतिशत बढी हो । त्यस्तै श्रीलंकाबाट ७ हजार १०८, बंगलादेशबाट ३ हजार ९६४, भुटानबाट १ हजार १११ र पाकिस्तानबाट ४२९ पर्यटक आएका छन् । श्रीलंकाबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतभन्दा बढीले बढेको छ । एसियाका अन्य मुलुकबाट पनि पर्यटक आगमनमा ठूलो वृद्धि देखिएको छ। यस क्षेत्रबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २२.५ प्रतिशत हो । अघिल्लो वर्षको १२ हजार ५९० को तुलनामा यो संख्या ५८ प्रतिशतले बढी हो। चीनबाट मात्रै ११ हजार २१२ पर्यटक आएका छन् । चीनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको छ । जापानबाट २ हजार ६६, मलेसियाबाट १ हजार ८७७ र दक्षिण कोरियाबाट १ हजार ४१२ पर्यटक आएका छन् । युरोपबाट भने पर्यटक आगमनमा कमी आएको छ। सेप्टेम्बरमा युरोपेली मुलुकबाट १५ हजार १४८ पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको १६ हजार ५९७ को तुलनामा यो ८.७ प्रतिशत कम हो। बेलायतबाट ३ हजार ७२५, जर्मनीबाट १ हजार ९७४, फ्रान्सबाट १ हजार ३८९, स्पेनबाट १ हजार १२० र रुसबाट १ हजार १४३ पर्यटक आएका छन् । बेलायत र जर्मनीबाट आउने पर्यटकमा उल्लेख्य कमी देखिएको छ । ओसिनिया क्षेत्रबाट आउने पर्यटक पनि घटेका छन्। अष्ट्रेलिया र न्युजिल्यान्डसहित यस क्षेत्रबाट ५ हजार ४२२ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २५.९ प्रतिशत कम हो। अष्ट्रेलियाबाट ४ हजार ८४२ र न्युजिल्यान्डबाट ५८० पर्यटक आएका छन् । अमेरिकी महादेशबाट पनि पर्यटक आगमन १२.३ प्रतिशतले घटेर १० हजार १०७ मा झरेको छ। अमेरिकाबाट ८ हजार २९९, क्यानडाबाट १ हजार २२४, ब्राजिलबाट ३१८ र मेक्सिकोबाट २६६ पर्यटक नेपाल आएका छन्। मध्यपूर्वबाट भने आगमन १२ प्रतिशतले बढेर २ हजार ६०६ पुगेको छ। इजरायलबाट मात्रै १ हजार ९५७ पर्यटक आएका छन् । अफ्रिकाबाट ४२४ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.३ प्रतिशत बढी हो। अन्य वर्गमा ४ हजार ५६८ पर्यटक रहेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।
१२- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा भारतले प्रस्तुत गरेको १७० रनको ठूलो लक्ष्य पछ्याएको श्रीलंका दबाबमा परेको थियो । भारतले पहिला ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । भारतका लागि इशान किशनले उत्कृष्ट ब्याटिङ गर्दै ८० रन बनाएका थिए । भारतका लागि वैभव सूर्यवंशीले ३८ रन बनाएका थिए । १७० रनको लक्ष्य पछ्याएको श्रीलंका भारतीय बलिङसामु टिक्न सकेन । भारतका बलरले नियमित अन्तरालमा विकेट लिएपछि श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त भएको थियो । अन्ततः श्रीलंका केवल ९.५ ओभरमा ४५ रनमा अलआउट हुदै खेल १२४ रनले हारेको थियो । यस जितसँगै भारतले एसियाली खेलकुद पुरुष क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको छ । अब भारतले स्वर्ण पदकका लागि अर्को सेमिफाइनलबाट फाइनल पुगेको पाकिस्तानसँग खेल्ने छ । फाइनल खेल शनिबार हुने छ । त्यस्तै कास्य पदकको खेलमा बंगलादेश र श्रीलंका शनिबार नै खेल्ने छन् ।
१३- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै संसदीय मर्यादा र परम्परा पालना गर्न ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर फर्किए पनि महासभामा भएका गतिविधिबारे संसद्लाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् । उनले संसद् चलिरहेका बेला प्रधानमन्त्री कहाँ र के काममा व्यस्त छन् भन्नेबारे सदनलाई जानकारी हुनुपर्ने बताउदै प्रमुख प्रतिपक्षी दलले संसद्मा प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीको अनुपस्थिति संसदीय मर्यादाअनुकूल नभएको उनको भनाइ थियो । आङ्देम्बेले प्रधानमन्त्रीलाई संसद् सरकारको अनुकूलतामा चल्ने संस्था नभएको स्मरण गराउँदै लोकतन्त्रमा नियम र प्रक्रिया सरकारका लागि पनि समान रूपमा लागू हुने बताए । उनका अनुसार संसद्मा बहुमत हुँदैमा शासन सञ्चालनका लागि पर्याप्त नहुने र जनताको विश्वास कायम राख्न संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम आवश्यक हुन्छ । सरकारले संसद्, राज्यका तीनै तह, संवैधानिक निकाय, प्रशासन, निजी क्षेत्र र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। संसद्लाई प्रतिस्पर्धी नभई लोकतन्त्रको साझेदार संस्थाका रूपमा बुझ्नुपर्ने उनले बताए । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि र फर्किएपछि संसद्लाई जानकारी गराउने विषय केवल परम्परा नभई संसदीय जवाफदेहितासँग जोडिएको आङ्देम्बेले बताए । उनले प्रधानमन्त्रीलाई परम्परा र प्रक्रिया तोड्ने नाममा सरकार आफैं अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना नगर्नसमेत आग्रह गरे । आङ्देम्बेले प्रधानमन्त्री शाहको संसदीय व्यवहारले नयाँ पुस्तालाई कस्तो संसदीय अभ्यास र मर्यादाको सन्देश दिने भन्ने प्रश्नसमेत उठाएका थिए ।
१४- सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका तर्फबाट विधेयक संसदमा दर्ता गरेको हो । विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। जसअनुसार ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको छ। यसअनुसार सामान्यतर्फ निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ६० वर्ष कायम हुने भए पनि ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले उमेर ५५ वर्ष नपुगेकै अवस्थामा समेत अवकाश पाउनेछन् । सेवा अवधि बाँकी रहेकै अवस्थामा ५५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने कर्मचारीको हकमा थप तीन वर्षको पदावधि पेन्सन प्रयोजनका लागि गणना गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । हालको निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्ष तोकिएको छ। प्रस्तावित व्यवस्थाले सेवा अवधि र उमेर दुवैलाई आधार बनाएर अवकाशको व्यवस्था गर्न खोजेको छ । विधेयकले निजामती कर्मचारीबाट गर्नुपर्ने काममा करार वा ज्यालादारी कर्मचारी नियुक्त गर्ने व्यवस्थामा पनि कडाइ गरेको छ । ऐनले तोकेको विशेष अवस्थाबाहेक निजामती कर्मचारीले गर्नुपर्ने कामका लागि ज्यालादारी वा करारमा कुनै व्यक्ति नियुक्त गर्न नपाइने प्रस्ताव गरिएको छ। ऐनविपरीत गरिएको नियुक्ति स्वतः बदर हुने व्यवस्था विधेयकमा छ । त्यसरी गैरकानुनी रूपमा नियुक्त गरिएको व्यक्तिले प्राप्त गरेको तलब, भत्ता तथा अन्य सुविधा नियुक्ति गर्ने अधिकारीबाटै असुलउपर गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । विधेयकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका उच्च पदमा रहने कर्मचारीको पदावधिसमेत तोकिएको छ । मुख्यसचिव तथा मुख्य रजिस्ट्रार रहने अधिकृत चौधौँ तहको पदावधि दुई वर्ष हुने प्रस्ताव गरिएको छ। त्यस्तै सचिव वा सोसरहका तेह्रौँ तहका अधिकृतको पदावधि तीन वर्ष तोकिएको छ । विशिष्ट श्रेणीका कर्मचारीको हकमा पदावधि पूरा हुनु वा ६० वर्ष उमेर पुग्नुमध्ये जुन पहिले हुन्छ, त्यसैका आधारमा अवकाश हुने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्थाअनुसार ३० वर्ष सेवा पूरा गरेका तर ५५ वर्ष उमेर नपुगेका कर्मचारीसमेत अनिवार्य अवकाशमा जानेछन् । सरकारले लामो समयदेखि सेवा गरिरहेका कर्मचारीको व्यवस्थापन गर्दै नयाँ जनशक्तिका लागि अवसर सिर्जना गर्ने उद्देश्यले यस्तो व्यवस्था अघि सारेको जनाएको छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको थियो। लोक सेवा आयोगबाट प्राप्त सुझावसमेत समेटेर विधेयक संसदमा दर्ता गरिएको हो ।
१५- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । हालै प्रधानमन्त्री शाहको अमेरिका भ्रमणका क्रममा उनले एक मात्र विदेशी राष्ट्र प्रमुख अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजसँग भेटवार्ता गरेका थिए ।
१६- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो । संघीय संसद्को चालु अधिवेशन गत बैशाख २८ गतेदेखि सुरु भएको थियो । संबैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा अधिवेशन बोलाउने र अन्त्य गर्ने प्रावधान रहेको छ ।
१७- जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुँदा त्यसमा सवार चार यात्रु र दुई चालक दलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेके पनि रहेका छन् । चिवायोलाई जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङाग्वाका निकट व्यक्ति मानिन्थ्यो । हेलिकप्टर राजधानी हरारेबाट करिब ७० किलोमिटर पूर्वमा रहेको मरोन्डेरा क्षेत्रमा दुर्घटनामा परेको हो । प्रहरीले स्थानीय समय अनुसार बुधबार साँझ करिब ५ बजे दुर्घटनाबारे जानकारी पाएको जनाएको छ ।
दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ । चिवायो ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजनामा काम गर्ने कम्पनी इन्ट्राट्रेक जिम्बाब्वेका संस्थापक थिए । उनी ग्वान्डा सौर्य परियोजनालगायत सरकारी ठेक्काका कारण पनि चर्चामा आएका थिए । चिवायो आफ्नो विलासी जीवनशैली र सामाजिक सञ्जालमा राख्ने सामग्रीका कारण पनि परिचित थिए । उनले महँगा कार तथा विलासी हेलिकप्टरसँग खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए ।
चिवायोको व्यवसाय र राजनीतिक सम्बन्धलाई लिएर समय–समयमा प्रश्नसमेत उठ्ने गरेका थिए । उनले राष्ट्रपति मनाङाग्वासँग भएका भेटघाटका तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका थिए । उनी दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, केन्याका राष्ट्रपति विलियम रुटो, तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन र इस्वाटिनीका राजा मस्वाती तृतीयलगायतका नेताहरूसँग पनि भेट गरिसकेका थिए ।
१८- क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका छन् । टोलीका प्रशिक्षक जर्ज जेसुसले रोनाल्डोसँग कुनै विवाद नरहेको बताएपछि उनले आफूले शिविर छाड्नुको कारण समय आएपछि सार्वजनिक गर्ने बताएका छन् । यसअघि पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । तर जेसुसले रोनाल्डो र आफूबीच कुनै विवाद नभएको स्पष्ट पारेका थिए । रोनाल्डोले यसै वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे सोच बनाएको भए पनि आफ्नो खेलजीवनमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण निरन्तरता दिने निर्णय गरेका थिए ।
उनी यसपटकको अन्तर्राष्ट्रिय विश्रामका लागि जेसुसले घोषणा गरेको २५ सदस्यीय टोलीमा परेका थिए र वेल्सविरुद्धको पहिलो राष्ट्रसंघीय खेलमा सुरुवाती टोलीमै खेलेका थिए । तर आइतबार ओस्लोमा नर्वेविरुद्ध पोर्चुगल २–१ ले विजयी हुँदा रोनाल्डो मैदानमा उत्रिएनन् । खेल सकिएपछि उनी आफ्ना सहकर्मीसँग दर्शकतर्फ जानुको सट्टा सिधै खेलाडी परिवर्तन गर्ने कक्षतर्फ गएका थिए । त्यसपछि उनी प्रशिक्षकसँग असन्तुष्ट रहेको समाचारहरू आएका थिए । डेनमार्कविरुद्ध आजराती हुने नेसन्स लिगको खेलअघि सञ्चारकर्मीसँग कुरा गर्दै जेसुसले रोनाल्डोसँग कुनै घटना नभएको बताए । उनले लामो समयसम्म खेलमा प्रवेश गर्ने तयारी गरेर पनि मैदानमा खेल्न नपाउँदा कुनै पनि खेलाडी खुसी नहुने बताएका थिए ।
जेसुसका अनुसार नर्वेविरुद्धको खेलअघि नै उनले रोनाल्डोलाई सुरुवाती टोलीमा नराख्ने र आवश्यक परेपछि खेलाउने जानकारी दिएका थिए । तर पछि आफूले उनलाई मैदानमा नउतार्ने निर्णय गरेको जेसुसले बताए । रोनाल्डोले मंगलबार प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको भन्ने समाचार पनि जेसुसले खारेज गरेका थिए । उनका अनुसार रोनाल्डोले शारीरिक चलायमानता र बलियो बनाउने अभ्यास गर्नुपर्ने भएकाले छुट्टै अभ्यास गरेका थिए र बुधबार नियमित रूपमा टोलीसँग प्रशिक्षण गर्ने योजना थियो । तर डेनमार्कमा पोर्चुगलको टोली मैदानमा अभ्यास गरिरहेका बेला रोनाल्डो सहकर्मीसँग देखिएनन् । पोर्चुगलका सञ्चारमाध्यमले उनलाई पार्केन रंगशालाबाट टोलीका दुई कर्मचारीसँगै बाहिरिँदै गरेको भिडिओ सार्वजनिक गरेका थिए । त्यसपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेको घोषणा गरेका थिए ।
उनले पोर्चुगल फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि टोली छाड्ने निर्णय गरेको र आफूले छाड्नुको कारणबारे समय आएपछि पोर्चुगलका नागरिकलाई सत्य बताउने उल्लेख गरेका छन् । उनले आगामी खेलका लागि आफ्ना सहकर्मीलाई शुभकामना पनि दिएका छन् । नर्वेविरुद्ध पोर्चुगलको जितमा गोन्कालो रामोसले निर्णायक गोल गरेका थिए । जेसुसले डेनमार्कविरुद्ध पनि रामोसलाई रोनाल्डोभन्दा प्राथमिकता दिने संकेत गरेका थिए । उनले आवश्यक परे रोनाल्डोलाई मैदानमा उतार्ने, आवश्यकता नपरे नउतार्ने बताएका थिए । पोर्चुगल फुटबल महासंघले पनि रोनाल्डोले प्रशिक्षण शिविर छाडेको पुष्टि गरेको छ । महासंघका अनुसार डेनमार्क र नर्वेविरुद्ध हुने दुई खेलका लागि बाँकी २४ खेलाडीले पूर्वनिर्धारित योजनाअनुसार तयारी जारी राख्नेछन् । टोलीको सम्पूर्ण ध्यान आगामी खेल र निर्धारित लक्ष्य हासिल गर्नमा केन्द्रित रहेको महासंघले जनाएको छ ।
यसैबीच रोनाल्डोकी बहिनी एल्मा एभेइरोले सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै रोनाल्डोले अझ बढी सम्मान पाउनुपर्ने बताएकी छन् । उनले सन्देशमा भनकी छन्- ‘क्रिस्टियानो रोनाल्डोले अझ बढी सम्मान पाउनुपर्ने थियो । राष्ट्रिय टोलीले अझ व्यवस्थित संरचना पाउनुपर्ने थियो ।’ त्यस्तै, पोर्चुगलका सञ्चारमाध्यमले पनि बढी जिम्मेवार र सक्षम पत्रकारिता गर्नुपर्ने र अनुमानमा आधारित समाचारलाई कम प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ । सन्देशमा पोर्चुगलका नागरिकप्रति भने कडा टिप्पणी गरिएको छ । ‘पोर्चुगलका मानिसहरू कुनै पनि क्षेत्रमा उत्कृष्ट व्यक्तिलाई स्वीकार गर्न योग्य छैनन् । हामी ईर्ष्यालु, तिरस्कारपूर्ण र अज्ञानी छौँ,’ सन्देशमा भनिएको छ । त्यसमा रोनाल्डोको आगमनअघि पोर्चुगलको फुटबलमा रहेको औसत अवस्थामै देश फर्किनुपर्ने अवस्था आउन सक्ने टिप्पणीसमेत गरिएको छ । अन्त्यमा रोनाल्डोलाई धन्यवाद दिँदै ‘तिमीले अझ धेरै सम्मान पाउनुपर्ने थियो’ भनिएको छ । एल्माले यही सन्देशलाई आफ्नो सामाजिक सञ्जालमा साझा गर्दै ‘यहाँ सबै कुरा भनिएको छ’ भन्दै समर्थन गरेकी हुन् ।
१९- नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि हाल कायम रहेको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा, हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको र स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ । भोटेकोशीमा आएको असाधारण बाढीपहिरोबाट सिर्जित परिस्थिति, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको असोज १४ गतेको निर्णयअनुसार असोज १५ गते बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिइएको हो । निगमका अनुसार काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम छ।
आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँ यथावत् छ । हाल पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ। डिजेल तथा मट्टितेलको मूल्य पनि क्रमशः १९७ रुपैयाँ ५० पैसा, १९९ रुपैयाँ र २०० रुपैयाँ रहेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन् । निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यास उद्योगबाट ५० किलोमिटरसम्मका लागि यी मूल्य लागू हुनेछन् । निगमले मूल्य यथावत राख्दा पनि हालको अवस्थामा पाक्षिक करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरेको छ ।
२०- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले दक्षिण–पश्चिम इंग्ल्यान्डको एक गाउँमा शाही वायुसेनाको अड्डानजिक भएको घटनामा इरानको भूमिका रहेको बेलायतको विश्वास रहेको बताएका छन् । घटनाबारे बेलायतको आतंकवादविरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार प्रहरीले करिब २० वर्ष उमेर समूहका पाँच बेलायती नागरिकलाई पक्राउ गरेको थियो । शाही वायुसेनाको फेयरफोर्ड अड्डानजिकै रहेको विलफोर्ड गाउँमा सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । त्यसपछि पाँचै जनालाई पक्राउ गरिएको थियो । उनीहरूलाई पछि कडा सर्तसहित जमानतमा रिहा गरिएको छ ।
फेयरफोर्ड अड्डामा ठूलो संख्यामा अमेरिकी वायुसेनाका सैनिक तथा सैन्य गतिविधि हुँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत पक्राउ परेका संदिग्धलाई जमानतमा रिहा गरिएको विषयमा प्रश्न उठाएका छन् । बर्नहमले पत्रकारहरूसँग कुरा गर्दै घटनामा इरानको भूमिका रहेको बलियो संकेत देखिएको बताएका छन् । यद्यपि उनले यो जटिल र अत्यन्त गम्भीर अनुसन्धान भएकाले यसबारे थप विवरण दिन नसकिने बताए । बर्नहमले आफूले सोमबार मन्त्रिपरिषद् कार्यालयमा आपत्कालीन बैठकको अध्यक्षता गरेको जानकारी दिए । उक्त बैठकलाई ‘कोब्रा बैठक’ भनिन्छ । उनले सरकारले घटनासम्बन्धी कुन सूचना सार्वजनिक गर्न सकिन्छ भन्ने पुष्टि हुन पर्खिरहेको बताएका थिए ।
अहिले भने घटनामा इरानको भूमिका रहेको सरकारको विश्वास रहेको पुष्टि गर्न सकिने उनले बताए । तर इरानले घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट रूपमा अस्वीकार गरेको छ । लन्डनस्थित इरानी दूतावासले घटनालाई ‘इरानलाई लिएर डर फैलाउने प्रयास’ भनेको छ । घटनाको गम्भीरताका बाबजुद पक्राउ परेका पाँच जनालाई किन जमानतमा छाडियो भन्ने प्रश्नमा बर्नहमले उनीहरूलाई रिहा गरिनुको अर्थ सामान्य रूपमा बुझिने किसिमको रिहाइ नभएको बताए । उनीहरूलाई अत्यन्त कडा सर्तसहित जमानतमा छाडिएको उनको भनाइ छ ।
अधिकारीहरूले घटनामाथि पूर्ण निगरानी राखिरहेको र अनुसन्धानमा उनीहरूको कडा नियन्त्रण रहेको पनि बर्नहमले बताए । यसबीच ‘द टाइम्स’ले पक्राउ परेका पाँच संदिग्धमध्ये एक जनाले घटनाभन्दा करिब एक घण्टाअघि नै स्वयं अधिकारीहरूसँग सम्पर्क गरेको समाचार प्रकाशित गरेको छ । बेलायतको आतंकवादविरोधी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। मंगलबार प्रहरीले वायुसेना अड्डानजिक रोकिएका सवारीसाधनमा कुनै विस्फोटक उपकरण फेला नपरेको जनाएको थियो । यद्यपि ती सवारीसाधनबाट केही मात्रामा पेट्रोल भने बरामद गरिएको प्रहरीले जनाएको छ । फेयरफोर्ड वायुसेना अड्डालाई पछिल्ला महिनामा अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण गर्न प्रयोग गरेको बताइएको छ । यसै साता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि घटनामा ‘स्पष्ट रूपमा कुनै विदेशी पक्षको हात’ रहेको बताएका थिए। तर उनले त्यसबारे थप विवरण भने दिएका थिएनन् ।