काठमाडौं । अमेरिकामा अबको एक महिना पछि हुने मध्यावधि निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको आगामी राजनीतिक दिशा र वासिङ्टनमो शक्ति सन्तुलनबारे कस्तो प्रभाव पार्ला भन्ने विश्वको चासो बढेको छ । आगमी नोभेम्बर ३, २०२६ मा हुने निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिटका साथै सिनेटका निर्वाचन हुने सिटहरूका लागि मतदान हुनेछ ।
मध्यावधि निर्वाचनमा राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुँदैनन् । तर, राष्ट्रपतिको दलले संसदका दुई सदनमा कस्तो समर्थन कायम राख्छ भन्ने विषयले आगामी दुई वर्षमा सरकारका नीति, बजेट, नियुक्ति र कार्यकारी निगरानीमा ठूलो प्रभाव पार्न सक्छ । अहिले रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत राखेको छ । सिनेटमा रिपब्लिकनका ५३, डेमोक्र्याटका ४५ र स्वतन्त्र दुई सदस्य छन् । दुवै स्वतन्त्र सिनेटर डेमोक्र्याटसँग ककस गर्छन् ।
दुई सदन किन महत्वपूर्ण छन् ?
अमेरिकी संसद अर्थात् कांग्रेस दुई सदनबाट बनेको छ । प्रतिनिधिसभा र सिनेट । यसको संरचना अमेरिकी संविधान निर्माणका क्रममा ठूलो र सानो राज्यबीच भएको राजनीतिक समझदारीको परिणाम हो ।
प्रतिनिधिसभामा राज्यको जनसंख्याका आधारमा प्रतिनिधि संख्या निर्धारण हुन्छ । यसको सबै ४३५ सिटमा प्रत्येक दुई वर्षमा निर्वाचन हुन्छ । सिनेटमा भने प्रत्येक राज्यबाट दुई जना गरी १०० सदस्य हुन्छन् । सिनेटरको कार्यकाल ६ वर्षको हुन्छ र सबै सदस्य एकैपटक निर्वाचित हुँदैनन् । सिनेटलाई तीन वर्गमा विभाजन गरिएको छ । जस अनुसार करिब एकतिहाइ सिटमा प्रत्येक दुई वर्षमा निर्वाचन हुन्छ । सन् २०२६ मा क्लास–२ का नियमित सिटहरू निर्वाचनमा छन् ।

हाउस र सिनेटको अधिकार किन फरक

अमेरिकी कानुन निर्माण प्रक्रियामा दुवै सदनको भूमिका हुन्छ । कुनै विधेयक कानुन बन्न सामान्यत: प्रतिनिधिसभा र सिनेट दुवैबाट पारित हुनुपर्छ र त्यसपछि राष्ट्रपतिसमक्ष जान्छ ।
प्रतिनिधिसभासँग राजस्वसम्बन्धी विधेयक सुरु गर्ने र संघीय अधिकारी माथि महाभियोगको अभियोग लगाउने अधिकार हुन्छ । राष्ट्रपतीय निर्वाचनमा कुनै उम्मेदवारले इलेक्टोरल कलेजमा बहुमत नपाए विशेष अवस्थामा राष्ट्रपतिको चयन पनि प्रतिनिधिसभाबाट हुन्छ ।

सिनेटले भने राष्ट्रपतिका महत्वपूर्ण नियुक्तिहरूमा सल्लाह र सहमति दिने अधिकार राख्छ । क्याबिनेट सदस्य, राजदूत र संघीय न्यायाधीश लगायत उच्च पदमा नियुक्ति गर्दा सिनेटको भूमिका हुन्छ । अन्तर्राष्ट्रिय सन्धि अनुमोदनमा पनि सिनेटको विशेष अधिकार छ । महाभियोगको अभियोग प्रतिनिधिसभाले लगाए पनि त्यसको सुनुवाइ र दोषी ठहर गर्ने प्रक्रिया सिनेटमा हुन्छ ।
यसपटकको निर्वाचन किन विशेष चर्चामा ?
२०२६ को निर्वाचनलाई ट्रम्प प्रशासनको दुई वर्षको कार्यसम्पादन माथिको जनमत परीक्षणका रूपमा हेरिएको छ । पछिल्ला सर्वेक्षणहरूमा ट्रम्पको सार्वजनिक अनुमोदन कमजोर भएको देखिएको छ ।
वासिङ्टन पोस्टले सेप्टेम्बर ३० मा प्रकाशित गरेको विश्लेषणमा विभिन्न सर्वेक्षणहरूले केही प्रतिस्पर्धात्मक राज्यमा डेमोक्र्याटिक उम्मेदवारहरूलाई अग्रता देखाएको उल्लेख गरेको छ । सेप्टेम्बर ३० मा रोयटर्सले पनि ट्रम्पले आफ्नो आर्थिक उपलब्धि जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसकेको स्वीकार गरेको र इरान युद्ध तथा उच्च इन्धन मूल्यका कारण उपभोक्ता विश्वासमा दबाब परेको रिपोर्ट गरेको छ । यसले निर्वाचनको बहसमा अर्थतन्त्र, महँगी र इन्धनको मूल्यलाई महत्वपूर्ण मुद्दाका रूपमा अगाडि ल्याएको छ ।
इरान युद्धको प्रभाव कति पर्ला ?
मध्यावधि निर्वाचन अघिको अर्को ठूलो मुद्दा अमेरिकाको इरानसँग जारी युद्ध हो । युद्धका कारण विश्वव्यापी तेल बजारमा दबाब परेको छ । रोयटर्सका अनुसार सेप्टेम्बरमा इरानसँगको संघर्षका कारण तेलको मूल्य बढेको थियो । त्यस्तै होर्मुज जलडमरूमध्यसँग सम्बन्धित घटनाले ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको थियो ।
यही पृष्ठभूमिमा राष्ट्रपति ट्रम्पले द्ुई साता अघि मध्यावधि निर्वाचनलगत्तै युद्ध अन्त्य हुने घोषणा गरेका थिए । तर युद्ध तत्काल अन्त्य हुने निश्चितता भने देखिएको छैन । यसकारण इरान युद्धको अवधि, तेल तथा पेट्रोलियम पदार्थको मूल्य र युद्धमा सरकारको खर्चजस्ता विषय निर्वाचन अघिको अमेरिकी राजनीतिक बहसमा जोडिएका छन् ।
ट्रम्पको लोकप्रियता र रिपब्लिकनका लागि चुनौती
ट्रम्पको अनुमोदन दरमा आएको गिरावट पनि मध्यावधि निर्वाचन अघिको चर्चाको विषय बनेको छ । विभिन्न सर्वेक्षण र विश्लेषणले ट्रम्पप्रतिको जनमतमा आर्थिक अवस्था, महँगी र इरान युद्धको प्रभाव देखिएको उल्लेख गरेका छन् । तर सर्वेक्षणले मतदाताको तत्कालीन धारणा मात्र देखाउने भएकाले त्यसलाई निर्वाचन परिणामको निश्चित संकेतका रूपमा बुझ्न सावधानी आवश्यक हुन्छ ।
मध्यावधि निर्वाचनमा राष्ट्रपतिको नाम मतपत्रमा नहुने भए पनि अमेरिकी राजनीतिमा यस्ता निर्वाचनलाई वर्तमान राष्ट्रपतिको कार्यसम्पादनसँग जोडेर हेर्ने प्रचलन छ । त्यसैले कांग्रेसको नियन्त्रणका लागि हुने प्रतिस्पर्धामा ट्रम्पका नीति र उनको प्रशासनको प्रदर्शन प्रमुख राजनीतिक मुद्दा बन्ने देखिएको छ ।
कांग्रेसको नियन्त्रण बदलिए के हुन्छ ?
निर्वाचनपछि प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एकमा बहुमत परिवर्तन भएमा कांग्रेस र ह्वाइट हाउसबीचको शक्ति सम्बन्धमा परिवर्तन आउन सक्छ । प्रतिनिधिसभामा विपक्षी दलले बहुमत पाए समितिहरूको नेतृत्व परिवर्तन हुन सक्छ । त्यससँगै सरकारी कार्यक्रम, प्रशासनिक निर्णय र कार्यकारी शाखामाथिको अनुसन्धान तथा निगरानी बढ्न सक्छ ।
बजेट र विनियोजन सम्बन्धी विधेयकमा पनि प्रतिनिधिसभाको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारका आर्थिक प्राथमिकता कार्यान्वयन गर्न थप राजनीतिक वार्ता आवश्यक पर्न सक्छ ।
सिनेटको नियन्त्रण भने राष्ट्रपतिका उच्च तहका नियुक्ति र अन्य सिनेटीय प्रक्रियाका लागि विशेष महत्व राख्छ । त्यसैले दुई सदनमध्ये कुन दलले कहाँ बहुमत बनाउँछ भन्ने कुराले ट्रम्प प्रशासनको बाँकी कार्यकालको काम गर्ने वातावरणमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।
एक महिनापछि अमेरिकी मतदाताको फैसला
नोभेम्बर ३ को निर्वाचनमा अमेरिकी मतदाताले प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका लागि निर्धारित निर्वाचनमा मतदान गर्नेछन् । हाल कांग्रेसका दुवै सदनमा रिपब्लिकन बहुमतमा छन् । यसपटकको चुनावमा महँगी, रोजगारी, इन्धनको मूल्य, अर्थतन्त्र, आप्रवासन, इरान युद्ध र ट्रम्प प्रशासनको समग्र कार्यसम्पादनजस्ता विषय बहसका केन्द्रमा छन् ।
निर्वाचनपछि कांग्रेसको शक्ति सन्तुलन जस्तोसुकै बने पनि त्यसले अमेरिकी राष्ट्रपतिको बाँकी कार्यकालमा नीति निर्माण, बजेट, नियुक्ति र कार्यकारी निगरानीबीचको सम्बन्धलाई प्रभावित गर्नेछ । त्यसैले २०२६ को मध्यावधि निर्वाचन सांसद चयन गर्ने प्रक्रिया मात्रै नभई ट्रम्पको दोस्रो कार्यकालको बाँकी राजनीतिक यात्राका लागि महत्वपूर्ण संवैधानिक मोडका रूपमा हेरिएको छ ।