काठमाडौं। विपद् व्यवस्थापनमा निजी क्षेत्रले पुर्याउँदै आएको सहयोगको सरकारले उच्च तहबाट प्रशंसा गर्दै सम्मान गर्ने घोषणा गरेपछि नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले खोज, उद्धार, राहत तथा पुन:स्थापनामा पुर्याएको योगदानको प्रशंसा गरिएको थियो।
बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले विपद्का समयमा महत्वपूर्ण योगदान पुर्याउने निजी क्षेत्रलाई नेपाल सरकारका तर्फबाट सम्मान गरिने जानकारी दिएका थिए।
सरकारको यस घोषणाले निजी क्षेत्रलाई थप प्रोत्साहन मिलेको चेम्बरले जनाएको छ। विपद्का बेला निजी क्षेत्रले सरकारी संयन्त्रसँग समन्वय गर्दै राहत सामग्री, स्वास्थ्य सेवा, यातायात, स्रोत तथा अन्य आवश्यक सहयोग प्रभावित क्षेत्रमा पुर्याउँदै आएको चेम्बरको भनाइ छ।
विशेषगरी भोटेकोशीमा आएको बाढी तथा त्यसपछिका मनसुनजन्य विपद्का क्रममा गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको पहल र समन्वयलाई चेम्बरले सकारात्मक रूपमा लिएको छ। चेम्बरले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण, प्रभावित व्यवसायको पुन:स्थापना, आपूर्ति शृङ्खला सुचारु गर्ने तथा प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुन: सञ्चालनलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

त्यस्तै, विपद् व्यवस्थापनमा निजी क्षेत्रसँग नियमित संवाद र समन्वयका लागि गृह मन्त्रालयले स्पष्ट संयन्त्र बनाउनुपर्ने चेम्बरको माग छ। यस्तो संयन्त्रमार्फत निजी क्षेत्रसँग उपलब्ध स्रोत तथा क्षमताको पूर्वपहिचान गरी विपद्का बेला तत्काल परिचालन गर्न सकिने चेम्बरको विश्वास छ।

चेम्बरले विपद् व्यवस्थापन सरकारको मात्र नभई सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायको साझा दायित्व भएको उल्लेख गर्दै पूर्वतयारी, प्रभावकारी समन्वय र शीघ्र निर्णय प्रक्रियाबाट मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सकिने जनाएको छ।