काठमाडौं । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारीमा रहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले कैलालीको धनगढीबाट डा. आरजु राणा देउवालाई क्षेत्रीय प्रतिनिधि चयन गरेको छ ।
धनगढी उपमहानगरपालिका– ४ को वडा अधिवेशनबाट आरजु सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् । उनी लामो समयदेखि विदेशमा रहे पनि क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् ।
कांग्रेस नेता तथा धनगढी उपमहानगरपालिका– ३ का वडाध्यक्ष बुद्धि खड्काका अनुसार वडा अधिवेशनबाट आरजुसहित ५१ जना क्षेत्रीय प्रतिनिधि र १८ सदस्यीय वडा समिति चयन गरिएको छ ।
कांग्रेसको संस्थापनपक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाभन्दा अलग्गै देउवा समूहले समानान्तर रूपमा अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ । देउवा समूहले १५ असोजदेखि वडा अधिवेशन सुरु गरेको हो ।
यसैबीच, देउवा स्वयम् भने आफ्नो गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । उनी वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएर क्षेत्रीय प्रतिनिधि बनेका हुन् ।
