काठमाडौं । पूर्वरक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले देशको विकासका लागि सबैभन्दा पहिले राजनीति सुधार हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित ‘स्पेस एण्ड डिजाइन एक्स्पो–भोल्युम ६ र ७’ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानले राजनीतिक स्थिरता र राम्रो राजनीतिक वातावरणबिना देशले अपेक्षित विकास हासिल गर्न नसक्ने बताएका हुन् ।
उनले नेपालको राजनीति अस्थिर भएका कारण ठूलो संख्यामा युवा विदेशिन बाध्य भएको बताए । युवा पुस्ताले लाखौँ रुपैयाँ खर्च गरेर विदेश जाने गरे पनि त्यहाँ आफ्नो पहिचान बनाउन र स्थापित हुन निकै कठिन हुने उनको भनाइ थियो ।
प्रधानले युवालाई विदेश पलायन हुनुभन्दा नेपालमै आफ्नो भविष्य खोज्न र उद्यमशीलतातर्फ लाग्न आग्रह गरे ।

उनले देशमै अवसर सिर्जना गर्न सके युवा पुस्तालाई नेपालमै रोक्न सकिने उल्लेख गर्दै उद्यमशीलता र सिर्जनात्मक क्षेत्रमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।
प्रधानले युवाको सीप, क्षमता र सिर्जनशीलतालाई देशको विकासमा उपयोग गर्न सके आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुग्ने बताए ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा सुरु भएको ‘स्पेस एण्ड डिजाइन एक्स्पो–भोल्युम ६ र ७’ मा इन्टेरियर डिजाइन अध्ययनरत १०१ जना विद्यार्थी सहभागी छन् ।

दुई दिनसम्म सञ्चालन हुने एक्स्पोमा विद्यार्थीहरूले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका विभिन्न सिर्जनात्मक तथा व्यावसायिक डिजाइन प्रदर्शनमा राखेका छन् ।
एक्स्पोमा विद्यार्थीबीच विभिन्न विधामा डिजाइन प्रतियोगितासमेत आयोजना गरिएको छ । उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।