,
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- करिब १२ वर्षदेखि विभिन्न प्रक्रियागत समस्याका कारण अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको निर्णायक चरणमा पुगेको छ । मुआब्जा, जग्गा तथा अन्य प्रक्रियागत विषयका कारण लामो समयदेखि रोकिएको आयोजनालाई गति दिन निरन्तर पहल र सरोकारवालासँगको समन्वयपछि कामले गति लिन थालेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार हेटौंडा क्षेत्रमा निर्माण गर्न बाँकी १४ वटा टावरको काम अहिले अन्तिम चरणमा पुगेको छ । स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रशासन, सरोकारवाला तथा नेपाल विद्युत् प्राधिकरणको सक्रियताले आयोजनाले ठोस गति लिन थालेको उनले बताएका छन् । हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने अपेक्षा गरिएको छ।
यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न सहयोग पुग्नेछ । त्यस्तै, आयोजना सम्पन्न भएपछि अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न तथा वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिनसमेत महत्वपूर्ण योगदान पुग्ने बताइएको छ। यसबाट राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना थप विस्तार हुने अपेक्षा छ । मन्त्री श्रेष्ठले बाँकी काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन्। साथै, नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित शाखा तथा निकायलाई आवश्यक सहजीकरण र समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
आयोजना निर्माणलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रभावित नागरिक, नेपाल विद्युत् प्राधिकरणका व्यवस्थापन, प्राविधिक तथा कर्मचारी, निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायलाई मन्त्री श्रेष्ठले धन्यवाद दिएका छन् । उनले अब ढिलाइभन्दा गति, समन्वय र परिणाम आवश्यक रहेको भन्दै हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनलाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

२- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबारसम्म १ हजार ४५६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५४ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ७६ गरी कुल ३ हजार ४०६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४३० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

३- टेस्लाका प्रमुख इलन मस्क र न्युरालिंककी कार्यकारी शिवोन जिलिसबीच सम्बन्ध टुंगिएको छ । जिलिसले सामाजिक सञ्जाल एक्समार्फत मस्कसँग ब्रेकअप भएको पुष्टि गरेकी छन् । दुवैका चार सन्तान छन् । शुक्रबारको पोस्टमा जिलिसले मस्कले सम्बन्ध सुरु भएको एक सातामै आफूलाई प्रेम गर्ने बताएको भएपनि पछि अचानक सम्बन्ध तोडेको उल्लेख गरेकी छन् । आफूले ब्रेकअपबारे पहिले कुनै संकेत नपाएको पनि उनले बताएकी छन् । जिलिसले आफू सम्बन्ध टुटेकामा दुःखी भए पनि मस्कको अझै धेरै ख्याल गर्ने बताएकी छन् । आगामी दिनमा पनि दुवै असल साथीका रूपमा रहँदै आफ्ना सन्तानको संयुक्त रूपमा पालनपोषण गर्ने इच्छा उनले व्यक्त गरेकी छन् । मस्क र जिलिसका सन्तानमा जुम्ल्याहा स्ट्राइडर र एज्योर, छोरी अर्काडिया तथा छोरा सेल्डन लाइकर्गस छन् ।

जुम्ल्याहा सन्तानको जन्म २०२१ मा भएको थियो भने अर्काडियाको जन्म २०२४ मा र सेल्डनको जन्म २०२५ मा भएको बताइएको छ । मस्कको यसअघि जस्टिन विल्सनसँग विवाह भएको थियो । उनीहरूका सन्तानमध्ये एकको शिशु अवस्थामै मृत्यु भएको थियो भने अन्य पाँच सन्तान छन् । त्यसपछि मस्कले अभिनेत्री तालुलाह राइलसँग दुई पटक विवाह गरेका थिए । अभिनेत्री एम्बर हर्ड र गायिका ग्राइम्ससँग पनि उनको सम्बन्ध चर्चामा आएको थियो । ग्राइम्ससँग मस्कका तीन सन्तान छन् ।
उनीहरूको सम्बन्ध २०२२ मा टुंगिएको थियो । त्यसपछि मस्क र जिलिसबीचको सम्बन्ध सार्वजनिक भएको थियो । यसैबीच, अमेरिकी सामाजिक सञ्जाल प्रभावकारी तथा लेखिका एश्ले सेन्ट क्लेयरले २०२५ मा आफू मस्कको सन्तानकी आमा भएको दाबी गरेकी थिइन् । उनले सुरक्षाका कारण आफूले केही समयसम्म यो विषय सार्वजनिक नगरेको बताएकी थिइन् ।
४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी रे हार्मनीलाई ह्वाइट हाउसकी सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त गरेका छन् । हार्मनी यसअघि ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट हाउस संवाददाताका रूपमा कार्यरत थिइन् । उनले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन् । हार्मनीले सन् २०२५ को सेप्टेम्बरमा ‘रियल अमेरिकाज भ्वाइस’मा काम सुरु गरेकी थिइन् । त्यसअघि उनले इलिनोइसको स्प्रिङफिल्डमा समाचार प्रस्तोताका रूपमा काम गरेकी थिइन् । पछिल्लो समय उनी ह्वाइट हाउसका गतिविधि कभर गर्ने सञ्चारकर्मीको समूहमा नियमित रूपमा देखिँदै आएकी थिइन् र ट्रम्पसँग आयरल्यान्ड भ्रमणमा समेत सहभागी भएकी थिइन् ।
हार्मनीको नियुक्तिसँगै उनी पत्रकारिताबाट सिधै ट्रम्प प्रशासनको सञ्चार टोलीमा प्रवेश गरेकी छन् । ह्वाइट हाउसकी प्रधान उप प्रेस सचिव अन्ना केलीले हार्मनीको नियुक्तिको स्वागत गर्दै उनी सञ्चार टोलीको महत्वपूर्ण हिस्सा बन्ने बताएकी छन् । हार्मनीले पनि ट्रम्पले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गरेकी छन्। यसैबीच, ह्वाइट हाउसको प्रेस सचिव पद भने अझै रिक्त छ । पूर्वप्रेस सचिव क्यारोलिन लेभिटले अगस्टको अन्त्यमा पद छाडेपछि ट्रम्प प्रशासनले उनको स्थायी उत्तराधिकारी नियुक्त गरेको छैन। हार्मनीको नियुक्ति प्रेस सचिवको स्थायी प्रतिस्थापन भने होइन, उनी सहायक प्रेस सचिव र प्रवक्ताका रूपमा सञ्चार टोलीमा रहनेछिन् ।
५- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ । शनिबार, पार्टी कार्यालय बीपीनगर सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिले ३५ सय शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् । झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ । महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौँको खुलामञ्चमा हुनेछ । १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट ७५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुदैछन् ।
६- मालढुंगास्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणमा सडक विभागले तीव्रता दिएको छ । नदीको हालको सतहभन्दा करिब ८ मिटर तलसम्म सडकको भाग गहिरिएपछि विभागले आफ्ना सबै स्रोतसाधन प्रयोग गरी करिब ८ मिटर पुर्दै प्लेटफर्म तयार गरेको जनाएको छ । एप्रोच सडक निर्माणका लागि ठूलो मात्रामा माटो, ढुंगा र गिट्टी आवश्यक भए पनि पर्याप्त स्रोत उपलब्ध हुन नसक्दा कामले अपेक्षित गति लिन सकेको थिएन । सुरुमा करिब दुई किलोमिटर टाढाबाट निर्माण सामग्री ल्याइँदै आए पनि त्यहाँबाट सामग्री ल्याउन रोकिएपछि अहिले करिब १० किलोमिटर टाढाको पहिरोबाट निर्माण सामग्री ल्याउनुपर्ने अवस्था रहेको विभागले जनाएको छ । निर्माण सामग्रीको अभाव र ढुवानीमा आएको समस्याका कारण पुल सञ्चालनमा ल्याउने समय थपिँदै गएको विभागको भनाइ छ ।
स्थानीयस्तरमा समस्या समाधानका लागि निरन्तर प्रयास गरिए पनि हिजो दिनभर समस्या समाधान हुन नसकेको र आज बिहानदेखि केही सहज भएको जानकारी प्राप्त भएको विभागले जनाएको छ । विभागका अनुसार पर्याप्त निर्माण सामग्री र स्थानीय सहयोग उपलब्ध भएमा सात दिनभित्र पुल सञ्चालन गर्न सकिने अवस्थामा पुर्याउने लक्ष्य छ । तर काम गर्ने स्थान साँघुरो हुनुका साथै अग्लो पर्खाल निर्माण गर्नुपर्ने भएकाले निर्माण कार्य चुनौतीपूर्ण रहेको विभागले जनाएको छ । सडक विभागले निर्माण कार्य सहज रूपमा अघि बढाउन आवश्यक सहयोग गरिदिन सबै पक्षसँग आग्रह गरेको छ ।
७- पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । शुक्रबार दर्ता गरिएको विधेयकमा निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको नमुना डिजाइन तथा मापदण्डअनुसार घर निर्माणका लागि आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।
गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ । गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव विधेयकमा छ । विपत्, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि समेटिएको छ । मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ। २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने यस्ता घर ९ सयदेखि १ हजार ३ सय वर्गफिटसम्म क्षेत्रफलका हुने प्रस्ताव छ ।
यस्ता घर नागरिकले सहुलियतपूर्ण ऋणमार्फत प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । जसअनुसार ५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ, १० लाख अग्रिममा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्प प्रस्ताव गरिएको छ । निम्न आय भएका नागरिकको आवास सुनिश्चित गर्नेदेखि मध्यम आय भएका परिवारलाई सुरक्षित र व्यवस्थित घर उपलब्ध गराउनेसम्मका व्यवस्था समेटेर सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकारलाई कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले नयाँ भवन ऐन ल्याएको हो ।
८- भारतले एसियाली खेलकुद २०२६ अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ । जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा शनिबार भएको फाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले २८ बलमा ६१ रन बनाए भने तिलक वर्माले २२ बलमा अविजित ५१ रन जोडेका थिए । त्यस्तै शिवम दुबेले १५ बलमा २७ रन बनाए । २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले जवाफी ब्याटिङमा संघर्ष गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएको थियो । पाकिस्तानका लागि हसन नवाजले ९६ रन बनाएका थिए । भारतले खेल आफ्नो पक्षमा पार्दै पुरुष क्रिकेटको स्वर्ण पदक हात पारेको हो । यो भारतको एसियाली खेलकुद पुरुष क्रिकेटमा लगातार दोस्रो स्वर्ण हो। भारतले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा पनि स्वर्ण जितेको थियो । त्यस्तै पाकिस्तानले हारसँगै एशियाली खेलकुदमा रजत पदक जितेको छ । यस प्रतियोगितामा श्रीलंकाले बंगलादेशलाई हराउँदै कांस्य पदक जितेको थियो ।
९- तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण करिब डेढ दशकपछि अघि बढ्ने भएको छ । २०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि अलपत्र थियो । समस्या पहिचान गरी प्रतिवेदन पेस भए पनि लामो समयसम्म प्राविधिक समाधान हुन नसक्दा आयोजना रुग्ण बनेको थियो । पूर्वाधार विकास मन्त्रालयको पहलमा असोज ७ गते निर्माण व्यवसायी, परामर्शदाता र सडक विभागअन्तर्गतको पुल महाशाखाबीच संयुक्त बैठक बसेर समस्या समाधानको प्रक्रिया अघि बढाइएको हो । मन्त्रालयले मूल विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने परामर्शदातालाई प्राविधिक समस्या पुनरावलोकन गरी आवश्यक समाधान प्रस्ताव गर्न सहजीकरण गरेको छ । प्राविधिक समस्या समाधानतर्फ प्रक्रिया अघि बढेसँगै पुलको निर्माण पुनः तीव्र बनाउने आधार तयार भएको मन्त्रालयले जनाएको छ । हाल पुलको मुख्य बाँकी काम स्टिल ट्रस जडान रहेको छ। प्राविधिक समस्या समाधान गरी निर्माणलाई गति दिँदै २०८३ सालको अन्त्यसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१०- आपूर्ति अभावका कारण इन्धनको मूल्य बढेपछि जी–७ राष्ट्रहरूले करिब १० करोड ब्यारेल कच्चा तेल र डिजेल बजारमा ल्याउने निर्णय गरेका छन् । जी–७ को संयुक्त वक्तव्यअनुसार आपूर्ति तत्काल सुरु हुनेछ र चार महिनासम्म चल्नेछ । पहिलो २० दिनमै ठूलो परिमाणमा डिजेल बजारमा ल्याइनेछ भने आवश्यकताअनुसार थप डिजेल पनि बजारमा पठाइनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि जी–७ को यो निर्णय आएको हो । जी–७ सदस्य राष्ट्रबीच ऊर्जा तथा ऊर्जा उत्पादनमा निर्यात प्रतिबन्ध नलगाउने सहमति पनि भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले अन्तर्राष्ट्रिय ऊर्जा निकायको समन्वयमा चार महिनाभित्र १० करोड ब्यारेलसम्म इन्धन भण्डारबाट निकालिने बताएका छन् ।
यसबाट विशेषगरी डिजेलको मूल्य घटाउन र आपूर्ति सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जी–७ ले रिफाइनरीहरू एकै समयमा बन्द नहुने गरी मर्मत तालिका समन्वय गर्ने तथा सम्भव भएका मुलुकलाई डिजेल प्रशोधन बढाउन प्रोत्साहित गर्ने निर्णयसमेत गरेको छ । अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाएमा इन्धन आयातमा निर्भर मुलुकमा थप दबाब पर्ने अवस्था थियो । विशेषगरी बेलायतजस्ता मुलुकमा यसको असर पर्ने देखिएको थियो । जी–७ को निर्णयसँगै अमेरिकी डिजेल निर्यातमा प्रतिबन्ध नलगाउने सहमतिले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेल तथा प्रशोधित डिजेलको आपूर्ति प्रभावित भइरहेका बेला रुसले समेत आफ्नै डिजेल निर्यातमा प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा जी–७ को समन्वित रूपमा इन्धन भण्डार बजारमा ल्याउने निर्णयले विश्व बजारमा आपूर्ति अभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
११- काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन विजेता जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई अनुबन्ध गरेको छ । अली यस सिजनका लागि बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ । बायाँ हाते ब्याटर र अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडी थिए । उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए। सन् २०२२ मा अस्ट्रेलियामा भएको टी२० विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए । यस सिजनका लागि जनकपुर बोल्ट्समा ललित राजवंशी (मार्की खेलाडी), अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । अक्सनबाट सन्तोष कार्की, रित गौतम, आशुतोष पाण्डे, विशाल सुस्लिंग राई, अभिषेक तिवारी, बिशाल पटेल, तृतराज दास, अमर सिंह राउतेलालाई अनुबन्ध गरेको थियो ।
१२- नागरिक उड्डयन सेवाको नियमन र सेवा प्रदायकको काम छुट्टाछुट्टै संस्थाबाट सञ्चालन गर्ने उद्देश्यसहित नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गराएका हुन् । दुवै विधेयक पारित भएपछि हालको नागरिक उड्डयन प्राधिकरणलाई छुट्टाछुट्टै संस्थामा विभाजन गर्ने बाटो खुल्नेछ । मन्त्री पौडेलका अनुसार नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास तथा विस्तार गर्न, गैरकानुनी हस्तक्षेप रोक्न र प्रभावकारी नियमनमार्फत हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन छुट्टाछुट्टै विधेयक ल्याइएको हो ।
नयाँ ऐन जारी भएपछि हवाई यातायातजस्तो यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्रमा नियमनकारी र सेवाप्रदायक कार्य छुट्टाछुट्टै संस्थाबाट सञ्चालन हुने मन्त्री पौडेलले बताएका छन् । यसबाट विद्यमान स्वार्थको द्वन्द्व अन्त्य हुनुका साथै एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालनलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसार थप प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । प्रस्तावित कानुनी व्यवस्थाले नेपालको नागरिक उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा युरोपियन युनियनबाट उठाइँदै आएको उडान सुरक्षा चासो सम्बोधन गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ। नागरिक उड्डयन क्षेत्रमा भइरहेका कार्य विशिष्टीकृत रूपमा सञ्चालन हुँदा सेवाको गुणस्तरसमेत बढ्ने मन्त्री पौडेलले बताएका छन् । उनका अनुसार सेवा प्रवाहमा चुस्तता र व्यावसायिकता आउने तथा सम्बन्धित कर्मचारी थप उत्प्रेरित भएर काम गर्ने भएकाले उडान र विमानस्थल सञ्चालनको गुणस्तर बढ्नेछ। चुस्त संगठनका कारण जिम्मेवारीका काम छिटो र व्यवस्थित रूपमा सम्पन्न हुने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालको विमानस्थल र एयर नेभिगेसन संरचना कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
१३- नेपाली कांग्रेसले आइतबारदेखि शुरु हुने १५औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बासको व्यवस्था नगर्ने भएको छ । पार्टीले खाजा र खानाको व्यवस्था गर्ने तर बासको व्यवस्था भने प्रतिनिधि आफैंले गर्नुपर्ने भएको हो । आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा देशभरबाट ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले शुक्रबारसम्म ७ हजार २८ महाधिवेशन प्रतिनिधि चयन भइसकेको जानकारी दिएका छन् । त्यस बाहेक सभापतिबाट मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट प्रतिनिधि चयन हुन बाँकी रहेको छ । महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा नै हुनेछ । महाधिवेशन प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ । बिहान खाजा, दिउँसो खाना र बेलुकाको खाजा भृकुटीमण्डपमा हुने गरी तयारी गरिएको छ । प्रतिनिधिका लागि सुन्धारा, ठमेल, नयाँ बसपार्क, कलंकी, एयरपोर्टलगायत क्षेत्रका होटलहरूसँग पार्टीले समन्वय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाले जानकारी दिएका छन् । काँग्रेसको महाधिवेशनमा अहिलेसम्मकै धेरै प्रतिनिधि सहभागी हुँदैछन् । १४औं महाधिवेशनसम्म ४ हजार ७ सय हाराहारी प्रतिनिधि सहभागी हुँदै आएका थिए । विगतमा प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो भने अहिले ३३ जनाका दरले आउने व्यवस्था गरिएकाले प्रतिनिधिको संख्या बढेको हो ।
१४- दुबईबाट तेलअविवतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानमा कप्तान स्मित मच्छारमाथि भएको आक्रमणको अनुसन्धान अघि बढ्दै गर्दा सहपाइलटको विगतबारे नयाँ विवरण सार्वजनिक भएका छन् । अनुसन्धानपछि सार्वजनिक भएका विवरणअनुसार ओमानी सहपाइलटको पहिचान हमाम अलहमामीका रूपमा गरिएको छ । उनी केही समय सिरियामा बसेको र त्यहाँ रहँदा कथित रूपमा अतिवादी विचारबाट प्रभावित भएको दाबी गरिएको छ । अनुसन्धानसँग सम्बन्धित दाबीमा उनी अलकायदाको विचारधाराबाट प्रभावित भएको उल्लेख भए पनि यसबारे अनुसन्धान अझै जारी रहेको बताइएको छ ।
रिपोर्टअनुसार अलहमामीले ओमानबाहिर लामो समय बिताएका थिए । सिरियामा रहँदा केही धार्मिक व्यक्तिसँग उनको सम्पर्क भएको र त्यही क्रममा उनका कट्टरपन्थी विचार थप बलियो भएको दाबी गरिएको छ । अनुसन्धान निकायले सिरियामा उनको बसाइ र त्यहाँ बनेका सम्पर्कबारे समेत छानबिन गरिरहेको बताइएको छ । सहपाइलटको पुरानो उड्डयन अभिलेखले पनि अनुसन्धानलाई थप गम्भीर बनाएको छ । रिपोर्टहरूमा ओमानमा उनको कथित अतिवादी विचारलाई लिएर पहिले नै चिन्ता व्यक्त गरिएको र उनलाई उडानबाट रोकिएको दाबी गरिएको छ । एक विवरणअनुसार सन् २०२४ मा ओमान एयरले उनलाई उडानबाट हटाएको थियो । उनले कथित रूपमा कट्टरपन्थी इस्लामसँग सम्बन्धित वेबसाइट हेरेको दाबी पनि गरिएको छ ।
अन्य रिपोर्टमा उनलाई तालिमबाट समेत हटाइएको उल्लेख छ । त्यसपछि उनी दुबई गएको र पछि फ्लाईदुबईमा आबद्ध भएको बताइएको छ । यससँगै पुरानो अभिलेखमा सुरक्षा चासो देखिएपछि पनि उनी यात्रुवाहक विमानको सहपाइलट कसरी बने भन्ने प्रश्न अनुसन्धानको प्रमुख विषय बनेको छ । ३० सेप्टेम्बरमा फ्लाइट एफजेड१०७३ दुबईबाट तेलअविवतर्फ उडिरहेको थियो। सोही क्रममा सहपाइलटले ककपिटभित्र कप्तान स्मित मच्छारमाथि आक्रमण गरेका थिए । आक्रमणपछि विमान तीव्र गतिमा तल झर्न थालेको थियो र केही समयमै करिब १४ हजार फिट तल पुगेको थियो । गम्भीर रूपमा घाइते भएका मच्छारले त्यस अवस्थामा पनि ककपिटको ढोका खोलिदिएका थिए । त्यसपछि यात्रु र चालक दलका सदस्य ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएका थिए । विमानमा रहेका अन्य दुई पाइलटले पनि विमानको नियन्त्रण सम्हाल्न सहयोग गरेका थिए । त्यसपछि विमानलाई साउदी अरबको तबुकमा आकस्मिक अवतरण गराइएको थियो ।
विमानमा १७४ यात्रु सवार रहेको र सबै यात्रु सुरक्षित रहेका थिए । अनुसन्धानसँग सम्बन्धित दाबीमा सहपाइलटले सोधपुछका क्रममा विमानलाई इस्राइलमा खसाल्ने योजना रहेको कथित रूपमा बताएको विभिन्न रिपोर्टमा उल्लेख छ । विमान तेलअविवतर्फ गइरहेको अवस्थामा यो दाबीलाई अनुसन्धानमा गम्भीर रूपमा हेरिएको छ । यद्यपि विमान कब्जामा लिएर जानाजान खसाल्ने उद्देश्य थियो वा थिएन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ । अनुसन्धानमा सहपाइलटको सिरिया बसाइ, त्यहाँका सम्पर्क, कथित अतिवादी विचार, पुरानो उड्डयन अभिलेख र फ्लाईदुबईमा भएको नियुक्तिलाई जोडेर हेरिएको छ ।
१५- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोड, दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ । बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । अन्य पाँच जना मृतकको विवरण भने खुल्न बाँकी रहेको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१६- पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । पोखरा–३०, ढुंगेपाटनस्थित केन्द्रीय कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभाले उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलद्वारा प्रस्तुत बजेट स्वीकृत गरेको हो । विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । सभाले विश्वविद्यालयको विद्यमान नियमावलीमा आवश्यक संशोधन गर्दै मानविकी तथा सामाजिक शास्त्र संकायलाई पुनर्गठन गरी ‘मानविकी, सामाजिक शास्त्र तथा कानुन संकाय’ स्थापना गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा विस्तार गरिएको कार्यलाई अनुमोदन गरिएको छ। बीई मेकानिकल, बीआईसीए, बीबीए फाइनान्सलगायत विभिन्न कार्यक्रमको उपाधि निर्धारण तथा विशेष मौका परीक्षा सञ्चालन गर्नेसमेत सभाले स्वीकृति दिएको छ।
सभालाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालयहरूले आफ्नो विशिष्टताका आधारमा छुट्टै पहिचान निर्माण गर्नुपर्ने बताए । उनले पोखरा विश्वविद्यालयले गण्डकी प्रदेशको सम्भावनाअनुसार साहसिक पर्यटनलगायत नयाँ क्षेत्रमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । परीक्षा र नतिजा समयमै प्रकाशन गर्न, छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गर्न तथा विद्यार्थीबाट लिइने शुल्कअनुसार प्रयोगशाला, पुस्तकालयलगायतका शैक्षिक सुविधा सुनिश्चित गर्न उनले विश्वविद्यालय प्रशासनलाई निर्देशन दिए । नयाँ नीति तथा कार्यक्रममार्फत पोखरा विश्वविद्यालयले डिजिटल सेवा, गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र रोजगारमुखी शिक्षालाई जोड दिँदै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।
१७- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा डा. वाग्ले शुक्रबार राति अमेरिका प्रस्थान गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अर्थ मन्त्रालयका अनुसार भेटवार्तामा द्विपक्षीय सहायता अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ । साथै भदौ १० गतेको भोटेकोशी बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहयोग जुटाउने विषयमा पनि वाग्लेले विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्ने बताइएको छ । साथै, सडक र विद्युत् प्रसारण लाइनलगायत आर्थिक रूपमा महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी आकर्षित गरी रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने उपायबारे पनि प्रतिनिधिमण्डलले छलफल गर्ने अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिएका छन् ।
१८- नेसन्स लिग अन्तर्गतको खेलमा फ्रान्स र इटालीले १–१ गोलको बराबरीमा रोकिएका छन् भने बेल्जियमले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । पेरिसस्थित स्टेड डे फ्रान्समा भएको खेलमा फ्रान्सले ५५औँ मिनेटमा माइकल ओलिसेको गोलमार्फत अग्रता लिएको थियो । रायन चेर्कीको छोटो फ्रिकिकमा प्राप्त बललाई ओलिसेले उत्कृष्ट प्रहार गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर इटालीका एलेसान्द्रो बास्तोनीले फ्रान्सको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । खेलको अन्तिम समयमा फ्रान्सका डयोट उपामेकानो रातो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । अर्को खेलमा बेल्जियमले टर्कीमाथि ३–० को सहज जित निकालेको छ । बेल्जियमका केभिन डे ब्रुइनले दुई गोल गरे भने रोमेलु लुकाकुले एक गोल थपेका थिए । समूह ‘ए’ को पहिलो स्थानमा फ्रान्स ७ अंकसहित रहेको छ । बेल्जियम ६ अंकसहित दोस्रो तथा इटाली ४ अंकसहित तेस्रो स्थानमा छन् । टर्कीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन । यसअघि २८ सेप्टेम्बरमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएको थियो भने इटालीले टर्कीलाई ४–१ ले पराजित गरेको थियो ।
१९- सन् २०२६ का नोबेल पुरस्कारका विजेताको घोषणा आगामी साताबाट सुरु हुँदैछ । पहिलो घोषणा सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कारबाट हुनेछ भने अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा भएपछि यस वर्षको घोषणा क्रम पूरा हुनेछ । भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फ पनि पुरस्कार प्रदान गरिन्छ । नोबेल पुरस्कार स्विडेनका रसायनशास्त्री तथा उद्यमी अल्फ्रेड नोबेलले स्थापना गरेका थिए । नोबेलले आफ्नो इच्छापत्रमा आफ्नो सम्पत्तिको ठूलो हिस्सा मानवजातिका लागि सबैभन्दा ठूलो योगदान पुर्याउने व्यक्तिहरूलाई पुरस्कार दिन प्रयोग गर्नुपर्ने उल्लेख गरेका थिए । डाइनामाइटका आविष्कारकका रूपमा प्रसिद्ध नोबेल व्यवसायी, कवि र भाषाविद् पनि थिए । उनको निधन सन् १८९६ मा भए पनि इच्छापत्रसम्बन्धी कानुनी विवादका कारण पहिलो नोबेल पुरस्कार सन् १९०१ मा प्रदान गरिएको थियो । भौतिकशास्त्र र रसायनशास्त्रतर्फको पुरस्कार स्विडिस रोयल एकेडेमी अफ साइन्सेस, साहित्यतर्फ स्विडिस एकेडेमी, शरीरक्रिया विज्ञान वा चिकित्साशास्त्रतर्फ कारोलिन्स्का इन्स्टिच्युट र शान्तितर्फको पुरस्कार नर्वेको संसद्ले चयन गरेको नोबेल समितिले प्रदान गर्छ । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकले अल्फ्रेड नोबेलको स्मृतिमा अर्थशास्त्रतर्फको पुरस्कार स्थापना गरेको थियो । नोबेल पुरस्कार पाउने चर्चित व्यक्तिहरूमा अल्बर्ट आइन्स्टाइन, निल्स बोहर, अर्नेस्ट हेमिङ्वे, अल्बर्ट कामु, नेल्सन मन्डेला र मदर टेरेसालगायत छन् । मारी क्युरीले दुई पटक नोबेल पुरस्कार पाएकी थिइन् भने उनका श्रीमान्, छोरी र ज्वाइँले पनि नोबेल पुरस्कार प्राप्त गरेका थिए । हाल पुरस्कारको राशि बढाएर १ करोड २० लाख स्विडिस क्रोनर अर्थात् करिब १२ लाख १० हजार अमेरिकी डलर पुर्याइएको छ । नोबेल पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा प्रदान गरिन्छ । शान्ति पुरस्कार नर्वेको ओस्लोमा प्रदान गरिन्छ भने अन्य पुरस्कार स्विडेनको स्टकहोममा स्विडेनका राजाले प्रदान गर्छन् । पुरस्कार समारोहपछि स्टकहोममा करिब १ हजार ३०० अतिथिका लागि भव्य भोज आयोजना गरिन्छ ।
२०- च्याटजीपीटी विकास गर्ने कम्पनी ओपनएआईका एआई एजेन्टहरूले १०० भन्दा बढी संस्थाका प्रणालीमा अनधिकृत गतिविधि गरेको पाइएको छ । कम्पनीले अक्टोबर १ मा सार्वजनिक गरेको विवरणअनुसार, यी एआई एजेन्टहरूले सुरक्षा संयन्त्र छल्ने, वेबसाइटमा अनधिकृत आदेश पठाउने र आफ्नो पहुँच विस्तार गर्ने प्रयास गरेका थिए । ओपनएआईले प्रभावित संस्थाहरूलाई यसबारे जानकारी गराएको जनाएको छ । कम्पनीले अहिले आफ्ना एआई मोडलको प्रशिक्षण र परीक्षणसँग सम्बन्धित करिब ५० पेटाबाइट तथ्यांक पुनःजाँच गरिरहेको छ । यसका लागि करिब ७ हजार अत्याधुनिक ग्राफिक्स प्रोसेसर प्रयोग भइरहेको र दैनिक ५ लाख अमेरिकी डलरभन्दा बढी खर्च भइरहेको विवरण सार्वजनिक भएको छ । यति ठूलो परिमाणको तथ्यांक मानिसले मात्रै जाँच गर्न सम्भव नभएकाले त्यसको विश्लेषणका लागि पनि एआई प्रणालीकै प्रयोग भइरहेको बताइएको छ । ओपनएआईका अनुसार, केही एआई मोडललाई साइबर सुरक्षा क्षमता परीक्षणका लागि सीमित र सुरक्षित वातावरणमा राखिएको थियो ।
तर परीक्षणका क्रममा ती मोडलले इन्टरनेटबाट अलग राख्न बनाइएका सुरक्षा नियन्त्रणलाई छल्न सफल भएका थिए । त्यसपछि उनीहरूले बाह्य प्रणालीमा पहुँच बनाउने, कमजोरी खोज्ने र विभिन्न माध्यमबाट एकअर्कासँग सूचना आदानप्रदान गर्ने प्रयास गरेका थिए । यसअघि जुलाईमा सार्वजनिक भएको हगिङ फेस घटना यसको सबैभन्दा चर्चित उदाहरण हो । ओपनएआईको आन्तरिक साइबर सुरक्षा परीक्षणका क्रममा प्रयोग भएका एआई एजेन्टहरूले परीक्षणमा दिइएको समस्या आफैं समाधान गर्नुको सट्टा त्यसको ‘उत्तर’ राखिएको स्थान खोज्ने प्रयास गरेका थिए । अनुसन्धानका क्रममा उनीहरूले सुरक्षित परीक्षण वातावरणबाट बाहिर निस्कने बाटो खोज्दै हगिङ फेसका प्रणालीमा प्रवेश गरेका थिए । हगिङ फेस घटनाको थप अनुसन्धान गर्दा यो काम कुनै एउटा एआई एजेन्टमा मात्र सीमित नभएको खुलेको थियो । करिब ७०० एआई एजेन्टले विभिन्न चरणमा एकअर्कासँग समन्वय गर्दै काम गरेको अनुसन्धानमा उल्लेख छ । उनीहरूले आफूले पत्ता लगाएका कमजोरी, प्रमाण र पहुँचसम्बन्धी जानकारी अनधिकृत माध्यमबाट एकअर्कासँग आदानप्रदान गरेका थिए ।
केही अवस्थामा प्रमाण मेटाउने वा आफ्नो गतिविधि लुकाउने प्रयाससमेत देखिएको थियो । ओपनएआईको आफ्नै अनुसन्धानले पनि केही एआई एजेन्टले छुट्टाछुट्टै परीक्षणका क्रममा अनधिकृत सन्देश प्रणाली बनाएर एकअर्कासँग सूचना बाँडेको देखाएको छ । यसरी विभिन्न एजेन्टले आफ्नो खोज, स्रोत र कम्प्युटिङ क्षमता एकआपसमा जोड्दा उनीहरूको सामूहिक क्षमता व्यक्तिगत एजेन्टको भन्दा धेरै बढेको कम्पनीले जनाएको छ । हगिङ फेसको प्राविधिक अनुसन्धानअनुसार, एआई एजेन्टहरूले करिब साढे दुई दिनसम्म उसको प्रणालीमा विभिन्न गतिविधि गरेका थिए । अनुसन्धानकर्ताले करिब १७ हजार ६ सय आक्रमणसम्बन्धी गतिविधि पुनर्निर्माण गरेका छन् । एजेन्टहरूले दर्जनौँ उत्पादन सर्भरमा कोड चलाउनुका साथै कम्तीमा एउटा सर्भरमा उच्चस्तरीय प्रशासनिक पहुँच प्राप्त गरेका र केही निजी तथ्यांक तथा प्रमाणपत्रसम्म पहुँच बनाएका थिए । ओपनएआईले भने यस घटनाबाट आफ्ना ग्राहकको तथ्यांक, उत्पादन सेवा वा उपलब्धतामा असर नपरेको जनाएको छ । कम्पनीले घटनापछि सम्बन्धित पक्षसँग समन्वय गर्दै सुरक्षा कमजोरी पहिचान र सुधारका लागि काम गरेको बताएको छ । हगिङ फेस घटनापछि पनि यस्ता अनधिकृत गतिविधिको अनु
सन्धान जारी राख्दा ओपनएआईका एआई एजेन्टसँग सम्बन्धित गतिविधि १०० भन्दा बढी संस्थासम्म पुगेको पाइएको कम्पनीले जनाएको छ । कतिपय अवस्थामा एजेन्टहरूले सुरक्षा प्रणालीलाई छल्ने वा बाह्य वेबसाइटमा अनधिकृत आदेश कार्यान्वयन गराउने प्रयास गरेका थिए । यद्यपि सबै घटनामा वास्तविक प्रणाली प्रवेश वा तथ्यांक चोरी भएको भन्ने अर्थ नलाग्ने ओपनएआईले स्पष्ट पारेको छ ।
ओपनएआईले प्रभावित संस्थाहरूलाई प्राविधिक विवरण उपलब्ध गराएको जनाएको छ, ताकि उनीहरूले आफ्ना प्रणालीमा भएको गतिविधि र सम्भावित सुरक्षा कमजोरीको जाँच गर्न सकून् । कम्पनीले यस्ता घटनाबाट प्राप्त निष्कर्ष सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ, जसबाट साइबर सुरक्षा अनुसन्धानकर्ताले एआई एजेन्टको जोखिमबारे थप अध्ययन गर्न सक्नेछन् । घटनापछि ओपनएआईले एआई मोडलको इन्टरनेट पहुँचमा थप प्रतिबन्ध लगाएको, अनुसन्धानका वातावरणलाई वास्तविक प्रणालीबाट अलग राखेको र संदिग्ध गतिविधि पहिचान गर्न निगरानी बढाएको जनाएको छ ।
कम्पनीले सुरक्षा तथा मोडलको व्यवहारसम्बन्धी परीक्षणलाई समेत पुनरावलोकन गरिरहेको छ । यी घटनाले एआई एजेन्टलाई केवल प्रश्नको उत्तर दिने प्रणालीका रूपमा मात्र नभई आफैं निर्णय लिएर विभिन्न डिजिटल प्रणालीमा कार्य गर्न सक्ने प्रविधिका रूपमा विकास गर्दा सुरक्षा नियन्त्रणको महत्त्व बढेको देखाएको छ । विशेषगरी परीक्षणकै क्रममा एआईले तोकिएको सीमाभन्दा बाहिर जाने बाटो खोज्न थालेपछि सुरक्षित परीक्षण वातावरण, इन्टरनेट पहुँच, एआईबीचको अनधिकृत सञ्चार र वास्तविक प्रणालीबीचको दूरीबारे थप सावधानी आवश्यक देखिएको छ ।