काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई शनिबार साँझ कारागार कार्यालय सिन्धुपाल्चोक स्थानान्तरण गरिएको छ ।
कारागार व्यवस्थापन विभागले उनलाई काठमाडौँ उपत्यकाबाहिर पठाएको हो । विभागको पत्रपछि भट्टलाई शनिबार बेलुकी नै सिन्धुपाल्चोक पठाइएको नख्खु कारागार प्रशासनले जनाएको छ । सरुवा नियमित प्रक्रिया भएको र विभागबाट पत्र आएपछि उनलाई पठाइसकेको प्रशासनले जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बिचौलियामार्फत निरन्तर सम्पर्क र चलखेल गरेको पाइएको स्रोतको भनाइ छ। प्रधानमन्त्री कार्यालय निकट स्रोतले जबरा सत्तापलटको प्रयासमा सक्रिय बनेको दाबी गरिरहँदा त्यसमा भट्टको पनि साथ रहेको हुन सक्ने अनुमान गरिएको स्रोत बताउँछ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पूर्वप्रधानन्यायाधीश जबराले इनम सापकोटामार्फत थुनामा रहेका व्यवसायी भट्ट र सुलभ अग्रवालसँग निरन्तर सम्पर्क तथा संवाद गर्ने गरेको खुलेको छ ।
नेपाल प्रहरीको विशेष ब्युरोले गत बुधबार दिउँसो २ बजेतिर नयाँ दिल्ली हुँदै दुबई जान लागेका बूढानीलकण्ठका इनम सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय पानीपोखरीस्थित हाउजिङमा बस्दै आएका सापकोटाको मोबाइल चेकजाँच र बयानका क्रममा जबरा, भट्ट र अग्रवालबीच विभिन्न डिल र निरन्तर सम्पर्क भएको तथ्य बाहिरिएको स्रोतको दाबी छ । सोधपुछपछि प्रहरीले सापकोटालाई छाडेको थियो ।

यसअघि प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयमा १२ घण्टा राखेको थियो ।

प्रहरीले औपचारिक रूपमा जबरालाई ‘सुरक्षा चुनौती’का कारण नियन्त्रणमा लिइएको दाबी गरे पनि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका अधिकारीहरूका अनुसार उनी न्यायिक कामकारबाहीमा चलखेल र सरकारविरुद्धका गतिविधिमा सक्रिय रहेको आरोप थियो ।
जबराले भट्टका मुद्दासम्बन्धी प्रक्रियामा समेत सहजीकरण गर्न खोजेको र त्यसपछि उनीनिकट व्यक्तिहरूमाथि निगरानी बढाइएको स्रोतले दाबी छ ।
भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण गरी भ्रष्टाचार र बैंकिङ कसुर गरेको आरोपमा उच्च अदालत पाटन र विशेष अदालत काठमाडौंमा मुद्दा विचाराधीन छन् । अदालतको आदेशपछि उनी पुर्पक्षका लागि नख्खु कारागारमा बस्दै आएका थिए ।
कारागार व्यवस्थापन विभागका अनुसार सामान्यतया कैदीबन्दीको आफ्नै निवेदन वा घरपायक पर्ने आधारमा सरुवा हुने गरे पनि भट्टको हकमा भने माथिल्लो तहको सिधा निर्णयबाट सरुवा गरिएको हो । यसअघि पनि कारागारबाटै चलखेल गरेपछि प्रहरीको अनुरोधमा विभागले केहीलाई सरूवा गरेको नजिर रहेको स्रोत बताउँछ ।
भट्टले पनि नख्खु कारागारबाटै बाहिरी चलखेल जारी राखेको सूचना पाएपछि सम्पर्क र भेटघाट कठिन बनाउने उद्देश्यले उनलाई सिन्धुपाल्चोक पठाइएको स्रोतको भनाइ छ ।