काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अमेरिकाको विश्वव्यापी नेतृत्व कायम राख्ने उद्देश्यले नयाँ ‘सुपर इन्टेलिजेन्स फोर्स’ (एसआईएफ) गठन गरेका छन् ।
ह्वाइट हाउसअन्तर्गत गठन गरिएको यो कार्यदलले संघीय सरकारका कृत्रिम बुद्धिमत्तासम्बन्धी विभिन्न प्रयासबीच समन्वय गर्नेछ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नयाँ फोर्स गठनको घोषणा गरेका हुन्। उनले ‘सुपर इन्टेलिजेन्स’लाई औद्योगिक क्रान्ति र इन्टरनेटभन्दा पनि ठूलो परिवर्तन ल्याउन सक्ने प्रविधिका रूपमा प्रस्तुत गर्दै अमेरिकाले यस क्षेत्रमा विश्व नेतृत्व कायम राख्नुपर्ने बताएका छन् ।
नयाँ फोर्सको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नेछन् । उनको साथमा संघीय व्यापार आयोगका अध्यक्ष एन्ड्र्यु फर्ग्युसन, युद्ध विभागका अनुसन्धान तथा इन्जिनियरिङसम्बन्धी अवर सचिव एवं प्रमुख प्रविधि अधिकारी एमिल माइकल र कार्मिक व्यवस्थापन कार्यालयका निर्देशक स्कट कुपोर पनि रहनेछन् । ट्रम्पका अनुसार फोर्सले संघीय सरकारका विभिन्न निकायबीच कृत्रिम बुद्धिमत्तासम्बन्धी काममा समन्वय गर्नुका साथै अमेरिकी हितको संरक्षणमा पनि ध्यान दिनेछ । फोर्सले उपभोक्ता, जनहित समूह, धार्मिक संस्था, महत्वपूर्ण पूर्वाधार उपलब्ध गराउने निकाय तथा कृत्रिम बुद्धिमत्ता क्षेत्रमा काम गर्ने कम्पनीसँग सरकारको समन्वयलाई व्यवस्थित गर्नेछ ।
ट्रम्पले हालै विश्वका महत्वपूर्ण प्रविधि कम्पनीहरू एक ठाउँमा आएको ‘सुपर इन्टेलिजेन्स’सम्बन्धी सम्झौताको प्रसंग उल्लेख गर्दै अमेरिकी जनताप्रति प्रविधि कम्पनीहरूको जिम्मेवारी महत्वपूर्ण रहेको बताएका छन् । नयाँ फोर्सले राष्ट्रपति ट्रम्प र उनका प्रमुख स्टाफ सुसी वाइल्सलाई प्रतिवेदन दिनेछ । अमेरिकी सरकारले कृत्रिम बुद्धिमत्ताको विकासमा निजी प्रविधि कम्पनीसँग सहकार्य र संघीय निकायबीच समन्वय बढाइरहेका बेला नयाँ फोर्स गठन गरिएको हो । ट्रम्पले नयाँ पहललाई अमेरिकाको भविष्य र राष्ट्रिय हितसँग जोड्दै कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा अमेरिकी नेतृत्व कायम राख्नु यसको प्रमुख उद्देश्य भएको बताएका छन् ।
