काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका नयाँ सिक्का डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको छ ।
केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार एक सूचना जारी गर्दै पूर्व–योग्यता प्राप्त अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट शिलबन्दी बोलपत्र माग गरेको हो ।
यसअघि हिजो (आइतबार) मात्रै राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का टकमरी तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । बजारमा साना दरका खुद्रा मुद्रा तथा सिक्काको अभाव हुन नदिन र मौज्दात सन्तुलन कायम राख्न केन्द्रीय बैंकले लगातार दुई दिनमा कुल ७० करोड थान सिक्का छाप्ने प्रक्रिया अघि बढाएको हो ।
राष्ट्र बैंकद्वारा प्रकाशित सूचना अनुसार २ रुपैयाँ दरका ३० करोड थान सिक्का आपूर्ति प्रक्रिया ‘एकल चरण, दुई खाम’ विधिमार्फत अगाडि बढाइनेछ। यसअन्तर्गत इच्छुक कम्पनीहरूले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ ।
इच्छुक कम्पनीहरूले आगामी ३ नोभेम्बर २०२६ सम्म २०,००० रूपैयाँ (वा १३१ अमेरिकी डलर / ११५ युरो) गैर–फिर्तायोग्य दस्तुर तिरेर बोलपत्र कागजात खरिद गर्न सक्नेछन् ।
यससम्बन्धी ‘प्रि–बिड बैठक’ आगामी १६ अक्टोबर २०२६ मा मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आयोजना गरिनेछ । कम्पनीहरूले ४ नोभेम्बर २०२६ को दिउँसो १२:०० बजेसम्म बोलपत्र दर्ता गराइसक्नुपर्नेछ भने सोही दिन दिउँसो १:०० बजे खोलिने सूचनामा उल्लेख छ ।

बोलपत्रमा सहभागी हुन कम्पनीहरूले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर (वा सो बराबरको विदेशी मुद्रा/नेपाली रुपैयाँ) बिड सेक्युरिटी (जमानत रकम) राख्नुपर्नेछ । बोलपत्रको मान्यता अवधि खोलिएको मितिबाट १२० दिनको हुनेछ भने जमानत रकम ३ अप्रिल २०२७ सम्म मान्य हुनुपर्ने प्रावधान राखिएको छ ।
