काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले आयोजना गरेको दुई दिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ तथा ७’ सम्पन्न भएको छ ।
कमलपोखरीस्थित सिटी सेन्टरमा शनिबार र आइतबार आयोजित एक्स्पोमा उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको हो ।
एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ गरी दुई विधामा प्रदर्शनी तथा प्रतिस्पर्धा आयोजना गरिएको थियो । कार्यक्रममा आईआईएफटीका इन्टेरियर डिजाइनका १०१ जना विद्यार्थीले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । ‘थेसिस डिजाइन’तर्फ ४२ वटा तथा ‘क्याफे डिजाइन’तर्फ ७८ वटा डिजाइन प्रदर्शनीमा राखिएका थिए ।
सिटी सेन्टरको भुइँतलादेखि तेस्रो तलासम्म आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका विभिन्न सिर्जनात्मक अवधारणा, व्यावहारिक डिजाइन तथा इन्टेरियर डिजाइनका नमुना प्रस्तुत गरेका थिए ।
‘स्पेस एन्ड डिजाइन एक्स्पो भोल्युम ६’ अन्तर्गत क्याफे डिजाइनतर्फ रुची बानियाँ विजेता, ग्रिष्मा बोगटी प्रथम रनर्सअप तथा स्मृति श्रेष्ठ दोस्रो रनर्सअप बने । उक्त विधाको निर्णायकमा रामगोपाल तन्डुकार र मुकेश महर्जन रहेका थिए ।

सोही भोल्युमअन्तर्गत थेसिस डिजाइनतर्फ दिपेश माली विजेता, समिना महर्जन प्रथम रनर्सअप तथा अनिशा खड्गी दोस्रो रनर्सअप घोषित भए । थेसिसतर्फ रञ्जन प्रजापति र रविन शिल्पकार निर्णायक थिए ।

त्यस्तै, ‘स्पेस एन्ड डिजाइन एक्स्पो भोल्युम ७’ अन्तर्गत क्याफे डिजाइनतर्फ विवेक श्रेष्ठ विजेता, समृद्धि श्रेष्ठ प्रथम रनर्सअप तथा शोभा अधिकारी दोस्रो रनर्सअप बने । थेसिस डिजाइनतर्फ एञ्जल सिंह महर्जन विजेता, ग्रिष्मा बोगटी प्रथम रनर्सअप र सुसेना लिम्बू दोस्रो रनर्सअप भए ।

क्याफे डिजाइनतर्फको पब्लिक च्वाइस अवार्ड निकल भैला श्रेष्ठले तथा थेसिस डिजाइनतर्फको पब्लिक च्वाइस अवार्ड अनिशा थापाले प्राप्त गरे ।
प्रतिस्पर्धामा क्याफे डिजाइनतर्फ विजेताले १२ हजार, प्रथम रनर्सअपले १० हजार र दोस्रो रनर्सअपले ८ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । त्यस्तै, थेसिस डिजाइनतर्फ विजेताले १५ हजार, प्रथम रनर्सअपले १२ हजार र दोस्रो रनर्सअपले १० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि माल्टाका लागि नेपाली कन्सुलर दिनेश श्रेष्ठ तथा आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पालगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा कन्सुलर श्रेष्ठले विजेतालाई बधाई दिँदै यस्ता प्रयोगात्मक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीलाई सम्बन्धित क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले नेपालमा दक्ष फेसन तथा इन्टेरियर डिजाइनरको आवश्यकता पूरा गर्ने उद्देश्यले सञ्चालन गरिएको शिक्षाले विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अघि बढ्न सहयोग गरिरहेको बताए ।
उनका अनुसार एक्स्पो विद्यार्थीका शैक्षिक उपलब्धि प्रदर्शन गर्ने अवसर मात्र नभई इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट तथा उद्यमशीलतासँग सम्बन्धित व्यवसायी र पेशेवरका लागि नयाँ प्रतिभा तथा सिर्जना अवलोकन गर्ने महत्वपूर्ण मञ्चसमेत बनेको छ ।
एक्स्पोको समापन समारोहमा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनबाट उत्तीर्ण भएका विद्यार्थीका लागि दीक्षान्त समारोहसमेत आयोजना गरिएको थियो ।