काठमाडौँ, भदौ २८ – श्रीमती लिन ससुराली पुगेका व्यक्तिको कुटपिट गरी हत्या गरेको अभियोगमा बाँके प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मृतक युवकका ससुरासहित ५ जना छन् । प्रहरीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ घर भएका २३ वर्षीय शत्रुहन रैदास श्रीमती लिन नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित ससुराली गएका थिए ।
तर, उनका ससुरा नरेश चमारले अन्य ५ जना समेतको सहयोगमा रैदासको हत्या गरेका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएका थिए ।
ससुराको कुटपिट र कन्डाई वृक्ष नामक फलको रस पिएपछि गम्भीर बिरामी भएका रैदासलाई उपचारका लागि नर्सिंङहोम नेपालगंजमा भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले रैदासको हत्या अभियोगमा उनका ससुरा नरेशसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS