काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै ठाँउ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग ,हावाहुरी र असिना सहित मध्यमवर्षाको सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, राति कोशी प्रदेश सबै भू-भाग तथा देशको हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्ने छ। देशको तराई भु-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा बिहानीपख हुस्सु/कुहिरो पनि समभावना छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भु-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ । देशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।