काठमाडौं । बूढानीलकण्ठबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
प्रहरीको सार्वजनिक विवरणअनुसार बरामद सुनको मूल्य असोज २२ गतेको बजार भाउका आधारमा ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा कायम गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सुन कारोबार, ओसारपसार तथा प्रशोधन भइरहेको सूचनाका आधारमा बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित एक घरमा छापा मारेको हो। प्रहरीले उक्त कारबाहीलाई ‘अपरेसन ब्राभो गोल्फ’ नाम दिएको जनाएको छ।
पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन्। उनीहरू चीनका विभिन्न प्रान्तका बासिन्दा रहेको र हाल बूढानीलकण्ठ क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले घर भाडामा लिएर सुन प्रशोधन गर्ने काम गर्दै आएका थिए। छापा मार्दा सुन गाल्न तथा प्रशोधन गर्न प्रयोग हुने मेसिन र उपकरणसमेत बरामद गरिएको छ।

बरामद सुनमध्ये १० किलोभन्दा बढी तयारी र १० किलोभन्दा बढी अर्धतयारी अवस्थामा रहेको प्रहरीको भनाइ छ। अर्धतयारी सुन प्लास्टिकमा राखिएको थियो। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गराउँदा बरामद धातु सुन भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

सुनसँगै त्यसको ओसारपसारमा प्रयोग भएको भनिएको गाडी, नगद र विभिन्न कागजात पनि नियन्त्रणमा लिइएको छ। उपलब्ध विवरणमा नगदको परिमाण र गाडीको पहिचान भने खुलाइएको छैन।

पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद सुन कहाँबाट आएको हो, कारोबार कसरी सञ्चालन भइरहेको थियो र अन्य व्यक्ति वा समूहको संलग्नता छ वा छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।