काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ ।
सीजेपीले शनिबार एक वक्तव्य जारी गर्दै दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको हो ।
सीजेपीका अनुसार तीनै जना नेता मुम्बईबाट दिल्ली आएका थिए । त्यसै क्रममा अभिजीत दीपके सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आएका थिए ।
आफ्नो पार्टीका नेता पक्राउ परेपछि सीजेपीले दिल्ली प्रहरीको कदमलाई ‘तानाशाहीपूर्ण’ भन्दै तीनै जना नेताको तत्काल बिनासर्त रिहाइको माग गरेको छ ।
पार्टीले यो कारबाहीले मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको खुला उल्लंघन गरेको बताएको छ ।

यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको छ ।
