काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धनको मूल्य घटाउने प्रयासस्वरूप रुसबाट डिजेल आयात गर्ने सम्झौता भएको घोषणा गरेका छन्।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने र त्यसपछि थप परिमाणमा आपूर्ति गर्ने सहमति गरेको बताएका छन्।
सम्झौताअनुसार नोभेम्बरमा पाँच लाख टन र त्यसपछि थप १० लाख टन डिजेल उपलब्ध गराउने ट्रम्पको भनाइ छ। अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल आयातमा आगामी अप्रिल ७ सम्मका लागि प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने अनुमति दिएको बताइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने उक्त निर्णयको आलोचना गर्दै यसले पुटिनलाई उपहार दिएको र युद्ध लम्ब्याउन सहयोग पुग्ने बताएका छन्। उनले रुसले डिजेलको बदलामा थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।
इरानसँगको युद्धका कारण अमेरिकामा इन्धनको मूल्य बढिरहेको बेला ट्रम्पले यो कदम चालेका हुन्। यद्यपि, रुसले घोषणा गरिएको परिमाणमा डिजेल उपलब्ध गराउन सक्छ कि सक्दैन र यसले अमेरिकी बजारमा इन्धनको मूल्य कति घटाउँछ भन्ने विषयमा विश्लेषकहरूले प्रश्न उठाएका छन्।

रुसले भने अमेरिकी तथा विश्व बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको जनाएको छ। तर सम्झौताअन्तर्गत अमेरिकाले रुसलाई के दिनेछ भन्ने विषय अझै स्पष्ट भएको छैन।
