काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शनका क्रममा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी तथा तृणमूल कांग्रेसका अन्य सांसदहरूलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध ककरोच जनता पार्टी (सिजेपी) ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रहरीले केजरीवाल र बनर्जीसहितका नेताहरूलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
शनिबार जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा भएपछि दिल्लीका विभिन्न क्षेत्रमा प्रहरी जाँच बढाइएको छ। राजधानीका सीमावर्ती क्षेत्रमा सवारी साधन तथा शङ्कास्पद व्यक्तिको जाँच भइरहेको छ। प्रदर्शन सुरु हुनुअघि जन्तरमन्तर र कनट प्लेस लगायतका क्षेत्रमा केही प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदर्शनका कारण नयाँ दिल्लीको कनट प्लेस क्षेत्रमा पसलहरू बन्द रहेका छन्। सडकमा अवरोध र मार्ग परिवर्तन गरिएकाले सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ। दिल्ली विमानस्थलमा सिजेपीका संस्थापक अभिजित दीपकेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका ४५ वटा मेट्रो स्टेशन बन्द गरिएको र केही क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध गरिएको समाचारमा जनाइएको छ। भारतीय कांग्रेसका सांसद शशि थरुरले प्रदर्शनमाथि लगाइएका प्रतिबन्धको आलोचना गरेका छन्। निर्वाचनको निष्पक्षतामाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा सरकारले राजधानीलाई किल्लाजस्तो बनाएको उनको आरोप छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थरुरले निर्वाचनको निष्पक्षतामा विश्वास गर्ने सरकारले प्रश्नहरूको स्वागत गर्नुपर्ने बताएका छन्। उनले सरकारबाट जवाफ आउनुपर्नेमा लाठीचार्ज र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइनु उचित नभएको टिप्पणी गरेका छन्।

ब्यारेकेड लगाउँदैमा निर्वाचन आयोगप्रतिको जनविश्वास पुनः स्थापित नहुने उल्लेख गर्दै उनले जनताका प्रश्नको छिटो जवाफ दिन सके शान्ति कायम गर्न सहज हुने बताएका छन्।
